भुसको आगो बन्दै क्रिप्टो करेन्सी कारोबार, खर्बौंको लेनदेन

भुसको आगो बन्दै क्रिप्टो करेन्सी कारोबार, खर्बौंको लेनदेन

क्रिप्टो करेन्सी कारोबारीको आरोपमा वैशाख ५ गते बाँकेमा दुई जना पक्राउ परे । नेपालगञ्ज उपमहानगरपालिका–२०, का अमृतकुमार बर्मा र जानकी गाउँपालिका–१, का रियाज खाँलाई प्रहरीले उक्त अभियोगमा नियन्त्रणमा लिएको हो ।

उनीहरुले नेपालगञ्ज उपमहानगर–१८, भाटभटेनीनजिक क्रिप्टो करेन्सी कारोबार गरेको पाइएको थियो । प्रहरीका अनुसार दुवैले दैनिक एक करोडसम्म कारोबार गरेको खुलेको छ । यद्यपि, यस सम्बन्धमा अनुसन्धान जारी छ । 

काठमाडौंको टोखा नगरपालिका–८, सुन्दरबस्तीमा बस्दै आएका स्याङ्जाका ५४ वर्षीय शनि भण्डारी पनि गत चैत २२ गते सोही अभियोगमा पक्राउ परेका थिए । क्रिप्टो करेन्सीको कारोबार गरेको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । 

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भक्तपुरको दुवाकोट बस्दै आएका सिन्धुपाल्चोकका ३० वर्षीय चन्द्रमणि अधिकारी गत माघ १८ गते समातिए । उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले न्युरोडस्थित गुच्चाटोलबाट नियन्त्रणमा लिएको थियो । 

उनको मोबाइलबाट प्रहरीले एक करोड ४८ लाख ४४ हजार ४६३ रुपैयाँ कारोबार भएको विवरण प्राप्त गरेको थियो । इलामका ३२ वर्षीय डम्बरबहादुर शाह पनि गत माघ १६ गते क्रिप्टो कारोबारको आरोपमा पक्राउ परे ।  

ताप्लेजुङबाट फर्किंदै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई इलाममा नियन्त्रणमा लिएको थियो । उनले विगत दुई वर्षमा एक अर्ब ४९ करोडको कारोबार गरेको प्रहरीको आरोप छ । 

क्रिप्टोमार्फत् झण्डै तीन खर्बको कारोबार 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत मंसिर ६ गते काठमाडौंको बागबजार बस्ने ४८ वर्षीय रुपेश श्रेष्ठलाई पक्राउ गर्यो । उनले नेपालमा बसेर अवैध कारोबार गरेको र अस्वाभाविक बैंकिङ्ग कारोबारमा संलग्न भएको सूचना प्रहरीलाई प्राप्त भएपछि उनी बागबजारस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले कारोबार खाता, कम्प्युटर, ल्यापटप, मोबाइल, नोट काउन्टिङ मेसिन, ८९ लाख नेपाली रुपैयाँ र सात हजार २६ अमेरिकी डलर बरामद गरेको थियो । 

उनले सीआईबीलाई आफूसँग भएको रकम र अन्य कारोबारको स्पष्ट स्रोत देखाउन सकेनन् । त्यसपछि उनीसँगै थापाथली बस्ने आशिष अग्रवाल र मकवानपुरका कुमार परियारलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धानलाई अघि बढायो । 

सीआईबीको अनुसन्धानबाट रुपेशसहित १७ जनाको मिलेमतोमा पछिल्लो एघार महिनामा क्रिप्टो करेन्सीमार्फत दुई खर्ब ८६ अर्ब ४ करोड ५५ लाख ८ हजार ७५४ रुपैयाँको अवैध कारोबार भएको देखिन आएको हो ।
 
अमेरिकी ग्रीनकार्ड होल्डर रुपेश एक्लैले एक खर्ब ८६ अर्ब ३७ करोड ४८ लाख ५४ हजार ७८७ रुपैयाँको कारोबार गरेको भेटिएको थियो । उनलाई कारोबारमा भाइ दिपेश श्रेष्ठ, भाञ्जाहरु अन्सुल श्रेष्ठ र आयुष श्रेष्ठ, सुन व्यापारी विमल पोदारलगायतले सहयोग गरेको सीआईबीको निष्कर्ष छ । 

सीआईबीको अनुसन्धान प्रतिवेदनपछि गत माघ ८ गते जिल्ला सरकारी वकिल कार्यालयले रुपेशसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको छ तर, १२ जना प्रतिवादी फरार छन् । 

माघ १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको एकल इजलासले झापाका झनिन्द्रप्रसाद खतिवडाबाहेक प्रतिवादीहरु रुपेश श्रेष्ठ, आशिष अग्रवाल, सामाखुसीका मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउन आदेश दिएको थियो ।

कारोबार बढ्दो, तथ्याङ्क न्यून

पछिल्लो समय नेपालमा क्रिप्टो करेन्सी कारोबार बढ्दो क्रममा छ । कारोबारमा संलग्नहरु पक्राउ पर्नुले पनि मुलुकभित्र यसको जालो फैलिँदै गएको पुष्टि हुन्छ । तर, प्रहरीको तथ्याङ्क हेर्दा क्रिप्टो करेन्सी कारोबारमा संलग्न निकै कम व्यक्ति पक्राउ परेको र हालसम्मको कारोबार रकम पनि थोरै रहेको बताइन्छ । 

पछिल्लो चार वर्षको (२०७७÷०७८ देखि २०८०÷०८१ को चैत मसान्तसम्म) अवधिमा यस्तो कारोबारमा संलग्न रहेको आरोपमा एक विदेशीसहित ११ जना पक्राउ परेका छन् । ती सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । 

यस्तै, कारोबार रकम भने ३६ करोड ५८ लाख ४६ हजार २४१ रुपैयाँ भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेपनि कतिपयको भने कारोबार रकम नखुलेको प्रहरीले जनाएको छ । 

के हो ‘क्रिप्टो करेन्सी’ ?

‘क्रिप्टो करेन्सी’ निजी क्षेत्रबाट जारी मुद्राको रुपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । यसलाई भर्चुअल मुद्रा पनि भनिन्छ । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । सिक्का र नोटको जस्तो यसको भौतिक अस्तित्व हुँदैन । 

नेपालमा क्रिप्टो करेन्सीले हालसम्म कानूनी मान्यता पाएको छैन । तर, अमेरिका, क्यानडा तथा युरोपजस्ता देशमा यस्तो मुद्रालाई कानूनी मान्यता दिइएको छ । र, त्यहाँ यसको प्रयोग बढ्दो छ । केही वर्षयता नेपालमा पनि क्रिप्टो करेन्सीको नेटवर्किङ व्यवसायमा लगानी गर्नेहरु बढिरहेका छन् ।
वैदेशिक रोजगारीमा गएका नेपालीले समेत विप्रेषणबापतको रकम यस्ता कारोबारमा लगानी गर्न थालेको पाइएको छ । नेपालमै रहेकाले विभिन्न माध्यमबाट लगानी गरिरहेको बताइन्छ । क्रिप्टो करेन्सी कारोबार अवैधानिक रहेकाले कारोबार नगर्न सरोकारवाला निकायले बारम्बार सचेत गराएका छन् । तर, यस्तो कारोबार घट्नुको सट्टा थप बढ्दै गएको पाइएको छ ।

अवैध कारोबारमा लगानी नगर्न सरकारी निकायको आग्रह

नेपालमा क्रिप्टो करेन्सीले कानूनी मान्यता नपाएकाले यसमा लगानी नगर्न सरकारी निकायले आग्रह गर्दै आइरहेको छ । यस्तो गैरकानूनी वित्तिय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भनिएको छ । 

नेपाल राष्ट्र बैंकले भन्दै आएको छ, ‘क्रिप्टो करेन्सी खरिदबिक्री गर्ने, बेटिङसम्बन्धी कारोबार गर्ने र यस्ता गैरकानूनी कारोबारमा समस्या भए मद्त गर्छु भनी ठगी गर्ने, डर त्रास देखाई रकम असुली गर्ने, विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्नेजस्ता घटना हुने गरेको पाइएकोले वित्तिय ठगीको जोखिमप्रति सजग रहौं ।’ 

नेपाल प्रहरीको साइबर ब्युरोले पनि यस्ता गैरकानूनी कार्यमा संलग्न नहुन अनुरोध गर्दै आएको छ । विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरु केही रकम जोगिने प्रलोभनमा अवैध तवरले रकम पठाउने व्यक्तिसँग सम्पर्क गर्न पुग्ने गरेको ब्युरोको भनाइ छ । यस्तो प्रलोभनमा परेकाहरु ठगिने क्रम बढेकाले आधिकारिक माध्यमबाट मात्र रकम पठाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । 

नेपालमा ‘क्रिप्टो करेन्सी’ गैरकानुनी किन ? 

नेपालमा क्रिप्टो करेन्सीले कानूनी मान्यता पाउनुपर्ने बहस बेलाबेलामा चल्दै आएको छ । तर, हालसम्म राष्ट्र बैंकले क्रिप्टो करेन्सीलगायत डिजिटल मुद्रालाई कानूनी मान्यता दिएको छैन । बैंकका सूचना अधिकारी डा.डिल्लीराम पोखरेल यस्ता अवैध कारोबारमा लगानी गर्दा सर्वसाधारण ठगिने वा डुब्ने जोखिम रहेकाले यसलाई वैधानिकता नदिइएको बताउँछन् । 

उनले भने, ‘कतिपय मुलुकमा क्रिप्टो करेन्सीलाई कानूनी मान्यता दिइएको छ । त्यहाँ व्यक्ति–व्यक्ति बीचको कारोबारमा हुने भुक्तानीमा यसको प्रयोग बढ्दो छ । शुरुमा यसको उद्देश्य व्यक्ति–व्यक्ति बीचको कारोबार सेटलमेन्ट गर्नु मात्र थियो । तर, केही वर्षयता यसलाई धन सम्पत्तिको रुपमा विकास गर्ने, धेरै प्रतिफल कमाइने प्रलोभनमा लगानीका लागि प्रोत्साहित गर्ने प्रवृत्ति बढ्दै गएको छ ।’

‘त्यसैले, क्रिप्टो करेन्सीलाई कानूनी मान्यता नदिइएको हो । नेपालमा यो प्रतिबन्धित छ । तर, पछिल्लो समय ठूलो प्रतिफल पाइने लोभमा यस्ता अवैध डिजिटल मुद्रामा लगानी गर्ने क्रम बढिरहेको छ । यसले सर्वसाधारणको ठूलो लगानी डुब्ने अवस्था देखिएको छ,’ उनले थपे ।  

के छ कानूनी व्यवस्था ?

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले क्रिप्टो करेन्सीलगायत विदेशी विनियम कारोबारमा रोक लगाएको छ । ऐनको दफा ९५ मा राष्ट्र बैंकको नियम विपरीत वित्तिय उपकरण जारी गर्न नपाइने, विदेशी विनियम कारोबारमा संलग्न हुन नपाइने उल्लेख छ । 

त्यस्तो कार्य गर्ने व्यक्तिलाई कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना अथवा सात वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

यस्तै, बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को देहाय (घ) मा ‘इजाजतबिना विदेशी विनियमसम्बन्धी कारोबार’ गर्न प्रतिबन्ध लगाइएको छ ।

सोही ऐनको दफा (१) को देहाय (ग) मा इजाजतबिना विदेशी विनियमसम्बन्धी कारोबार गर्नेलाई बिगो भए सो जफत गरी बिगो बराबरको जरिवाना र एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

टिप्पणीहरू