मंसिर १६ गते विशेष बिदा माग
निर्वाचन आयोगले उपचुनाव हुन लागेका स्थानीय तह मातहत सञ्चालित निकायहरुमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई विशेष बिदा दिन आग्रह गरेको छ । आयोगको आज बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश भएका कर्मचारी वा पदाधिकारीलाई उपचुनावका दिन विशेष बिदाको व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको छ ।
निर्णयमा भनिएको छ, ‘उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहका सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व, अनुदान र नियन्त्रणमा सञ्चालित निकायहरुमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरुलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय भएको छ ।’
आयोगले यसअघि नै स्थानीय तहअन्तर्गत कार्यालयहरुमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन एवम् उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरुलाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्थाका लागि आह्वान गरिसकेको पनि स्मरण गराएको छ ।
टिप्पणीहरू