रविको सती जाने हो र रास्वपा ?

रविको सती जाने हो र रास्वपा ?

एमाले अहिले दुईदलीय प्रणाली स्थापना गर्न लागिपरेको छ । महासचिव शंकर पोखरेल जताततै हामी दुई ठूला पार्टी मिलेर अन्य पार्टीलाई तह लगायौं भनी हिँड्दै छन् । 

अहिले रवि लामिछानेमाथि छानबिन चलिरहेको छ । पाँच जिल्लामा उजुरी भएको कारण उनलाई सबैतिर घुमाइनेछ । कानुनअनुसार थुनामा राख्न सकिने अन्तिम दिनसम्म पनि मुद्दा अदालतमा पेश हुने छैन । अदालतले तारिख, धरौटीमा छाड्ने वा थुनामै राख्ने हो हेर्न बाँकी नै छ । उनको समर्थनमा रास्वपा पार्टीले विविध कार्यक्रम गर्दै आएको छ । जुलुसमा देखिने सहभागी पार्टीका सदस्य मात्र होइनन् । रविमाथि अन्याय भयो भन्ने केही मानिससमेत सडकमा देखिएका छन् । 

हामी विरोध गर्नेहरूले त रवि पहिलो पटक सांंसद पदमा निर्वाचित हुने छैनन्, दोस्रो पटक जनतालाई झुक्याएको प्रमाणित भएकाले हराइदिन्छन् भनेका हौं । तर, चितवनका बासिन्दाले पहिलाभन्दा बढी मत ल्याएर जिताइदिए । रविले त जित्दैन भनेपछि अरुले के जित्लान् भनेर अनुमान लगाइएन । कतिपय व्यक्तिले घण्टी चिह्नबाट चुनावमा उठिदिनुपर्‍यो भन्ने प्रस्ताव अस्वीकार गरेको कारण पछुताउनुपर्‍यो । 

रविको विगतलाई नजिकबाट देख्नेहरूमध्ये केहीलाई म पनि चिन्छु । हामीबीच कुराकानी हुन्छ । उनको आनीबानीबारे उनकै प्रस्तुतिबाट आकलन गर्न सकिन्छ । शुरुशुरुमा उनीबारे मैले पटक पटक लेख्ने बोल्ने गरेको थिएँ । एक प्रसंगमा दाइले तिमीहरू बिदेशमा बसेर रविको विरोध गरिरहेका छौ, ऊ कमसेकम नेपाल आएर केही गर्न खोज्दैछ नि भन्दा म अनुत्तरित भएको थिएँ । बेलायतमा पनि वरिपरिका मिल्ने साथीहरूले केही देखिने गरी र प्रायःले गुपचुप रूपमा रविले केही गर्न खोजेका छन्, गर्न दिनुपर्छ भन्न थालेका थिए । 

सामाजिक सञ्जालमा हामी विविध प्रकारले सक्रिय रह्यौं । उनको राजनीति यति छिटो यो गतिमा विकसित होला भनेर अड्कल काट्नेहरू त्यति धेरै थिएनन् तर छोटो समयमै स्वतन्त्र पार्टीले निकै धेरै उतारचढावको सामना गर्नुपर्‍यो । अहिले रवि आफैँ थुनामा परेपछि भने यसभित्र थप चहलपहल देखिएको छ । 

राजनीतिमा खासै नलागेकाहरू अन्यत्र बसेर जिम्मा पाएकाहरू पनि यो पार्टीमा संलग्न भएका छन् । युवा पुस्ताको सहयोग पाउनु, विदेश बस्ने धेरैको सहानुभूति अनि विशेषतः महिलाको व्यापक ससमर्थन आउनुका कारण पनि यो पार्टीले तीव्र गति लिएको हो । उनीहरू राम्रो काम गर्छु भनेर देखाउन सकेका छैनन् तर पुराना पार्टीसँगको अधिक वितृष्णाको कारण हाइहाइ पाएका हुन् भन्ने छर्लङ्ग छ । अहिलेसम्म जिम्मेवारी प्राप्त मन्त्रालयमा खास देखिने धेरै काम नगरे पनि काम बिगारेका भने हैनन् । 

दुई पार्टी मिलेर अन्य सबैको अस्तित्व नामेट गर्ने भन्ने चिन्तन हानिकारक छ । यस विषयमा कांग्रेसभन्दा पनि एमालेको सोच खतरनाक देखिन्छ । नेपालजस्तो विविधता भएको देशमा दुईदलीय व्यवस्थाको परिकल्पना गर्नु मात्र पनि घातक हुन्छ । विभिन्न वर्गको नेतृत्व दुई दलमा सीमित रहन सम्भव छैन । त्यसमा पनि बहुदलीय प्रतिस्पर्धालाई मार्गदर्शक सिद्धान्त मानेको दलले दुई दलको अस्तित्वलाई मात्र कसरी स्वीकार गर्न सक्छ ? राष्ट्रिय पार्टी बन्न थ्रेसहोल्ड बढाउने, अनि सानो समूहले पनि पार्टी विभाजन गर्न सक्ने अध्यादेश फेरि प्रस्ताव गर्ने प्रयास भइरहेको छ । यो त हिजो तिमीले गल्ती गर्‍यौ, आज मैले पनि त्यसै गर्दैछ भनेजस्तो मात्र हुन जान्छ । 

रवि भगवान हुन् उनीबाट गल्ती कमजोरी हुनै सक्दैन भन्ने, रचनात्मक सुझाव दिनेहरूलाई पनि साइबर हमला गर्ने, जथाभावी उच्छृंखल व्यवहार देखाउने नेताहरु पनि जे पायो त्यही बोली हिँड्ने हो भने पुरानाभन्दा झन् नयाँ खतरनाक हुने सम्भावना उत्तिकै छ । यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक छ । खाली मिसन ८४ मात्र भनेर पुग्दैन ।

यदि, अस्थिरताको कारण मात्र देश बन्न नसकेको हो भने कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट ल्याउन किन हिच्किचाउनु ? चुनावमा किनबेच हुने तथ्यबारे प्रधानमन्त्रीले नै भाषण गर्दै हिँडिरहेका छन् । यसलाई नियन्त्रण गर्ने हो भने कार्यकारी प्रमुखलाई जनताबाट प्रत्यक्ष छानिएर उनैले विज्ञ गैरसांसदहरूको मन्त्रिमण्डल निर्माण गर्न दिनुपर्छ । देशभरि पार्टीको लागि मात्र भोट माग्ने अनि प्राप्त मतबाट पूर्ण समानुपातिक रूपमा सांसदहरू छानियो भने अहिले देखिएको व्यापक अनियमितता एक हदसम्म रोकिनसक्छ । जहाँसम्म समानुपातिकलाई पार्टीले मनपरी प्रयोग गर्छन् भन्ने आरोप छ त्यसलाई सबैले उचित ढंगबाट प्रयोग गरे भने समस्या समाधान हुने नै छ । 

विश्वकै इतिहासमा सामान्यतया दुई ठूला दलको संयुक्त सरकार बन्ने चलन छैन । युद्ध अथवा देशमा कुनै संकट परेको बेला राष्ट्रिय सरकार भने बन्ने गरेका छन् । अहिले दुई तिहाइको सरकारको कामको गति हेर्दा एउटा कामचलाउ सरकारको भन्दा फरक देखिँदैन । 

उपसभामुखलाई हटाउन प्रयास अन्ततः गठबन्धनका केही साना घटकको असहमतिका कारण दुईतिहाइ पुग्न नसक्ने भएपछि सहकारीको पैसा अपचलन गरेको आरोपमा रवि लामिछानेमाथि पनि प्रश्न चिह्न उठ्यो । संसद लामो समयसम्म अवरुद्ध भर्‍यो । विशेष समितिले पूरा सफाइ पाएको हो भनेर प्रस्तुत हुनु रास्वपाको गल्ती थियो । मुख्य अभियोगमा कसुरदार नदेखिएर अन्य विषयमा दोष देखियो भने त्यस्तो व्यक्तिलाई पूर्णरूपमा निर्दोष हो भन्न सकिन्न । मागदाबीअनुसारको सजायँँ नभए पनि कसुरअनुसारको सजायँको फैसला न्यायाधीशले गर्न सक्ने नै हुन्छ । 

रविकै रफ्तारमा मुख्य कसूरदार जिबी राईलाई पक्राउ गर्न मिहिनेत गरेको भए उनीबाट थप यथार्थता पत्ता लगाउन सजिलो हुने थियो । 

कम्पनीको खर्च मिलेको छ कि छैन हेर्ने जिम्मा कम्पनी रजिस्ट्रार कार्यालयको पनि हो । वार्षिक हिसाब–किताब बुझाउने बेला यसबारे खोजी–नीति गरेको भए पनि हुने थियो । तर त्यसो नगर्दा यसैलाई आधार बनाएर सम्पत्ति शुद्धीकरणसम्मको मुद्दा लाग्ने भएको छ । रवि लामिछानेले सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सञ्चालन गर्न बेरोजगार भएको बेला हारगुहार मागेकाले मौका दिएको हुँ भनेर प्रधानमन्त्रीले भाषण गरेका छन् । त्यसोभए त्यत्रो ठूलो काम गर्न अनुमति दिँदा उसको कानुनी हैसियत के हो भनेर जाँच गर्नुपर्दैनथ्यो ? त्यति मात्र होइन, निर्वाचन आयोगमा प्रमाणसहित दाबी विरोध गर्दा पनि पूरा नबुझेर उम्मेदवार बन्ने अधिकार कसले दियो ? दुइटा पासपोर्ट प्रयोग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । आफूलाई सरकारमा जाने भर्‍याङ बनाउन दुईपटक किन गृहमन्त्रीको पद सुम्पेको ? यसको जवाफ कसैले दिनु पर्दैन ?

यही मौकामा स्वतन्त्र पार्टीलाई ठीक पार्ने सरकारी पार्टीहरूको सोच होला । तर, रविको मात्र हैन भनेर प्रमाणित गर्ने अभिभारा उक्त पार्टीका नेता–कार्यकर्तामा छ । १० वर्षे युद्धबाट आएको माओवादी पार्टी पनि उनीहरूकै कठपुतली भएजस्तो देखियो । पार्टी फुटेर छताछुल्ल भयो । व्यवस्था परिवर्तनमा उल्लेख्य भूमिका खेले पनि अवस्था राम्रो बनाउन सकेनन । पटक–पटक अवसर प्राप्त गर्दा पनि त्यसको उचित सदुपयोग गर्न जानेन । बागमतीमा धेरै पानी बगिसकेको छ । अहिले छुमन्तर गरेर पुनः तुरुन्त गुमेको साख बचाउन सकिन्न । यसका लागि प्रशस्त मिहिनेत गर्नुपर्ने हुन्छ । परिवर्तनको संवाहक बन्न रास्वपाले चुस्त दुरुस्त संगठन र मुख्यतः नीति तथा कार्यक्रम स्पष्ट गर्नु अनिवार्य छ । 

रविले राजनीतिमा प्रवेश गर्न अलि हतार गरेकै हुन्, सरकारमा जान आत्तिनु नहुने थियो, आफू नै गृहमन्त्री बन्न अग्रसर हुन हुन्नथ्यो । प्रतिशोधजस्तो देखिने गरी कैलाश सिरोहियालाई थुनामा लिन हुँदैन थियो । यी सबै घटना तेज गतिमा भएका छन् । उनकै विगतका कतिपय कमजोरीलाई आधार बनाएर सजायँ हुने सम्भावना छ । के उनी दोषी ठहर भए भने रास्वपा पनि विघटन हुने हो ? उनी बाँचुञ्जेल विकल्प छैन भनेर उनीपछिका नेताले भनेको सुनियो । अहिले रवि खोरमा छन् । आफ्नो नेताको आत्मबल बढाउनको निम्ति पार्टी अनि समर्थक, शुभचिन्तक लागिपर्नुलाई अन्यथा मान्न सकिन्न । तर रवि भगवान् हुन्, ऊनीबाट गल्ती कमजोरी हुनै सक्दैन भन्ने हो भने त भीरबाट खस्न लागेको गोरुलाई रामराम ।
 

टिप्पणीहरू