शोकमा रहेको माओवादीले 'गणतन्त्र सेनानी सम्मान' रोक्यो
नेकपा माओवादी केन्द्रले गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जनमुक्ति सेनाका पूर्व बिग्रेड कमिसार पदम राईको निधनपछि कार्यक्रम स्थगित भएको हो ।
जमलस्थित राष्ट्रिय नाचघरमा १५ जना नेताहरुलाई गणतन्त्र सेनानीबाट सम्मान गर्ने माओवादीको तयारी थियो । तर, संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका राईको निधनको शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको गणतन्त्र सेनानी कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिएका छन् ।
‘पदमबहादुर राईको असामयिक निधनका कारण हामी सबैलाई शोकाकुल बनाएको छ । यस दु:खद् घडीमा हामीले आदरणीय कमरेडप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै आज मंसिर ९ गते १२ बजेबाट गरिने तय भएको गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई स्थगित गरिएको छ’, उनले भने ।
लामो समयदेखि पार्किन्सनबाट थलिएका राईको हिजो वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर माओवादी मुख्यालय पेरिसडाँडामा राखिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर मृतकप्रति सम्मान व्यक्त गरेका छन् । उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुनसहित नेता-कार्यकर्ता र समर्थक-शुभचिन्तकले राईको शवमा र फूल अर्पण गरेर श्रदाञ्जली व्यक्त गरेका छन् ।
दिवंगत राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उनले विद्योदय मा.वि. भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गरेका थिए ।
उनको राजनीतिक जीवन २०४६ सालबाट शुरु भएको थियो । अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुँदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई भूमिका निभाएका राईले २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए । पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर-तेह्रथुम-संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, केन्द्रीय समिति सदस्य हुँदै विगतमा पोलिट्व्यूरो सदस्यसम्मको जिम्मेवारी निर्वाह गरे ।
२०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री रहेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर-१ बाट सभाषद निर्वाचित भएका थिए ।
टिप्पणीहरू