कीर्तिपुरमा एकीकृत समाजवादी र काठमाडौंमा स्वतन्त्र उम्मेदवार निस्क्रिय
कीर्तिपुर नगरपालिकाको मेयरमा उठेका एकीकृत समाजवादीका भानु रिजालले उम्मेदवारी निस्क्रिय पारेका छन् । माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई समर्थन जनाउँदै उनले आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गरेका हुन् ।
रिजालले विज्ञप्ति जारी गर्दै माओवादीका महर्जनलाई समर्थन गर्ने पार्टी केन्द्रको निर्णयबमोजिम आफू पछि हटेको जनाएका छन् । उपचुनाव हुन लागेको कीर्तिपुर–४ को वडाध्यक्षमा भने एकीकृत समाजवादीको तर्फबाट रिता खड्काको उम्मेदवारी कायमै छ ।
यसअघि हिजो दुई स्वतन्त्र उम्मेदवारले गठबन्धन गर्ने निर्णय गरेका छन् । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ्ग राईको उपस्थितिमा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र राजमान महर्जनलाई सहयोग गर्ने समझदारी गरेका हुन् ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यहाँ राजनीतिक दलका ९ र ११ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी परेको छ । कतिपय स्वतन्त्र उम्मेदवारहरुले तालमेलको प्रयास गरिरहेको बताइएको छ ।
यता, काठमाडौँ–१६ मा स्वतन्त्र उठेका प्रकाश पन्तले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रोजिना श्रेष्ठलाई सहयोग गर्दै उम्मेदवारी निस्क्रिय बनाएका छन् । उनले आज रास्वपा कार्यालयबाट घण्टीमा भोट हाल्न अपील गरेका हुन् ।
टिप्पणीहरू