सुनिता, ऐन, महेश, गोकुल र दिपक

सुनिता, ऐन, महेश, गोकुल र दिपक

एमाले संसदीय दलका सचेतक सुनिता बराललाई पार्टीले कारबाही गर्ने आशामा बसेका नेता तथा कार्यकर्ता हिस्स बुढी खिस्स दाँत भएका छन् । उनी भानुभक्त ढकालदेखि शंकर पोखरेलसम्मसँग फूलमाला लगाएर एउटै लहरमा बसेपछि यस्तो अवस्था आइलागेको हो । त्यसो त एमालेमा ऐन महर र महेश बस्नेतजस्ता नेताहरूको कुरा के भो भनेर प्रश्न गर्ने हिम्मत पनि कसैसँग छैन ।

यस्तो बेला नेत्री बरालबारे कसले कुरा कोट्याउने ? यसबीच नेताहरूले भित्र–बाहिर धेरै थरि काण्ड मच्चाएका छन् । यीमध्ये कुनको चर्चा गर्ने भन्ने अन्योलता छ । अमेरिकाबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि राष्ट्रिय विपदको बेला पीडितहरूको उद्धार गर्न युवा संघ र अनेरास्ववियुजस्ता भ्रातृ संगठनलाई परिचालन गर्न सचिवालयको बैठकसमेत बोलाइएन तर मीनबहादुर गुरुङको जग्गा दानको विपक्षमा राय पोख्ने भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई भने २४ घण्टे बैठक बोलाएर स्पष्टिकरण सोध्ने काम भयो । पार्टी सुधार्ने भए सचेतक सुनिता बराल जस्तालाई कारवाही गर्न अध्यक्ष ओली अघि सर्नुपर्ने हो । तर, अध्यक्ष ओलीको ध्यान बेइजिङ यात्राकै तयारीमा भएकाले त्यता गैरहेको छैन । 

त्यसो त महिला काण्डमा चर्चित महेश बस्नेतलाई अध्यक्ष ओलीले बालकोट (हाल बालुवाटार)को ढोका पूरै बन्द गरेको अवस्था हैन । बस्नेत ओलीको दैलोमा देखिने गरी नगए पनि बेलाबेला झुल्किने गरेकै छन् । बरु धर्मपुत्र गोकुल बाँस्कोटाले बाहिर नदेखाए पनि महेश बस्नेत मभन्दा ओलीका नजिक भए भनी रिसराग मात्रै राखेको अवस्था छ । एकदिन संसद भवनको कोरिडरमा हिँडेको बखत ओलीसमक्ष बाँस्कोटाले मैले त्यस्तो के भूल गरेर मलाई तपाईंसमक्ष आउन नाकाबन्दी लगाउनु भो भनी प्रश्न राख्नुपरेको अवस्था छ । यसअघि नै बाँस्कोटाले पार्टीको भवन बनाउन मैले ७० करोडको डिल गरेको होइन ? के मैले आफ्नालागि मागेको हो र ? पनि भन्न भ्याएका थिए ।

नेता बाँस्कोटाको यस्तो चाला बुझेपछि राजन भट्टराई र भानुभक्त ढकाललगायत नेताले अध्यक्ष ओलीलाई तपाईंले नै हुर्काएको मान्छेलाई बेवारिसे बनाउनु भएन बोलाएर कुरा गर्नु भनि सल्लाह दिएका थिए । यो सल्लाहमा अध्यक्ष ओलीले अँ, योसँग बसेर एक्लै कुराकानी गर्न हुँदैन, बाहिर जे पायो त्यही बोल्दै हिँड्दो रै’छ । साक्षी राखेर मात्र कुराकानी गर्नुपर्छ । नभए भ्याट जोडेर कुराकानी गर्दै हिँड्ने बानी रहेछ भन्ने जवाफ फर्काएको च्यासलतिर चर्चा छ । यो कुराकानीका आधारमा सुन्नेबुझ्नेहरूले बाँस्कोटाप्रति ओलीको विश्वास फर्किनसकेको दाबी गरेका छन् । 

काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला पछिल्लो समय पार्टी संगठन सुदृढीकरण र विस्तारमा भन्दा बढी पद भजाएर कमिशन बटुल्ने ध्याउन्नमा देखिएको गुनासो छ । यसै कारण प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकार र पार्टीविरुद्ध रास्वपाका नेता तथा कार्यकर्ता र काठमाडौँका मेयर बालेन साहसहित उनका समर्थकले फैलाएको भ्रम चिर्न प्रतिरोध गर्ने र पार्टीलाई जनताको निकट लैजाने काम गर्न नसकेकोमा बेलाबखत गुनासो सुनिन्छ । उनले घरिघरी पार्टी कार्यालय च्यासल पुगेर उपमहासचिव विष्णु रिमालसँग भेट्ने र उनलाई काठमाडौं एमाले मैले धानेको छु भन्दै गफ हाँक्ने गरेको पाइन्छ । 

(साभार:जनआस्था-साप्ताहिकबाट)

टिप्पणीहरू