मर्नकै निम्ति आएजस्तो भयो मातृभूमि
काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । प्रकाश सन्यास आश्रमनजिकैको होटल जन्मभूमिमा युवायुवती सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
पर्शुराम आचार्यको पाँच तल्ले घरमा खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–४ का रामजी कटुवालले सञ्चालन गरिरहेको होटलको चौथो तल्लामा उनीहरु बसेका थिए । हिजो साँझदेखि कोठा नम्बर १२० मा बसेका उनीहरु आज मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक युवक ३४ वर्षीय रमेश माझीको घर सुनसरी र युवती २९ वर्षीय शर्मिलाकुमारी माझीको घर मोरङ भएको खुल्न आएको छ । उनीहरुले कोठाको बरण्डाको रेलिङमा पासो लगाएको प्रहरीको भनाइ छ ।
उनीहरु दुई वर्षपछि हिजो क्यानाडाबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा खटिएको छ ।
टिप्पणीहरू