ठेक्का तोडेपछि सडक निर्माणको काममा तीब्रता

ठेक्का तोडेपछि सडक निर्माणको काममा तीब्रता

- ऋषि भट्टराई 

कञ्चनजंघा बिरुवा जेभीसँग २०७३ चैत १७ गते तीन वर्षमा सडक विस्तार कार्य सम्पन्न गर्न ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा भएको ठेक्का सम्झौता आठ  वर्षपछि तोडिएको छ । वर्षौंदेखि पटक–पटक म्याद थप्दासमेत निर्माण सम्पन्न नभएपछि ठेक्का तोडेर अर्को कम्पनीसँग सम्झौता गरिएको बताइन्छ । 

सडक डिभिजन कार्यालय बुटवलले पहिलेको ठेक्का रद्ध गरेपछि अर्को निर्माण कम्पनी बावुल दर्शन मालिका जेभीसँग सम्झौता गरेको हो । त्यसपछि बुटवलको मुख्य सडक राजमार्गको चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको कामले तीब्रता पाएको देखिन्छ । 

आठ वर्षदेखि अलपत्र सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम पनि गरिरहेको छ । साढे तीन किलोमिटर लामो र छ लेनको सडक विस्तारका लागि मूल्य अभिवृद्धिकरसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । 

बुटवल–बेलहियादेखि चिडिया खोलासम्मको छ लेन सडक भैरहवादेखि बुटवल चौराहासम्म निर्माण भएको छ । पछिल्लो समय सडक निर्माणको काम राति र दिउँसो दुई सिफ्टमा गर्ने तयारी छ । जनशक्ति थपेर एक वर्षभित्रै सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

केही स्थानमा खानेपानी पाइपका कारण असहज भएपनि निर्माण कार्य अघि बढिरहेको छ । ‘अहिले इलाका प्रशासन कार्यालय आसपास निर्माणको काम भइरहेको र जनशक्ति थप गरेर दिउँसो र राति दुई चरणमा काम थाल्नेछौं । समय सीमाभित्र सडक निर्माणको काम सम्पन्न गरिने छ,’ निर्माण कम्पनीले जनायो । 

ठेक्का रद्ध भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते एक वर्षभित्र काम सम्पन्न गर्न सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । फुटपाथ तीन मीटर, सर्भिस लेन सात मीटर, ग्रीनबेल्ट र स्टल साढे दुई मीटर, मुख्य लेन साढे १० मीटरको हुने कार्यालयका सूचना अधिकारी इञ्जिनियर महेश्वर लम्सालले बताए । 

बुटवल उपमहानगरपालिकाले खानेपानी, विद्युत र टेलिफोनसँग सम्बन्धित निकायसँग सडक निर्माणको सिलसिलामा देखिने अवरोधका सवालमा आवश्यक छलफल र  सहजीकरण गरेकाले सहयोग पुगेको सूचना अधिकारी लम्सालले बताए । ठेकेदार कम्पनीलाई आवश्यक जनशक्ति जुटाएर दुई चरणमा काम काम सम्पन्न गर्न भनिसकिएको उनले बताए । निर्माण कम्पनिले  लगत्तै दुई चरणमा काम थाल्ने र निर्माणको कामले अझै तिब्रता पाउने लम्सालको दाबी छ ।

टिप्पणीहरू