संकट टार्न एउटी चेली बली चढ्ने सम्भावना

सरकारलाई धरापमा पार्न खोज्दैछन् सिके

संकट टार्न एउटी चेली बली चढ्ने सम्भावना

शक्तिशाली दुई तिहाइ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणअघि विश्वासको मतको झमेला आइलाग्ने खतरा छ । सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन लेखेको चौथो पत्रसमेत सभामुखले ‘इन्टरटेन’ नगरेपछि रिसाएका डा. सीके राउत सरकार छोड्ने मुडमा पुगेसँगै सरकारमाथि संकट निम्तिएको हो । संसद सचिवालय स्रोतका अनुसार सापकोटालाई कारवाही गरेको सूचना नटाँसे सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रष्ट सन्देश राउतले सभामुख देवराज घिमिरेमार्फत दिइसकेका छन् । तर, अघिल्लो साता सापकोटालाई पदबाट हटाउन नपर्ने निर्णय सभामुखले गरिसक्नुभएको छ ।

सत्तारुढ कुनै एउटा दलले समर्थन फिर्ता लिए संविधानतः प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रतिनिधिसभामा ६ सिट रहेको जनमतले समर्थन झिकेकै कारण सरकार ढल्ने अवस्था त छैन । तर, स्थिर सरकार र राजनीतिक स्थायित्वको नारा दिएर ‘राष्ट्रिय सरकार’का नाममा सत्तारुढ भएको चार महिनामै विश्वासको मत लिने अवस्था आए कांग्रेस र एमालेमाथि नैतिक प्रश्न चैं अवश्य उठ्ने छ । 

पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै समानुपातिक सांसद सापकोटालाई निकाल्न जनमतले २०८० फागुनदेखि २०८१ कात्तिकको बीचमा चार पटक संसद सचिवालयमा पत्र दर्ता गराइसकेको छ । अघिल्ला तीन वटा पत्रमा कुनै निर्णय नभएपछि पछिल्लो पटक कात्तिक २७ गते चौथो पत्र दर्ता गराएका राउतले केही दिनअघि सभामुखलाई भेटेर तत्काल सूचना टाँस्न दबाब दिएका थिए । वकिलहरूको हुलै लिएर पुगेका उनले सभामुखको निष्पक्ष भूमिकामाथि प्रश्न उठाउँदै सरकारको निर्देशनमा काम गरेको आशयमा असन्तुष्टि जनाएको संसद सचिवालय स्रोतले जनाएको छ । 

स्रोतका अनुसार रास्वपाको कारवाहीमा परेका डा. ढाकाकुमार श्रेष्ठको उदाहरण दिँदै राउतले ‘पहाडे र मधेसी’ बीच सभामुख घिमिरेले विभेदकारी नीति लिएको भनी चर्को आक्रोश पोखेका थिए । त्यसक्रममा केहीबेर चर्काचर्कीसमेत परेको थियो । सभामुखले १५ दिनको समयावधिभित्रै कारवाहीको सूचना नटाँसे संसद सचिवालयमै पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले चेतावनीसमेत दिएका छन् । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पत्र दर्ता भएको मितिले १५ दिनभित्र सूचना टाँस्नुपर्छ । 

ढाकाकुमार र गोमा लाभ दुबै समानुपातिक सांसद हुन् । दुबैमाथि ह्वीप उल्लङ्घन नभई दलीय अनुशासन तोडेकोमा कारवाही सिफारिस भएको हो । तर, ढाकाकुमारको हकमा तुरुन्तै सूचना टाँसेका सभामुखले गोमाको भने रोकेर राखिदिए । ‘सभामुखले आफ्नै पाराले डिसिजन गरेकाले राउत आक्रोशित भएको बुझिन्छ’, स्रोतले भन्यो, ‘माथिको निर्देशनमा रोकेको भन्ने उनको बुझाइ छ ।’ तर, लाभको बारेमा गत शुक्रबार निर्णय भइसकेको छ ।

राउतको पछिल्लो पत्रमा पनि सापकोटालाई हटाउनुपर्ने नयाँ आधार पेश नगरिएकाले कारबाहीले अदालती मान्यता पाउने सम्भावना देखिँदैन । तर, प्रधानमन्त्रीको विदेश भ्रमणको पूर्वसन्ध्यामा यसैका कारण सरकार अप्ठेरोमा पर्ने मूल्यांकनका आधारमा सूचना टाँसिन सक्ने कतिपयको बुझाइ थियो । कतिपयले सभामुख घिमिरेले गर्ने निर्णयबाट  ‘दुई तिहाइ जोगाउने नाममा एउटी चेली सती जानुपर्ने पनि हुनसक्ने’ अनुमान गरेका थिए । 

संघीय सरकारलाई समर्थन दिएर मधेश प्रदेशमा मुख्यमन्त्री लिएका राउतको यही कारण पछिल्लो समय सत्ता गठबन्धनसँग सम्बन्ध बिग्रिएको देखिन्छ । रवि लामिछाने पक्राउविरुद्ध सार्वजनिकरुपमै बोलेका उनलाई गठबन्धनको बैठकमा सचेतसमेत गराइएको थियो । उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाएर हटाउने कांग्रेस–एमालेको योजनाप्रति पनि राउतको चर्को असन्तुष्टि थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू