लुम्बिनी र सगरमाथा मात्रै जपेर अब नपुग्ने

लुम्बिनी र सगरमाथा मात्रै जपेर अब नपुग्ने

नेपाल र चीनबीच कायम रहेको सुमधुर कूटनीतिक सम्बन्ध स्थापनाको सात दशक पूरा हुन लागेको छ । यसअघि पनि दुई मुलुकबीच शताब्दियौंदेखि हार्दिकतापूर्ण सांस्कृतिक तथा व्यापारिक सम्बन्ध कायम रहेको थियो ।

पछिल्लो समय चीनले छिमेकीदेखि एसिया, युरोप,अफ्रिका,दक्षिण अमेरिकासम्मका मुलुकलाई जोड्न अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा नेपालले सन २०१७ मा एमसिसीसङ्गै हस्ताक्षर गरेको हो  तर सो को कार्यान्वयन भने ७ बर्ष कटिसक्दा पनि हुन सकेको छैन ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सन् २०१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको उक्त सहमति पत्रलाई नेपालले कार्यान्वयन प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको छ । राजधानीमा हिजो आयोजित ‘नेपाल–चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयक विचारगोष्ठीका सहभागीवीच उहाँ बोल्दै हुनुहुन्थ्यो ।

फुदान एलुम्नाई एसोसिएसनका डा. सरोज धिताल र नेपाल चाइना मिडिया फोरमका किशोर श्रेष्ठले विगतदेखि रटान लगाइएको सगरमाथा, लुम्बिनी,हिमालय, भृकुटी,अरनिकोको नाम उच्चारणबाट मात्र एक्काइसौं शताब्दीमा दुई मुलुकबीचको असल सम्बन्ध परिभाषित गरिँदा अधुरो हुने धारणा राख्नुभएको थियो । लगानीमैत्री वातावरण, परस्पर व्यापार तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्दै चिनियाँ लगानीको थप सुनिश्चिततामा देखिएका पछिल्ला कमीकमजोरीलाई सुधार्न स्वयम् नेपाल अग्रसर हुनुपर्नेमा उहाँहरुको जोड थियो । 

बिआरआई परियोजनालाई छिटो कार्यान्वयनमा लैजान, दुई देशबीच व्यापार सन्तुलन कायम गर्न, सांस्कृतिक आदानप्रदान बढाउन,जनता जनताबीचको सम्बन्ध बढाउनुपर्नेमा सहभागी सबै नेतालाई उहाँहरुले आग्रह पनि गर्नुभयो । 

परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास प्रयासमा हातेमालो गर्न चिनियाँ राष्ट्रपति सि सिनफिङले अघि सारेको र संयुक्त राष्ट्र संघमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का मित्रहरूको समूहमा नेपाल पनि सहभागी हुने निर्णय  गरिसकिएको जानकारी दिनुभयो ।

 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनले एकअर्कालाई विश्वास र सम्मान गर्ने गरेको तथा दुवैले आपसी चासोमा सहयोग दिएको बताउँदै नेपालमा ठूलो लगानीकर्ता र दोस्रो ठूलो व्यापारिक साझेदार चीनले दुवै देशका १४ नाका खोल्न लागेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा नेपाल–चीनसम्बन्धी सामाजिक संस्थाका झण्डै एक दर्जन प्रतिनिधिले धारणा राखेका थिए । कार्यक्रम काठमाडौंस्थित चिनियाँ दूतावास र नेपाल–चीन मैत्री मञ्चको संयुक्त आयोजनामा म्यारियट होटलमा भएको हो ।

टिप्पणीहरू