आफ्नी छोरीमाथि यस्तो भए के गर्नुहुन्थ्यो, सेनापतिज्यू ?

आफ्नी छोरीमाथि यस्तो भए के गर्नुहुन्थ्यो, सेनापतिज्यू ?

प्रधानसेनापति प्रभुराम शर्माज्यू, तपाईं अब छिट्टै सेवावधि सकाएर घर जाँदै हुनुहुन्छ । त्यसभन्दा अगाडि तपाईंकै सैनिकबाट अन्यायमा परेकी एउटी चेलीको आवाज सुनिदिनुहुन्थ्यो कि भनेर यो पत्र लेख्दै छु । मेरो घर त्यहींको चौरजहारी नगरपालिका–८ हो । मलाई तहसनहस बनाउने पनि रुकुमपश्चिमकै हो । आठबिसकोट नगरपालिका–९ निवासी यदु शाह अहिले नेपाली सेनामा क्याप्टेन छन् । 

उसले मलाई मायाजालमा पारेर चरम यौन शोषण गरी बीच बाटोमा छाडिदिएको छ । म अहिले ‘घर न घाट’ को भएकी छु । मेरो जिन्दगी बर्बाद बनाएर ऊ सफलताको खुड्किलो चढिरहेको छ । आफूमाथि भएको ज्यादती सुनाउन सैनिक मुख्यालय पुगेँ । ऊ तालिमरत नगरकोट शिक्षालय पनि धाएँ । तर, मेरै गल्ती देखाइयो । ‘पहिला कुरा मिल्दा मनपरी गर्ने अनि अहिले आएर उसलाई बिगार्न खोज्ने ?’ जस्ता तुच्छ शब्द प्रयोग गरियो । एउटी पीडित आफ्नो व्यथा लिएर जाँदा तपाईंका सैनिकले हप्कीदप्की गरे । गल्ती सधैँ महिलाकै मात्र हुने हो र ? विवाहको प्रलोभन देखाएर यौनशोषण गर्नेलाई बचाउने पाठ सिकाउनुभएको हो र । मेरो तनमनसँग खेलबाड गरेको भन्दै ०७८ असोज १६ गते मुख्यालयमा निवेदन दिएकी थिएँ । यौन शोषण गर्ने व्यक्तिलाई कारबाही गर्नुको साटो उल्टै मलाई मिलापत्र गर्न लगाइयो । त्यहाँका हाकिम नरेश अधिकारीले जबरजस्ती मिलेको पत्र लेख्न लगाउनुभयो । 

उहाँले जसोजसो भन्नुभयो, मैले त्यसोत्यसो लेखँे । मुख्यालयबाट निस्किने बेला एक जना महिला अफिसरले ‘अब तपाईंले न्याय पाउनुहुन्न’ भन्नुभएको थियो । पछि म पुनः मुख्यालय गएँ । उहाँहरूले तपाईंले मिलापत्र गरिसक्नुभएकाले कारबाही प्रक्रिया अघि नबढ्ने बताउनुभयो । म छाँगाबाट खसेझैँ भए । म न्याय माग्न प्रहरीदेखि लिएर राष्ट्रिय मानवअधिकार आयोगसम्म पुगेँ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले सेनाविरुद्ध जाहेरी लिए आफूलाई अप्ठेरो पर्ने भनेपछि फिर्ता आएँ । आयोगबाट पनि न्याय पाइन । मैले ठूलो माग केही पनि राखेको छैन, बस् गल्ती गर्नेलाई कारबाही होस् । 

उसले ममाथि गरेको खेलबाड अरु कसैले कसैको छोरीमाथि गर्न नसकोस् । स्वच्छ छवि भएको सेनालाई यस्ता दूषित मनशायका व्यक्तिले दुर्गन्धित बनाइरहेका छन् । उसलाई संरक्षण गर्न नगरकोट शिक्षालयका सबै जना लागिपरेका छन् । म वैशाख २६ गते उसलाई भेट्न गएकी थिएँ । तीन वटा गाडी फेरेर त्यहाँ पुग्दा दिउँसोको ३ बजेको थियो । ड्युटीमा रहेका अफिसरलाई उसलाई बोलाइदिनु भनें । उहाँले ‘बोलाइदिएको छु, कुर्दै गर्नु’ भन्नुभयो । तर, दुई घण्टासम्म ऊ आएन । म पर्खिरहेकी थिएँ, एक–एक वटा फुली लगाएका तीन जना सैनिक आउनुभयो । आउनेबित्तिकै ममाथि हप्कीदप्की गर्न थालियो । एक जनाले सोध्नुभयो, ‘तिमी कति वर्षकी भयौ ?’ उहाँहरूको व्यवहार एकदमै नराम्रो लाग्यो । मैले जवाफ नै दिइन । अर्कोले प्याच्च भन्नुभयो, ‘कुरा मिल्दासम्म मनपरी गर्ने अनि अहिले बिगार्न खोज्ने ? तिमी हाम्रो गेटमा आउँदा तालिमरत अफिसरलाई कति तनाव हुन्छ, सोचेकी छ्यौ ? दुई महिनाको तालिम सकिइसक्यो, अब एक महिना बाँकी छ । अब यहाँ नआऊ ।’

उहाँको शब्दले मन चसक्क घोच्यो । आँखा रसाए । म त्यहीँ रुन थालेँ । म रोएको देखेर उहाँहरू जानुभयो । मैले हाकिम साबलाई भेट्न दिनुभन्दा पनि मान्नुभएन । ‘हुनुहुन्न’ भन्दै भेट्न दिइएन । अर्को दिन आउँछुभन्दा उहाँले ऊ त्यहाँबाट तालिम गर्न अर्को ठाउँ गइसकेको बताउनुभयो । दिउँसोसम्म त्यहीँ भएको व्यक्ति एकाएक अर्को ठाउँ गयो भन्दा मलाई पीडकलाई बचाउन समग्र संगठन नै लाग्ने रहेछ भन्ने अनुभूति भयो । मेरो जिन्दगी बिगार्ने उसलाई भेटेर ‘फेस टु फेस’ कुरा नगरेसम्म मलाई चैन आउने छैन । मैले उसको केही पनि बिगारिदिएकी थिइन । पटक–पटक ‘हाम्रो जात मिल्दैन’ भन्दासमेत उसले सुनेन । विवाह गर्ने आश्वासन देखाएर हिँडेको उसले अर्को विवाह गरिसकेको छ । आफ्नो परिवारसँग ऊ खुशीयालीको जिन्दगी बिताइरहेको छ । म न्याय माग्दै यताउता भौंतारीरहेकी छु ।

मुख्यालयमा उजुरी परेपछि उसले मलाई माफ गर, जागिर खान देऊ, तिम्रो खुट्टा ढोग्छु, मेरो स्वर्गीय बुवाआमा, एउटा टुहुरो सम्झिएर माफ गरिदेऊ, भएका प्रमाणहरू नदेखाऊ भनेको थियो । मैले त्यो ‘म्यासेज’ हरू सुरक्षित राखेकी छु, आवश्यक परेका बेला देखाउनेछु । उसले नाबालिगसँग विवाह गरेको प्रमाण पनि मसँग छ । मलाई धेरै पीरमर्का परेको छ । आफूमाथि घटेको घटना कसरी बुबाआमालाई सुनाउने ? भन्ने चिन्ताले सताएको छ । अर्काकी छोरीलाई खेलौना सम्झिनेलाई कारबाही गरियोस् भन्ने मात्रै मेरो माग हो । यो मुलुकमा सेनाको अफिसरलाई जे मन लाग्यो, त्यही गर्न अवश्य पनि छुट छैन होला । मलाई तपाईंकै छोरी ठानेर न्याय दिलाइदिनुहुन बिन्ती बिसाउँछु । मेरो ठाउँमा तपाईंकी छोरी भएकी भए उसलाई त्यत्तिकै छोड्नुहुन्थ्यो, हजुरले ! तपाइँ त धर्मात्मा मान्छे, भगवान सम्झेर यति मनन गरिदिनोस् । सदा आशिर्वाद लाग्नेछ । 

– स्मृति जिएम​​​​​​​

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू