सूर्यका मान्छे रूखमा छाप, माओवादीलाई चाप

सूर्यका मान्छे रूखमा छाप, माओवादीलाई चाप

२०७९ सालमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट उपाध्यक्षमा माओवादी केन्द्रका भूपेन्द्र बुढा मगर र २ नम्बर वडाध्यक्षमा जसबहादुर सिर्पाली विजयी भएका थिए । दुबै जनाको भदौ २२ गते बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएकाले उपनिर्वाचन हुन लागेको हो । 

यस पटक कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । उपाध्यक्ष पदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आधिकारिक रूपमा कांग्रेसका उम्मेदवार छन् । तर, दुर्ई दलको सहमतिअनुसार रूख चुनाव चिह्नबाट एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचनको उम्मेदवारी दर्ता भएको छ । 

दुवै दलको साझापनका लागि यसो गरिएको एमाले जिल्ला अध्यक्ष लीलामणि गौतमले बताए । कांग्रेस, एमालेकै गठबन्धन रहेको वडा नम्बर २ मा भने अध्यक्षका लागि एमालेका जीवन रोका उठ्दै छन् । सत्ता साझेदार देशको पहिलो दल कांग्रेस यी दुबै स्थानमा उम्मेदवारविहीन भएको छ । 

तीन दल, चार स्वतन्त्र

उपाध्यक्ष पदको लागि ४ जना स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको तर्फबाट केशकुमारी तुलाचन, माओवादीका नरपुरा बुढा र एकीकृत समाजवादीका सुनिता बुढा मगर उठेका छन् भने स्वतन्त्रबाट कोपिला पुन बुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र सूर्यदेवी सुनारले उम्मेदवारी दिएका छन् । 

माओवादीलाई चाप

कात्तिक २२ र २३ गते तकसेरामा बसेको माओवादी गाउँपालिका कमिटीको बैठकले वडा नम्बर १२ की ज्ञानदेवी पुनलाई उठाउने निर्णय गरेको थियो । सर्वसम्मत उपाध्यक्ष र वडा नम्बर २ मा वडाध्यक्षको उम्मेदवार टुंग्याएको उसले मनोनयन दर्ताको दिन भने उपाध्यक्षको उम्मेदवार फेरेको छ । 

जसअनुसार मनोनयन दर्ता नरपुरा बुढाको भयो । उनी स्व. उपाध्यक्ष भूपेन्द्रा बुढाकी दिदी हुन् । कांग्रेस–एमालेले बलियो गठबन्धन गरेका कारण पार्टीलाई थप चाप परेको बताईएको छ । 

२०७९ को मत परिणाम 

१४ वडा रहेको यस गाउँपालिकामा २०७९ मा अध्यक्ष तथा उपाध्यक्षसहित ११ वडा माओवादीले जितेको थियो भने २ वडा एमाले र एउटा वडा नेपाली कांग्रेसको पोल्टामा परेको थियो । माओवादीकी भूपेन्द्राले ४ हजार ५९ मत ल्याएर विजयी हुँदा कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत पाएकी थिइन् । वडा नम्बर २ मा माओवादी जसबहादुर श्रीपालीले २३४ मत पाएका थिए भने नेपाली कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत ल्याएका थिए । 

पश्चिममा पनि गठबन्धन

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ पनि कांग्रेस र एमालेबीच गठबन्धन छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालका अनुसार (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत, स्वतन्त्र वीरबहादुर बस्नेत, कांग्रेसबाट मोतीराम खत्री र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट हंशराज पुरीको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका खत्रीलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन रहेको समेत बताइएको छ । कांग्रेस वडाध्यक्ष अलबहादुर खत्रीको गत वर्ष असामयिक निधन भएपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू