उखुबारीमा व्यस्त महिला मजदुरको पाठेघरमा चिनी मालिकको गिद्दे नजर

उखुबारीमा व्यस्त महिला मजदुरको पाठेघरमा चिनी मालिकको गिद्दे नजर

अर्चना अशोक चौरेले आफ्नो जिन्दगी ‘उखु र चिनी’ लाई नै सुम्पिइन् । उखुबारीमा काम गर्ने भारतको पश्चिम भेगका एकजना मजदुरसँग १४ वर्षको उमेरमै विवाह गरिन् । 

‘कलिलै उमेरमा हो नि,’ उनले भनिन्, ‘त्यतिखेर मलाई विवाहबारे पत्तो नै थिएन ।’ वैवाहिक बन्धनमा बाँधिएपछि पतिसँगै उखु काट्थिन् उनी । उखु ओसार्दै कमाएको पैसा साथीसंगीलाई सापटी दिन्थिन् ।

उखुबारीका हजारौँ महिलाले दशकौँदेखि बारी र मिलमा नरकीय जीवन बाँचिरहेका थिए । उनीहरू विभिन्न रोगबाट असाध्यै ग्रसित थिए । ‘पीडादायी र असहज’ महिनावारीबाट थलिएका थिए ।

गत हिउँदमा अर्चनाको ‘कम्मरमुनीको शरीर’ले नाटकीय मोड लियो । उनले पनि उखुबारी र चिनी मिलका ‘बँधुवा’ महिला मजदुरले भोग्दैआएको पीडा खप्नुपर्यो । थकाइ र दुःखाइले सीमा नाघेपछि अस्पताल भर्ना भइन् । शल्यक्रिया गरेर पाठेघर फ्याँकिन् । त्यसपछि पनि उखुबारीमै फर्किन् ।

कोक र पेप्सीजस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई ठूलो मात्रामा चिनी चाहिन्छ । चिनी उत्पादनका लागि ‘रोग, भोक र प्यास’ नभनी मराठी महिलाहरू बारी र मिलमा खटिन्छन् । तर, त्यो चिनीभित्र ‘हिंसा र दुर्व्यवहार’को तीतो स्वाद लुकेको छ ।

चिनी उत्पादनमा महाराष्ट्रलाई पेय–पदार्थ कम्पनीहरूले ‘पावरहावस’ का रुपमा हौस्याइरहेका छन् । तर, द न्यूयोर्क टाइम्स र फूलर प्रोजेक्टले उखुबारी र मिलभित्र डरलाग्दो तथ्य फेला पारेको छ । यी ब्रान्डहरूले मजदुरको रगत र पसिनामाथि कुठाराघात गर्दै करोडौँ रकम उठाइरहँदा ‘काम गरिखाने जमात भने जिउँदै मरिरहेको छ ।’

बालबालिकाहरू श्रम शोषणको अत्यासलाग्दो खोपिभित्र हराइरहेका छन् । र, महिलाहरूलाई उखुबारीमा ‘बँधुवा मजदुर’का रुपमा प्रयोग गरिएको छ ।

श्रम दलालहरूले कलिला किशोरीहरूलाई पतिसँगै उखु काट्ने र बटुल्ने काममा खटाउन बालविवाहतिर धेकेल्ने गरेका छन् । उनीहरू मासिक पारिश्रमिकको सट्टा आ–आफ्ना मालिकहरूबाट अग्रिम भुक्तानी लिन्छन् । ताकी छुट्टी बस्दासमेत ‘दलाललाई उल्टै पैसा फिर्ता गर्न सकियोस् ।’

उखुबारीको काम सामान्य मानिएता पनि आर्थिक मन्दीले महिलाहरूलाई पाठेघरको शल्यक्रिया गर्न बाध्य तुल्याएको छ । दलालहरूले शल्यक्रियाको निम्ति पीडित महिलालाई ऋणको पासोमा पार्ने गरेका छन् ।

उखुबारीका महिलाहरू दिन–प्रतिदिन थपिने कष्ट र पीडादायी महिनावारी सल्ट्याउन प्रयासरत छन् । तीमध्ये अधिकांश महिलासँग ऋण बाहेक अर्को कुनै विकल्प नभएको मानवअधिकारीवादीहरू बताउँछन् । अशिक्षित भएकै कारण उनीहरू साहुबाट लगेको ऋणका कारण उखुबारीमा पेलिएका छन् ।

शल्यक्रियाबाट पाठेघर हटाएका महिलाहरू फेरि क्षणभरमै काममा खटिन्छन् ।   ताकी महिनावारी भएको बेला ‘छुट्टी बस्न नपरोस्, अप्ठ्यारो परेको बेला चिकित्सककहाँ जान नपरोस्, शरीरबाट पानी बग्दा आराम गर्न नपरोस् र छिनछिनमा शौचालय धाउन पनि नपरोस् ।’

तर, ४० वर्षमुनिका कुनै पनि महिलाले शल्यक्रिया गर्दा दीर्घकालीन रोगको सामाना गर्नुपर्छ । उखुबारीमा काम गर्ने धेरैजसो महिला डरलाग्दो स्वास्थ समस्याबाट घेरिएका छन् । भविष्य सहज बनाउने नाममा दलालबाट अग्रिम ऋण लिँदा उनीहरू उल्टै ऋणको जालोमा फस्दै गएका छन् ।

श्रमिक अधिकार समूह र संयुक्त राष्ट्रसंघको श्रम एजेन्सीले उखुबारी र उखु मिलमा काम गर्ने महिलालाई जबरजस्ती काममा दलाएको उल्लेख छ । ‘अप्रेशन पछि म हतार–हतार काममा गएँ,’ अर्चनाले भनिन्, ‘पैसाको सामुन्ने मैले स्वास्थ्यलाई खासै महत्व दिइनँ ।’

मजदुरको कथाव्यथा उखु बेच्ने र किन्नेलाई थाहा नभएको होइन । तर दलालहरूले मजदुरमाथि बर्सारहेको हिंसाको अघिल्तिरि आखाँ चिम्लिरहेका छन् ।

सन् २०१९ मा कोकाकोला कम्पनीका सल्लाहकारले पश्चिम भारतको उखुबारी र चिनी मिलको भ्रमण गरेका थिए । त्यहाँ पुग्दा अधिकारीहरूले बालबालिकालाई उखु काट्ने काममा लगाएको र मजदुरलाई समयमै पैसा नदिएको रिपोर्ट सार्वजनिक गरे । रिपोर्टमा १० वर्षमुनिका बालबालिकासँग अन्तर्वार्तासमेत लिइएको उल्लेख छ ।

सन् २०२४ मा प्रकाशित एक कर्पोरेट रिपोर्टअनुसार कम्पनीले भारतमा बिस्तारै बालश्रम घटाउने कार्यलाई प्राथामिकता दिनुपर्ने बताएको छ । महाराष्ट्रमा श्रम शोषण अत्यधिक छ । ‘पेप्सीकोला’ ले सबैभन्दा धेरै चिनी यहिँबाटै किन्छ । अर्कोतिर कोकाकोलाले महाराष्ट्रमा नयाँ कम्पनी खोल्दैछ । यसले पनि आधिकारिक रुपमा यहाँकै चिनी प्रयोग गर्ने निधो गरेको छ ।

चरम गरीबीले थिचिएको ग्रामीण भेगमै पर्छ– बिड जिल्ला । जहाँका अधिकांश मानिस उखु काट्ने काममा छन् । स्थानीय सरकारले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार बिडका ८२ हजार महिला उखुबारी र मिलमा काम गर्छन् । र, तीमध्ये एकतिहाइले शल्यक्रिया गरेर पाठेघर फ्याँकेका छन् ।

स्थानीय निकायको निगरानी, पत्रकारको रिपोर्टिङ र कम्पनीले बारम्बार चेतावनी दिँदा पनि मजदुरमाथि दुर्व्यवहार भइहेको छ । ‘शल्यक्रियापछि धेरै काम गर्न सक्छौँ भन्ने महिलाहरूको सोच छ,’ जिल्ला न्यायाधीश दीपा मुंडोल मुन्डेले भनिन् ।

दलालहरू अनुहारअघि महिलाबारे उदार देखिन्छन् । उनीहरू बच्चा नजन्माउन दबाब दिँदैनन् । तर बच्चा नजन्मिदिए हुन्थ्यो भन्ठान्छन् । त्यसो त युवतीहरूले कारखानाभित्र बच्चा जन्माउँदा मालिकहरूको काम रोकिन्छ । उनीहरूको काम रोकिन्छ । त्यसकारण पनि पाठेघरको शल्यक्रिया गर्न तम्सिएका महिलाहरूलाई ऋण दिन दिन्छन् दलाल ।

‘म अस्पतालबाट फर्केपछि अहिलेसम्म डाक्टरकहाँ गएकी छैन,’ उखुबारीमा काम गरिरहेकी ३० वर्षीया सविता दयानन्द लाङदागेले भनिन् । उनले गत वर्षमात्रै पाठेघरको सर्जरी गरेकी थिइन् । 

भारत विश्वको दोस्रो ठूलो चिनी उत्पादन गर्ने देश हो । महाराष्ट्र राज्यले उत्पादनको लगभग एक तिहाइ हिस्सा ओगटेको छ । पश्चिमा मुलुकका मुख्य कम्पनीलाई निर्यातसहित राज्यले दर्जनौँ देशका नागरिकको मुख मिठ्याइरहेको छ ।

अर्चना सानो कदकी झण्डै ५ फिट अग्ली छिन् । सुन आकारको डल्लो तर फूलजस्तै घुमेको नाक । जसले गर्दा उनको अनुहार चम्किलो देखिन्छ । जब उनी भावुक हुन्छिन् एकसुरमा बोलिरहन्छिन् ।

आफ्नो जीवन चिनीमै सम्मर्पित गरेको बताउँछिन् ३० वर्षीया अर्चना । ‘मानिसलाई हामीबाट फाइदा लिन सजिलो छ,’ उनले भनिन्, ‘किनकी हामी अशिक्षित छौँ ।’

कलिलैमा उखु काट्न खटिएकी उनी बाँकी जीवन पनि उखुबारीमै बिताउने प्रतिज्ञा गर्छिन् । अभावले गिजोल्लिएको छ, अर्चनाको परिवार । कठोर गरीबीका बाबजुद् पनि उनले तीन सन्तान जन्माइन् । अर्चनालाई राम्रोसँग थाहा छ, उनका लागि उखु सबथोक हो । उखुबाहेक केही छैन । तर, उनले आफ्ना सन्तानलाई उखुबारीमा नखेदाउने कसम खाएकी छन् ।

(न्यूयोर्क टाइम्स र फूलर प्रोजेक्टमा प्रकाशित सामग्रीको संगीता शर्माले भावानुवाद गरेकी हुन् ।)

टिप्पणीहरू