मैदान ग्यालेक्सी र जिबीको, कार्यकर्ता र पार्टी रविको

मैदान ग्यालेक्सी र जिबीको, कार्यकर्ता र पार्टी रविको

नेपालीमा एउटा चर्चित भनाइ छ, ‘विश्वास गर्नु तर अन्धविश्वास नगर्नु ।’ कसैमाथि अन्धो भएर गरेको विश्वासले आफैंलाई हानि नोक्सानी गर्छ । त्यस्तै भएको छ गितेन्द्रबाबु उर्फ जिबी राईलाई । चार वर्षअघि राजधानीका पाँच तारे दुईवटा होटलमा भव्य कार्यक्रमसहित उद्घाटन गरिएको ‘ग्यालेक्सी फोर–के टेलिभिजन’ एक वर्षदेखि बन्द छ । बचतकर्ताको पसिनाको कमाइले खरिद गरिएको उपकरणमा धमिरा लाग्न थालेको छ । 

तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले छोडेपछि घिटघिटको अवस्थामा पुगेको टेलिभिजन अध्यक्ष जिबी भागेपछि ठप्प छ । इन्टरपोलको सहयोगमा जिबीको खोजी भइरहेको छ भने कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा यताउता गर्दैछन् । सहकारी ठगी प्रकरणमा लामिछाने पनि प्रहरी हिरासतमै छन् । रम्तेलले भने आफू जेलबाट निस्किएर टेलिभिजन चलाउने बताउँदै आएका छन् । 

स्रोत भन्छ, ‘उनले म अब धरौटीमा छुट्दै छु, बाहिरै बसेर मुद्दा लड्छु । पुराना सबैलाई ल्याएर टिभी चलाउँछु भन्ने सन्देश पत्रकारहरुलाई पठाएका छन् । अस्तित्व सकिइसकेको टेलिभिजन चलाएर के गर्नु ? सहकारी ठगीजस्तो गम्भीर आरोप छ । टेलिभिजनभन्दा पनि बचतकर्ताको बचत फिर्ता गर्नचाँहि जोड दिनुपर्ने हो ।’

ग्यालेक्सीमा झण्डै १० करोड रुपैयाँको टेक्निकल उपकरण छ । प्रधानन्यायाधीश र प्रधानमन्त्री निवाससामुन्ने डेराको घरमा सञ्चालित टेलिभिजनको कार्यालयमा ताला लगाइएको छ । घरधनी मिगेन्द्रप्रसाद मिश्रले वडा र प्रहरीको रोहबरमा सामान आफूसँग राखेका छन् । लामो समय नचल्नाले अधिकांश सामान बिग्रिसकेको छ । ग्यालेक्सीमा भएका सबै उपकरण बजारी मूल्यभन्दा दोब्बर मूल्यमा खरिद गरिएको हो । 

‘उपकरण खरिद गर्दा ठूलो अनियमितता भएको छ । कहाँ र के–कति भ्रष्टाचार भएको हो ? यो कुरा टिकाराम राई र चारु चड्डालाई प्रष्टै थाहा छ । महँगोमा सामान ल्याएर खानसम्म खाए । सोझो मान्छे भएकाले जिबीबाट उठाउनुसम्म फाइदा उठाए । जिबीले केही नसोधिकन मागेजति पैसा दिन्थे । १० करोड बराबरको त सामान नै थियो । घरधनीले भाडा नपाएपछि त्यही सामान राखेको छ । ती सामानमा एक वर्षदेखि विद्युत प्रवाह भएको छैन । धेरै त ड्यामेज पनि भयो होला’ , स्रोतले भन्यो ।

कसरी सकियो टेलिभिजन 

ग्यालेक्सी टेलिभिजन लुट्नेहरूका लागि स्वर्ग नै बन्यो । जसका कारण तेस्रो वार्षिकोत्सव मनाउन नपाउँदै लथालिङ्ग अवस्थामा पुगेको छ । उनीहरू खान पाउञ्जेल टेलिभिजनमा बसे, अप्ठेरो परेपछि टाप कसे । तीमध्ये अधिकांश रवि नेतृत्वको रास्वपामा भित्रिएका छन् भने केहीले आफ्नै अनलाइन मिडिया सञ्चालन गरेका छन् । सञ्चारकर्मी हुँदा नाम कमाएका रविकै अगुवाइमा ग्यालेक्सीको घोषणा भएको हो । उनकै अनुहार हेरेर जिबीले सहकारीको करोडौं रकम ल्याई टेलिभिजनमा खन्याएका थिए । तर, मौकाको फाइदा उठाएर रविले जिबीलाई बीच बाटोमा अलपत्र पारिदिए । 

जिबीको ‘न टेक्ने खुड्किलो भयो, न समाउने हाँगो ।’ अहिले भागेर हिँड्नुपरेको छ । जनमानसमाझ राम्रो छवि बनाएका रविले ग्यालेक्सीमा हुँदै एकाएक रास्वपा घोषणा गरे । पार्टी स्थापना भएको केही समयमै मुलुकको चौथो दल बन्न सफल बन्यो । जिबीबाट उठाउनुसम्म फाइदा उठाएका रविको पार्टी धान्नेमा ग्यालेक्सीकै कर्मचारी धेरै छन् । रास्वपा ग्यालेक्सीका पूर्वपत्रकारहरूको कब्जामा छ भन्दा पनि खासै फरक नपर्ला । उनीहरूले जिबीको तलब खाएर रविको काम गर्थें । रवि गृहमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका नवराज पाण्डेले ग्यालेक्सीमा ‘जि–भेट’ नामक अन्तरवार्ता कार्यक्रम चलाउँथे । 

विगतमा कान्तिपुरको रिपोर्टर उनले न्यूज २४ मा हुँदा रविसँग राम्रो सम्बन्ध बनाए । उनलाई ग्यालेक्सीमा ल्याउने रवि नै हुन् । रविले गृहमन्त्री हुँदा आफ्नो प्रेस सल्लाहकार बनाए । यद्यपि, दोहोरो नागरिकता र राहदानी प्रकरणमा उनको पद खुस्किएपछि नवराज ग्यालेक्सीमै फर्किए । 

टिकारामले उनलाई काममा त राखे तर सो कार्यक्रम चलाउन दिएनन् । पुरै रविको सपोर्ट गर्ने भएकाले नवराजलाई सो पदमा पुनः नराखिएको हो । हाल उनी सक्रिय राजनीतिमा छन् । ग्यालेक्सीबाट रास्वपामा गएकी अर्की पात्र हुन्, विनिता कठायत । ग्यालेक्सीको प्रेस विभाग हेर्ने कर्मचारीलाई एकाएक समानुपातिक सांसद बनाइएको छ । 

ग्यालेक्सीमा ‘लालमोहर’ कार्यक्रम चलाउने रमेश प्रसाईँ पनि रविकै पार्टीको नेता बनेका छन् । जिबीलाई डुबाउन सबैभन्दा ठूलो हात भएका विपिन आचार्य रास्वपामा सह–महामन्त्री छन् । रास्वपाकी केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल ग्यालेक्सीबाटै आएकी हुन् । विपिननिकट मानिन्छिन् । अर्की केन्द्रीय सदस्य प्रतिभा रावल ग्यालेक्सीमा रविकै सहयोगी थिइन् । 

समाचार विभागमा कार्यरत प्रकाश पाठक झापाको संगठन विस्तारमा लागेका छन् । रविले ग्यालेक्सी छोडेपछि ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएका युवराज कँडेल आफैं ‘सिधा कुरा’ नामक अनलाइन चलाएर बसेका छन् । उनले ग्यालेक्सीबाट निस्किँदा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको फेसबुक पेज पनि आफैंसँग लगेको स्रोतको दाबी छ । ‘यिनीहरू बेइमान छन्, आँखा चिम्लेर विश्वास नगर भनी जिबीलाई पहिल्यै धेरैले सम्झाएका थिए । के गर्नु, मानेनन् । अहिले आफैं भागी हिँड्नुपरेको छ । जिबीको तलब खाएर रास्वपाको संगठन धानिदिए । युवराज कँडेलले कार्यक्रम छोड्दा लगेको ग्यालेक्सीको पेजमा रविसम्बन्धी सारा न्युजहरू पोष्ट भइरहेको छ’, स्रोतले भन्यो । 

कार्यक्रम चलाउने भन्ने, करोडौं घप्ला गर्ने 

अर्काको पछाडि लागेर टेलिभिजनमा लगानी गरेका जिबीले रवि र विपिनले जसो भन्थें, त्यसै गर्थें । उनलाई टेलिभिजनको विषयमा खासै ज्ञान थिएन । उनीहरूले कार्यक्रम भन्दै पैसा बटुल्दै गए, जिबीले चाहिँ बचतकर्ताले एक–एक रुपैयाँ जम्मा गरेको पैसा खन्याउँदै गए । 

रास्वपाको सह–महामन्त्रीसमेत रहेका विपिनले ग्यालेक्सीमा कार्यक्रम चलाउने भनेर जिबीबाट करोडौं रकम असुलेको कागजै छ । उनको ‘नो बडी प्रोडक्सन’ नामका कम्पनी थियो । सो कम्पनीमार्फत ग्यालेक्सीमा कार्यक्रम चलाउने प्रस्ताव जिबीलाई गरे । जिबीले यति पनि बुझेनन् कि गोर्खा मिडिया नेटवर्ककै नाममा ग्यालेक्सीमा कार्यक्रम चलाउन सकिन्छ । टेलिभिजनको आर्थिक भार कम हुन्छ भनेपछि जिबीले करोडौं रुपैयाँ दिए । तर, रविले भित्री रुपमा अर्कै खेल खेलिरहेका थिए । नभन्दै प्रोडक्सनका नाममा डालोमा पैसा उठाउने षड्यन्त्रमा उनी र विपिन सफल भए । प्रोडक्सनमार्फत केही कार्यक्रमको घोषणा भयो । 

‘को बन्छ करोडपति’ चर्चित अभिनेता राजेश हमालले चलाउँथे । ‘क्राइम पेट्रोल नेपाल’ का केही भाग प्रशारण भयो । हाँस्य कलाकार दिपकराज गिरीले चार भाग छायाङ्कन गरेपछि सो कार्यक्रम बन्द गरियो । प्रोडक्सनले कार्यक्रम उत्पादन गरेर टेलिभिजनलाई दिने सम्झौता गरेका विपिनले टिभी पर्सन, एडिटर, स्क्रिप्ट राइटर, उपकरण ग्यालेक्सीकै प्रयोग गर्थें । प्रोडक्सनमा काम गर्ने ग्यालेक्सीका कर्मचारीमा सिर्जना पोखरेल, नवराज पराजलुी, सुरज सुवेदीलगायत अन्य थुप्रै टेक्निकल पर्सनहरू छन् । सुवेदीले क्राइम पेट्रोलको लागि स्क्रिप्ट लेख्थे । यता, विपिनले सारेगम लिटिल च्याम्सको युट्युब राइट्स पनि आफ्नो प्रोडक्सनअन्तर्गत राखेका छन् । त्यसबाट भएको कमाइ अहिले पनि खाइरहेकै छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू