सात दिनसम्म हराएकी बालिकाको कारण ‘डर’, तर कस्तो ?

सात दिनसम्म हराएकी बालिकाको कारण ‘डर’, तर कस्तो ?

हरेक बाबुआमाले आफ्नो सन्तानको भलो सोच्छन् । अभिभावकले सन्तानको राम्रो भविष्यको चाहना राख्छन् । तर वास्तवमा बालबालिकाहरु के पढन् चाहन्छन् ? के कुरामा रमाउँछन् ? भन्नेबारे परिवारले खासै चासो दिएको पाईंदैन । 

परिवारले आफ्नो सन्तानमाथि अत्यधिक निगरानी गर्दा कस्तो हुन्छ ? भन्ने ज्वलन्त उदाहरण बनेकी छन्, स्नेहा लामिछाने । चितवनको कालिका नगरपालिका–६, जमुनापुरकी स्नेहा ललितपुरको सगरमाथा इन्जिनियरिङ कलेजमा प्रथम वर्ष अध्ययनरत छिन् । 

कंलकीस्थित हजुरआमाको घरमा बस्दै आएकी स्नेहा गत १९ गते बिहान सँधैझैँ कलेज जान घरबाट निस्किन् । तर, सात दिनसम्म घर फर्किनन् । परिवारले उनी हराएको सूचित गरेपछि खोजी सुरु भयो । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टोलीले स्नेहालाई सात दिनपछि पशुपतिनाथ मन्दिर परिसरमा फेला पारेको हो ।

सामान्य रुपमा हेर्दा यो घटना एकजना बालिका हराइन् र भेटिइन् भन्ने अर्थमा बुझिन्छ । तर, स्नेहाले किन सात दिन परिवार, आफन्त र साथीभाइसँग सम्पर्कविहीन हुने निर्णय लिइन् ? सन्तानको सुरक्षित भविष्य खोज्ने हरेक अभिभावकलाई यो घटनाले गम्भीर बनाइदिएको छ । 

वास्तवमा स्नेहालाई के भएको थियो ? सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरु पनि उठाइएको छ । तर, सात दिन वेवारिशे भएर हिँडेकी उनले मुख्यतयाः ‘डर’ को कारण आफू जानाजान हराएको बताएकी छन् । 

स्नेहाले दिएको घटना विवरणअनुसार वैशाख १९ गते कलेज जान बिहानै घरबाट निस्किन् । तर, त्यसदिन कलेज बन्द रहेको उनले त्यहाँ पुगेपछि मात्र थाहा पाइन् । त्यहाँबाट एकाएक पशुपति जाने निर्णय लिएकी उनले भनेकी छन्, ‘मैले घरबाट निस्कँदा कलेज जान्छु भनेर सोचेकै थिइनँ । कलेज बिदा रहेछ, त्यसपछि बल्ल पशुपति जानुपर्यो भनेर हिँडे ।’ 

स्नेहाले दिनभर पशुपति आर्यघाटमा मान्छे जलाएको दृश्य हेरेर बिताइन् । साँझ उनी घर (कंलकी) फर्किन गौशालाबाट गाडी चढिन् तर नयाँ बसपार्क पुगेर बसबाट ओर्लिन् । उनी भन्छिन्, ‘साँझ घर फर्किन गाडी चढेँ । बसपार्क पुगेको थिएँ । तर अचानक के पो भयो, घर जानै मन लागेन । अनि फेरि झरेँ ।’ 

त्यो रात स्नेहाले चाबहिलको सडक छेउमा भोकै बिताइन् । यद्यपि, उनीसँग पैसा भने थियो । भनेकी छन्, ‘पैसा त थियो । तर केही खानै मन लागेन।’ 

भोलिपल्ट साँझ गाउँको घर जाने भनेर चितवन (जमुनानगर) हिँडिन् । तर, त्यता पनि गइनन् । चितवनको देवघाटस्थित बसपार्कमा उत्रिएर चाउचाउ र बिस्कुट खाइन् । बसपार्क परिसरमै तीन दिन बिताएकी स्नेहा भन्छिन्, ‘त्यहाँ पनि घर जान मन लागेन । कहिले चाउचाउ, कहिले बिस्कुट खाएर तीन दिन बसपार्कतिरै बिताएँ ।’ 

त्यसपछि उनी देवघाटबाटै काठमाडौँ फर्किइन् । 

२४ गते राति बसन्तपुर दरबार क्षेत्रको एउटा कुनामा एक्लै निदाइरहेकी थिइन् । ११ बजेतिर एउटा चिया बेच्ने महिलाले देखेर उठाइन् । स्नेहाले चिया पिइन् । त्यसपछि उनै चिया बेच्ने महिलासँग स्नेहा पछि लागिन् । भोलिपल्ट दिनभर ती महिलाकै डेरामा सुतिन् । 

‘ती दिदी एकदम राम्रो हुनुहुन्थ्यो । म राम्रोसँग नसुतेको कति दिन भइसकेको थियो, त्यसैले दिदीको कोठामा दिनभर निदाएछु’, त्यसदिनको घटना स्मरण गर्दै स्नेहाले बताइन् ।

भोलिपल्ट ब्यूँझदा चिया बेच्ने महिला त्यहाँ थिइनन् । त्यसपछि स्नेहा फेरि पशुपतितिर लागिन् । राति पशुपतिमा आरती हेर्दै बिताइन् । र, भोलिपल्ट २६ गते उनी सोही ठाउँमा फेला परिन् । 

समग्रमा स्नेहाले यो सब हुनुको कारण ‘डर’ भनेकी छन् । भन्छिन्, ‘पहिलो दिन के पो भयो, घर जानै मन लागेन । अर्को दिन जान मन लागेको थियो, तर फेरि घर गएर के एक्सप्लेसन दिनु भनेर डर लाग्यो । त्यसपछि यताउता हिँडिरहे ।’
 

टिप्पणीहरू