०८४ मा पनि भिड्लान् त देउवा ?

०८४ मा पनि भिड्लान् त देउवा ?

आम कांग्रेस र सुदूरपश्चिमका सर्वसाधारण सो पार्टीका सभापति शेरबहादुर ०८४ को चुनाव उठ्दैनन् भन्ने धारणा राख्छन् । उनको औपचारिक उमेर ७९ भए पनि वास्तविक उमेर ८२ जति भएको स्थानीको बुझाइ छ । ०८४ मा त उनी औपचारिक उमेरलाई मान्ने हो भने पनि ८३ वर्षमा पुग्नेछन् ।

तर, यसपटकको डडेल्धुुरा दौडाहाले उनी फेरि चुनाव लड्ने सम्भावना जीवितै रहेको चर्चा चल्न थालेको छ । देउवा ०७९ को चुनावपछि पहिले पटक डडेल्धुरा गएर सातै पालिकाको मुख्य ठाउँमा पुगेका छन् । 

अझ रोचक त मानिसको धेरै चहलपहल हुने उग्रतारा मन्दिरको देहीजात मेला उनले मज्जैसँग उपयोग गरे । मेलामा देउवा परिवारका महिला जान नमिल्ने धार्मिक मान्यता छ तर यो पटक आरजु राणा पनि सहभागी भइन् । मन्त्री राणाले धनगढी एयरपोर्टमा पत्रकारसँग भनिन्– मेरो उमेर पनि पुगिसक्यो, के पो होला, देउवा परिवारका महिलाले देहीजातमा जान मिल्दैन भन्ने छ तर मैले श्रीमान्लाई जान्छु भनेर आएँ । 

ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग बताएकाले पनि देउवालाई चुनाव लड्ने चाहना बढेको हुन सक्ने अनुमान एकातिर छ भने अर्कोतिर देउवापछि चुनाव लड्नेको ताँती लाग्ने भएकाले पनि त्यो व्यवस्थापन गर्न देउवा आफैँ उम्मेदवार बन्न खोजेको बताइन्छ । हुन पनि देउवापछि चुनाव लड्न श्रीमती आरजु, छोरा जयवीर, स्वकीय सचिव भानु, केन्द्रीय सदस्य नैनसिंह महर, पार्टी सभापति भीमबहादुर साउद, प्रदेशका मन्त्री भइसकेका भतिजा प्रकाशबहादुर देउवा, गोविन्दराज बोहरालगायत दाउमा छन् । 

यस्तै, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद पनि डडेल्धुराबाट लड्ने चाहना राख्छन् । कञ्चनपुर–२ मा कम्युनिष्ट मिल्दा हार्ने गरेका कारण उनी देउवापछि आफ्नो गृहजिल्ला डडेल्धुरा जान इच्छुक देखिन्छन् ।

विपक्षी दल, एमाले, माओवादी र समाजवादीले देउवाको सक्रियतालाई चुनाव लड्ने मनस्थिति हो भनेका छन् । यद्यपि, वामपन्थीबाट डा. तारा जोशीलाई उम्मेदवार बनाउन सकिने हो भने देउवा नै उठ्दा पनि नजित्ने आकलन वामपन्थी नेताहरू गर्छन् । डा. जोशीले ०७९ को चुनावमा प्रदेश सभातर्फ स्वतन्त्र उठेर जितेका हुन् । 

प्रहरीको बाक्लो उपस्थितिले देउवाको साख जोगियो 

डडेल्धुरा यात्राका क्रममा देउवालाई उनकै पालिका वडा नम्बर २ मा हुटिङ भएको छ । त्यहाँ देउवालाई अहिलेसम्म के काम गरेका छौ भनेर हुटिङ गरिएको थियो । त्यहाँ ढुंगामुढा हुन्थ्यो होला, पहिले नै सूचना पाएर सुरक्षा व्यवस्था कडा पारियो एक स्थानीयले बताए । देउवाको वडा १ नम्बर हो भने २ नम्बरमा विरोध भएको थियो । सो वडा कांग्रेसका उम्मेदवारले अत्यधिक मतले जितेको वडा हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू