दिनानुदिन प्रगति छ दुर्गमतिर

दिनानुदिन प्रगति छ दुर्गमतिर

मुलुककै विकट प्रदेशका रूपमा परिचित कर्णाली प्रदेशले स्वास्थ्य क्षेत्रको सुधारमा फड्को मार्दै गएको छ । पश्चिम नेपालकै उत्कृष्ट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीयको मन जितिरहेको छ । अन्य अस्पताल पनि सुधारको क्रममा छन् । 

स्थानीय पालिकामा सञ्चालित सामुदायिक अस्पतालहरूले सेवा विस्तार गर्दै लगेका छन् । त्यसको एउटा गतिलो उदाहरण ‘रासकोट सामुदायिक अस्पताल’ पनि हो । प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा दुर्गममा गनिने कालिकोटस्थित रास्कोट नगरपालिकाले सञ्चालन गरिरहेको अस्पताल सुधारोन्मुख छ । अस्पतालको स्थापनापश्चात् त्यहाँका स्थानीयले उपचार सेवा लिन जिल्ला अस्पताल वा सुर्खेत धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । विकासमा निकै पछाडि कालिकोटमा कुनै समय सिटामोलसमेत पाइँदैनथ्यो । जिल्ला अस्पतालमै दक्ष जनशक्ति र औषधीको अभाव हुँदा कालिकोटबासी उपचारका लागि भारत या सुर्खेत जाने गरेका थिए । 

भौगोलिक विकटताका कारण सास्ती खेप्दै आएका कालिकोटबासी सामान्य स्वास्थ्य उपचार पाउनबाट समेत वञ्चित थिए । कुपोषणको कहरसहित अन्य थुप्रै स्वास्थ्य समस्याबाट थलिएको एउटा विकट जिल्लाको दुर्गम गाउँमा अस्पताल बन्नु निकै ठूलो कुरा थियो । १५ शय्याको अस्पताल आठ करोड ५० लाख रूपैयाँ लगानीमा निर्माण भएको हो । सहारा क्लब हाइकिङबाट जम्मा भएको २५० हङकङ डलर, ईजी लिंक रेमिट्यान्सलगायत विभिन्न संघसंस्थाले प्रदान गरेको सहयोगमा अस्पताल बनाएको हो । उक्त अस्पताल २०७८ वैशाखमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । 

हाल उक्त अस्पताल नगरपालिकाले सञ्चालन गरिरहेको छ । नगर क्षेत्रभित्रका १७ हजार ४०० बासिन्दाले अस्पतालबाट सुविधा लिइरहेका छन् । दुई जना डाक्टरसहित झण्डै ३५ जना कर्मचारी कार्यरत छन् । नगर प्रमुख धर्मराज शाहीका अनुसार अपरेशनबाहेक सबै सेवा अस्पतालबाट प्रवाह हुन्छ । अस्पतालमा उपकरण भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न नसकिएको उनको गुनासो छ । अस्पताल सञ्चालनका निम्ति नगरपालिकाको बर्सेनि दुईदेखि तीन करोड रूपैयाँ खर्च हुने उनले जानकारी दिए ।

‘यहाँ एमबिबिए गरेको दुई जना डाक्टर हुनुहुन्छ । बिएन नर्सिङ गरेको नर्स पनि कार्यरत हुनुहुन्छ । यहाँबाट अपरेशनबाहेक जनरल, ल्याबलगायत सबै स्वास्थ्य सुविधा प्रवाह हुन्छ । अस्पताल सञ्चालनका निम्ति नगरपालिकाबाट वार्षिक दुई–तीन करोड खर्च हुने गरेको छ’, उनले भने । अस्पतालमा पोस्टमोर्टम पनि हुने नगर प्रमुख शाही बताउँछन् । जिल्ला अस्पतालपछि कै उत्कृष्ट अस्पताल रास्कोट सामुदायिक अस्पताल रहेको उनको दाबी छ । बाजुराका बासिन्दा पनि स्वास्थ्य सेवा लिन सोही अस्पताल आउने गरेको नगरपालिकाले जनाएको छ । 

सुधारिँदै स्वास्थ्य क्षेत्र 

कालिकोटको नौ वटै स्थानीय तहमा स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा आएको छ । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिकामा मेडिकल अधिकृत कार्यरत छन् । शुभ कालिका गाउँपालिकामा मात्रै मेडिकल अधिकृत छैनन् । यता, जिल्ला अस्पतालले पनि परिचय फेर्दै लगेको छ । कुनै बेला सिटामोल नपाउने अस्पतालले अहिले धेरै स्वास्थ्य सेवा विस्तार गरिसकेको छ ।

१५ शय्याबाट बढाएर २६ शय्याको अस्पताल बनाइएको छ । अस्पतालमा १२ जना डाक्टरसहित झण्डै ९० जना कर्मचारी कार्यरत रहेको कार्यालय प्रमुख डा. संकेत विश्वकर्माले बताए । उनका अनुसार अपरेशन, जनरल, बहिरंग, ल्याब, रेडियोलोजी, आँखा जाँच, स्वास्थ्य बीमा, परामर्श सेवालगायत सम्पूर्ण आधारभूत सेवा अस्पतालबाट प्रवाह हुँदै आएको छ । २४ घण्टे आकस्मिक सेवा पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । दैनिक ७०–८० जनाले अस्पतालबाट सेवा लिइरहेको डा.विश्वकर्मा बताउँछन् । 

अस्पतालमा दुई वटा एम्बुलेन्स छन् । त्यस्तै, शववाहनका लागि पहल भइरहेको छ । अस्पतालले हाडजोर्नी विशेषज्ञ सेवा सञ्चालनको तयारी गरिरहेको छ । नयाँ भवनको निर्माण सम्पन्न भएसँगै थप सेवा विस्तार गरिने जनाइएको छ । डा.विश्वकर्माले भने, ‘अहिले कालिकोटले स्वास्थ्य क्षेत्रमा मुहार फेरेको छ । अस्पतालमा धेरै सुधार भएको छ । कालिकोटबासीले सहज रूपमा स्वास्थ्य सेवा पाउनुहुन्छ । हामी सेवालाई थप प्रभावकारी बनाउने प्रयत्नमा छौं । नयाँ भवन बनेपछि सेवा विस्तार हुन्छ । शववाहनको लागि पनि पहल गरिरहेका छौं ।’ 
 

टिप्पणीहरू