राजधानीसँगै जोडिएको जिल्लामा एमालेका कटाक्ष
धादिङ जिल्ला कमिटीको अध्यक्ष बनाउनुपर्ने देवप्रसाद त्रिपाठीलाई बल्लतल्ल एमालेले केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको छ । दुई महिनाअघि मात्रै त्रिपाठीको योगदान सम्झेर उक्त पदमा मनोनयन गरिएका उनी बागेश्वरी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक हुन् । पार्टी फुट्नुअघिसम्म १० भाइ समूहकै नेताका रुपमा चिनिन्थे ।
धादिङ एमालेभित्र खुलेरै दुई गुट क्रियाशील रहेको देखिन्छ । यो रोगकै रुपमा विकास भएको केही नेताको बुझाइ छ । सँगै काम गर्न नचाहने, उस्तै परे बोल्न पनि नपरोस् भन्ठान्ने र एउटाले खाएको ठाउँमा अर्को छ भने छोडेर जाने व्यवहार सामान्य देखिन थालेको छ । केन्द्रीय तहमा ओली पक्षधर भनेर चिनिए पनि जिल्लामा भने भूमि त्रिपाठी र खेम लोहनीको नामबाट दुई खेमा प्रत्यक्ष देखिन्छ ।
जिल्ला अधिवेशनमा एकथरीले बवण्डर मच्चाएपछि चुनावै नै भएको थियो । जसले गर्दा लोहनी समर्थकले हार व्यहोर्नुपर्यो । सर्वसम्मत स्थानीय तहमा करिब १० जनाजतिले लोहनी समूहबाट कमिटीहरूमा ठाउँ पाएका छन् । चुनाव भएका सबैजसो ठाउँमा लोहनी समूहलाई त्रिपाठी समूहले पाखा लगाएको अवस्था छ ।
यसैबीच, केन्द्रीय स्तरमा नेताहरूले दुवैलाई एकैठाउँमा राखेर समझदारी गराउने र मिलाउने प्रयास पनि गरेका थिए । तर, यो प्रयास पनि पानीको फोका सावित हुन पुगेको छ । त्यसो त जिल्लाका नेताहरू पनि आजित भएको बताइन्छ । सँगै बसेर कुराकानी गर्दा आफ्नो कमजोरी स्वीकार्न तयार नहुने, हामी मिलेर जान्छौं भन्ने गरिन्छ । अनि बैठक सकेर निस्कनेबित्तिकै आफूलाई लागेको भन्दा अर्थोक कुनै कुरा गर्न नैं नचाहने प्रवृत्ति छ । एमालेले सम्बन्धित जिल्लाकै केन्द्रीय सदस्यलाई जिल्ला इञ्चार्ज बनाउने नीति फेरिएपछि लोहनीको आनीबानीमा कुनै सुधार नभएको गुनासो त्रिपाठी पक्षले गर्दै आएको छ ।
त्रिपाठी पक्षको बुझाइमा महासचिव शंकर पोखरेललाई लोहनीले ‘मिसयुज’ गरेका छन् । पोखरेल र लोहनी विद्यार्थी कालदेखि नैं एकअर्काको सहयोगीका रुपमा चिनिन्छन् । भारतबाट फर्किएका बेला पोखरेललाई क्याम्पस भर्नादेखि अनेरास्ववियुको अध्यक्ष बनाउने तथा होस्टल र क्यान्टिनको व्यवस्थापन गर्ने काममा लोहनीले सहयोग गरेका थिए । त्यसैलाई भजाएर रनभुल्लमा पारेको दावी त्रिपाठी खेमाको छ । निर्वाचित जिल्ला कमिटी क्रियाशील छ, त्यसको अध्यक्षलगायत कमिटीले केन्द्रीय कार्यालयमा सर्वसम्मत रुपमा गरेको सिफारिस वास्तै नगर्ने तर लोहनीले जे टिपेर दिन्छन् त्यो कुरा चैं कार्यान्वयन हुने गरेको गुनासो छ ।
जिल्लामा तल यिनका भए पनि माथिल्लो तहमा हाम्रो छ भन्दै अर्को खेमाका सदस्यहरूलाई अत्याउने गरेको गुनासो छ । यसै मेसोमा लोहनीले नेत्र पौडेलसहित डा. रामकुमार अधिकारीलाई पनि डुबाएको बताइन्छ । भूमि त्रिपाठीसँगको रिस फेर्न डा. अधिकारीलाई उठाइएको थियो । त्यसो त खेम लोहनीसँग डा. अधिकारीको निर्वाचनमा उठ्नुअघिसम्म राम्रो सम्बन्ध पनि थिएन । अधिकारीलाई सार्वजनिक रुपमै एमाले नै होइन भन्नेसम्मको अभिव्यक्ति दिइन्थ्यो । यसै कारणले डा. अधिकारी पनि नजानिकनै गुटवाजीको सिकार हुन पुगेको बताइन्छ । यो गुटबाजी तल्लो स्तरसम्म फैलिँदा निकै ठूलो क्षति पुग्ने अवस्था छ ।
– निलकण्ठ अर्याल, नलाङ
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू