सहकारी ठगीको भयानक संसार

सहकारी ठगीको भयानक संसार

सहकारी समस्या समाधानका लागि संसदद्वारा गठित कार्यदलले अध्ययन गरेको प्रतिवेदनपछि देशैभर सहकारीमा खास समस्या सिर्जना गर्नेहरूको पहिचान भएको छ । प्रतिवेदनले मुख्य रूपमा दोषी देखाएकाहरू पक्राउ पर्ने क्रम तीब्र छ भने फरार रहेकाहरूलाई पनि खोजी गरिंदैछ । उता सेटिङमा सहकारीलाई ऋण लगानी गर्नेहरूको पनि खोजी हुन थालेको छ । विभिन्न राजनीतिक पार्टीहरूको प्रभावशाली पद र भूमिकामा रहेर सहकारीमा जम्मा भएको बचत मात्र नभै विभिन्न सहकारी संघ, सहकारी बैंकबाट प्राप्त बाह्य ऋणसमेत निजी सम्पत्तिमा परिणत गर्नेहरूमाथि अनुसन्धान गर्नुपर्नेतर्फ आवाज उठ्न थालेको छ । 

रविमाथि अनुसन्धान बढेसँगै मुद्धा एकीकृत गर्दा सेटिङमा ऋण दुरूपयोग गर्ने नेताहरूसम्म नजर पुगेको बताइन्छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती थुनामै छन् । सहकारी क्षेत्रमा धेरै पुराना मानिने उप्रेतीले धेरै अगाडिदेखि सेटिङ चलाइरहेका थिए । यसक्रममा सबैभन्दा बढी एमाले नेता पशुपति चौलागाईलाई प्रयोग गरे । सादा, सरल र इमानदार चरित्रका चौलागाईलाई दुरूपयोग गरेर एकछत्र नेता बने । ओरेण्टल सहकारीमा सुधीर बस्नेतले बचत फिर्ता गर्न नसकेपछि सहकारीमा खतराको घण्टी बजेको थियो । त्यसबेला सहकारीलाई पैसाको मामिलामा बढी छाडा बनायो भने जनताको पैसा डुब्न सक्छ भनेका कारण सहकारी महासंघका अध्यक्ष केशव बडाललाई उप्रेतीकै टोलीले ढोका थुनेर बन्धक जस्तै बनाएको थियो । 

सहकारी संघ, नेफ्स्कुनदेखि सहकारी बैंकमा निरन्तर आफ्नो सेटिङका मान्छेबाहेकलाई सम्भव भएसम्म उम्मेदवार बन्नै नदिनेगरी भूमिका खेल्ने र कथंकदाचित अरु उठ्ने निर्णय भयो भने हराउने खेल जगजाहेरै छ । सहकारी बैंकका सिइओ बद्रि गुरागाईले कानुनी रूपमा धमाधम एक्सन लिएपछि बैंकसँग सेटिङ मिलाएर ऋण प्रवाह भएका धेरै सहकारीमा चाप परेको छ । 

उप्रेतीले नेतृत्व गर्ने आइडियल यमुना बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सबैभन्दा बढी त्यस्तो रकम दुरूपयोग भएको छ । उप्रेतीले बैंकमा चरम अनियमितता गरेका कारण ६ वर्षअघि एउटा प्रोफेसनल टिम बाहिरिइसकेको थियो । बीचमा सिइओ गुरागाईले पनि राजीनामा दिएका थिए । पछि उप्रेतीले सच्चिने र सहज काम गर्न दिने बताए पनि वर्तमान सञ्चालक समितिको निर्वाचनका बेला पुरानो शैली देखाए । नेकपा एमालेको सहकारी विभागमा करिब उप्रेतीको एकलौटी जस्तै छ । परितोष पौडेल समूहलाई पनि नेफ्स्कुनलगायत सहकारीका अन्यत्र निकायमा नत्र देखाइदिन्छु भन्ने शैली देखाएर आफ्नै पक्षमा उभ्याएपछि उनी सर्वसम्मत मात्रै भएनन्, एकीकृत समाजवादी र नेकपा माओवादीलाई पनि मिलाएर लगेको भन्ने देखाउन आफ्नै सिण्डिकेट टीमका व्यक्ति आउने अवस्था बनाए । २०७९ पुस १६ को निर्वाचनमा एकीकृत समाजवादीभित्रबाट सहकारी क्षेत्रमा अलि धेरै सक्रिय भएर संगठन बनाएको र युवा भएकोले नवराज अर्याललाई पठाउने करिब करिब टुंगो लागिसकेकोमा उप्रेतीले नै ध्रुव विष्ट नै पठाए मात्र एक सिट दिने भनेको छलफलमा सहभागी नेताहरूले नै बताउने गरेका छन् । 

त्यतिबेला नेकपा माओवादीको लागि भनेर २ वटा कोटा छुट्याइयो– मनोजकुमार थापामगर र रामहरि बजगाई । दुबैजना उप्रेतीको विश्वासपात्र र व्यावसायिक साझेदार हुन् । बजगाईं उप्रेतीले सञ्चालन गरेका विभिन्न हाइड्रोपावर कम्पनीका प्रमुख साझेदार हुन् भने थापा काठमाडौं र भक्तपुरमा प्लटिङ व्यवसाय सञ्चालन गर्ने साझेदार हुन् । यस्तै कांग्रेसको कोटाबाट आएका केदार मानन्धर पनि उप्रेतीको लामो समयदेखिका साझेदार नै हुन् । पार्टीभित्र शक्ति देखाउन उनले बैंकको निर्वाचन भएलगत्तै तीनै जनालाई एमाले बनाए । खासमा उनीहरूलाई एमाले बनाउनुको रहस्य सहकारीमा भएको बेथितिबाट संरक्षण दिलाउनु नै थियो । उनको बेथितिका अर्को साझेदार हुन् शिव कट्टेल । उनी प्रचण्डको अत्यन्तै निकट भएका कारण प्रचण्डलाई छोड्न नसकेपनि ओलीको शरणमा नपुगे बचिन्न कि क्याहो भन्ने ठाउँसम्म हुने गरी उप्रेतीको समूहले कन्भिन्स गरिरहेको थियो । 

ओलीकै शरणमा भए पनि अब सहकारीको ठगीबाट नबचिने भएपछि उप्रेतीका साझेदारहरूले अन्य हिनामिनाहरूमा समेत जवाफ दिनुपर्ने अवस्था निर्माण भएको छ । उप्रेतीका अर्का विश्वासपात्र सहकारी बैंकका पूर्व सञ्चालक ज्ञानबहादुर तामाङमार्फत पनि नुवाकोटाको ४३ रोपनी जग्गा एकजनाको नाममा सस्तोमा किनेर पास गरेको र उनको धितो देखाएर ठूलो रकम कर्जा लगानी गरी आफूले चलाएको आरोप लागेको छ । उप्रेतीको अनुकूल कर्जा प्रवाह गरिदिने केही कर्जा अधिकृत र शाखा प्रमुखहरूलाई समेत सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने माग पनि उठ्न लागेको छ । उप्रेतीले ललितपुरका विभिन्न सहकारीमार्फत आफू अनुकूल कर्जा प्रवाह गरेका छन् । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी कुपण्डोल, हिमशिखर सहकारी लगनखेल, नागरिक कल्याण सहकारी, तपाई हाम्रो सहकारी लगायतमा सहकारी बैंकबाट ऋण स्वीकृत गरिदिने र त्यहाँका अध्यक्ष सञ्चालकहरूसंग मिलेर प्लटिङमा लगानी गर्ने धन्दा थियो । अर्बौंको साम्राज्य खडा गरेका उप्रेती आफूमाथि अनुसन्धान हुन सक्ने भएकाले केही व्यक्तिका नाममा पास भएका जग्गा उनीहरूले फिर्ता नगर्ने सम्भावना बढेकाले थुनामै अर्को तनावमा रहेको उनीसँग निकट नेताहरू बताउँछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू