पूर्वराष्ट्रपति विद्याको के हो त प्लान ?

पूर्वराष्ट्रपति विद्याको के हो त प्लान ?

एउटै कक्षा दोहोर्‍याएर नपढ्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानो घोषणा सायद धेरैले बिर्सेका छैनन् । आम मानिसले भुलेको भए पनि एमालेजनलाई पक्कै याद हुनुपर्छ ! पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा नदोहोरिने प्रतिवद्धतास्वरूप पाँच वर्षअघि सार्वजनिक मञ्चबाट ओलीले ‘सगरमाथा पटक–पटक चढिन्न’ पनि भन्नुभएको थियो । तर, अरुलाई विधानको प्रावधान लगाई घर पठाएर आफू तेस्रोचोटि अध्यक्ष खाने तयारीमा रहेका उहाँ चौथो पटक देशको प्रधानमन्त्री हुनुहुन्छ । 

नेपाली कांग्रेस जसलाई एमालेले कडा प्रतिस्पर्धी ठान्छ र अहिले उसैको सहारामा अहिले सत्तारुढ छ, त्यो पार्टीले समेत यौटै व्यक्ति दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने विधानको व्यवस्थाबमोजिम शेरबहादुर देउवाको विकल्प खोजिरहेको छ । स्थानीय तहको जनप्रतिनिधिमा पनि दुईचोटिभन्दा बढी प्रतिस्पर्धा गर्न नपाइने संवैधानिक व्यवस्था छ । तर, सिद्धान्ततः प्रतिस्पर्धाको श्रेष्ठतामा विश्वास गर्ने र आफूलाई कम्युनिष्ट आन्दोलनको मूलधार दावी गर्ने एमालेले भने ७० वर्षे उमेर हदसम्बन्धी विधानको व्यवस्था हटाएर ओलीलाई फेरि पनि अध्यक्ष बनाउन बाटो खुला गरिसकेको छ । 

मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्दान्त मान्ने एमाले सातौँ महाधिवेशनसम्म महासचिवको एकल नेतृत्वमा चल्दै आयो । आठौँ महाधिवेशनपछि बहुपदीय संरचनामा गएको सो पार्टीमा अहिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, आधा दर्जन उपाध्यक्ष, सोही संख्यामा सचिव र उपमहासचिव गरी डेढ दर्जन पदाधिकारी छन् । तथापि अध्यक्ष सर्वेसर्वा हुँदा उनीहरू निर्णय प्रक्रियामा साक्षी किनाराको फड्केबाहेक कुनै हिसाबले स्वामित्व लिने ठाउँमा छैनन् ।

अध्यक्षले लाए–अह्राएको खुरुखुरु गर्ने भूमिकामा खुम्च्याइएका उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत ‘माथिको आदेश’ पर्खनुपर्ने अवस्था छ । अध्यक्ष र महासचिवबाट पालो नपाएसम्म पार्टीका भेला, बैठक, सम्मेलनहरूमा मन्तव्य राख्न पनि पाउँदैनन् । पदाधिकारीसमेत निर्णय प्रक्रियामा यसरी दरकिनारमा पारिएका छन् भने स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । 

सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट नेतृत्वमाथि आक्रमण भैरहँदा पार्टीपंंक्ति प्रतिकारमा नउत्रिएको भन्दै पटक–पटक सचिवालय बैठकमै गुनासो पोख्ने गरिएको छ । टुँडिखेल, दरबार मार्ग, दशरथ रंगशालामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीविरुद्ध नाराबाजी हुँदा नेता–कार्यकर्ताले प्रतिवाद नगरेको गुनासोमा एमालेकै नेताहरू भन्छन्– जब निर्णय प्रक्रियामा हाम्रो कुनै भूमिका रहँदैन भने किन र केका लागि बचाऊ गर्ने !

ओलीको लोकप्रियताको ग्राफ दिनानुदिन घट्दै जाँदा पार्टी कमजोर हुँदै गरेको चिन्ता गर्ने एक नेता प्रश्न गर्छन्– पार्टी सामुहिकतामा चलेको छैन भने एक व्यक्तिले गरेको निर्णयको बचाऊ गर्दै किन हिँड्ने ? व्यक्तिको देवत्वकरण गरिनु नै यसको मूल कारण हो भन्ने उनको बुझाइ छ ।

बाहिर प्रकट नभए पनि सिंगो पार्टी अध्यक्ष ओलीको अलोकप्रियताको शिकार बन्दैछ भन्ने एमालेका एकथरी नेतामा चिन्ता देखिन्छ । त्यस्तो चिन्ता गर्नेहरू पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा फर्काएर ओलीको विकल्प खोज्नुपर्ने पक्षमा क्रमशः मुखरित हुँदैछन् ।

गत हप्ता मोरङबाट काठमाडौँ आएर विनोद ढकाललगायतका नेताले भण्डारीलाई भने– तपाईं केपी ओलीलाई सम्झाउनुस् । दोहोर्‍याएर, तेहेर्‍याएर अध्यक्ष नहुने उहाँका पुराना बाचा–कबोल स्मरण गराउनुस् । ओलीको पछिल्लो प्रधानमन्त्रीकाल थप अलोकप्रिय हुँदै गएको, झण्डै दुई तिहाइको अवस्थामा रहेको नेकपाको विभाजन रोक्न नसकेको र स्वास्थ्य अवस्थाका कारण पनि अब उहाँको नेतृत्वमा पार्टी चल्दैन भन्नेमा सहमत भए पनि भण्डारीबाट प्रष्ट जवाफ आएन । 

पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काउन सक्रिय भएर लागेका नेताहरूको प्रश्न छ– उहाँले अभिभावकत्व ग्रहण गर्दा सबै नेता एक ठाउँमा जुट्छन् र कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन्छ भने त्यो अवसरलाई किन उपयोग नगर्ने ? एमाले नेता नै नभएको पार्टी हो र, एक जना नहुँदा कमजोर हुने ?

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दृष्टान्त दिँदै भन्छन्– चीनमा माओ त्सेतुङले समेत आफू पार्टी अध्यक्ष भएका बेला राष्ट्रपतिमा लिउ साओचीलाई अघि सारेका थिए । उत्तराधिकारीको टिम बनाउँदै जाने र त्यसमध्येका उत्कृष्टलाई नेतृत्वमा लैजाने अभ्यास लामो समयदेखि त्यहाँ निरन्तर छ । 

तर, जबजलाई सिद्धान्त बनाएको एमालेमा अहिले आन्तरिक लोकतन्त्रको खडेरी लागेको छ । कार्यकर्ताले छानेको होइन, नेतृत्वले टिपेको व्यक्तिलाई नेता बनाउने सौराहा महाधिवेशनबाट शुरु भएको अभ्यास हुर्किंदै जाँदा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नसक्ने तर, आन्तरिक निर्वाचन प्रणालीको वकालत गर्ने शंकर पोखरेलहरू अध्यक्ष ओलीको रोजाईमा परिरहेका छन् ।

एक जमानामा जबजको व्याख्याता मानिएका शंकर प्रतिस्पर्धाबाट आएका होइनन् । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन हुँदै अनेरास्ववियुको अध्यक्ष र पछिल्लो पटक पार्टी महासचिवको जिम्मेवारी प्राप्त गर्दा उनलाई श्रेष्ठता हासिल गर्नुपरेन । अहिले अध्यक्ष ओलीको उत्तराधिकारी भनी प्रचारित शंकर उतिबेला पनि जबजलाई आत्मिक नेतृत्वका रूपमा व्याख्या गर्दै नेतृत्व केन्द्रीकरणको पक्षपाती थिए । तीनवर्षे महासचिवकालमा ओलीको छायाँ बन्नेबाहेक मौलिक पहिचान देखाउन नसकेबाट त्यसबेलादेखि उनमा रहेको यस्तो वैचारिक दृष्टिकोण बुझिनेगरी प्रकट भएको छ । कतिपय सन्दर्भमा प्रश्न उठ्दा जवाफ दिने गरेका छन्– ‘मैले कहाँ चलाउन पाएको छु र अध्यक्षको नेतृत्व छ, उहाँले भनेअनुसार चल्नुपर्छ ।’

आन्तरिक प्रतिस्पर्धाले नेतृत्व कमजोर बनाउने तर्क गर्दै आएका शंकरलाई अध्यक्षमा अघि सारियो भने माओद्वारा प्रस्तुत उत्तराधिकारी ह्वाको फङ्गलाई झैंं सदासर्बदा सर्लक्कै ग्रहण गर्ने स्थिति होला ? किनभने यसबीच भीम रावलको सदस्यता खारेज गरिएन भने उनी ओली र उहाँले उठाएका उम्मेदवारविरुद्ध भिड्ने पक्का छ ।

यो स्थिति बढ्दै जाँदा ओलीकै तर्फबाट विद्या अध्यक्षमा उठ्ने सम्भावना पनि रहन सक्छ । तर, भेट्न जानेहरूले भनिरहेका छन्– तपाइँ यसरी चुप लागेर बस्नु भएन । सक्रिय राजनीतिमा आउने इच्छा देखाउनुभएकी विद्या आफैँ भने चुनाव लड्ने मनस्थितिमा हुनुहुन्न । निकटहरू भन्छन्– अध्यक्ष ओलीसँग मिलेरै पार्टीमा फर्किने उहाँको पहिलो प्राथमिकता हो ।

तर, प्रश्न फेरि पनि उठिरहेको छ– विधान संशोधन गरीगरी अरुलाई पाखा लगाउने तर आफू चैं अलोकप्रिय भए पनि अध्यक्ष बन्नै पर्ने किन ? नेतृत्वमा पुग्नेबित्तिक्कै सबै कुरामा आफैं हावी हुने प्रवृत्तिले व्यक्तिगत रूपमा ओलीलाई त फाइदा पुगेको होला, तर समग्र पार्टी र कम्युनिष्ट आन्दोलन भने निरन्तर कमजोर हुँदैछ ।

दुई तिहाइको अवस्थामा रहेको पार्टी चार टुक्रामा विभाजित हुँदा राष्ट्रिय राजनीतिको निर्णायक हैसियत गुमेको छ । वैचारिक हिसाबले विपरीत ध्रुवको कांग्रेससँग मिलेर सत्तामा टिक्नुपरेको अवस्था छ । कम्युनिष्ट आन्दोलनप्रति जनविश्वास गुम्दै जाँदा बालेन र रवि लामिछानेहरू राजनीतिमा आइरहेका छन् । विडम्बना !, वैचारिक–राजनीतिक धरातलबिनै एकाएक उदाएका तिनै बालेन र रविहरूसँग देशको प्रधानमन्त्री आफैँ बादबिवादमा उत्रिनुपरेको अवस्था छ । एमालेका लागि मात्र होइन, सिंगो कम्युनिष्ट आन्दोलनमै यो राम्रो लक्षण होइन ।

 

टिप्पणीहरू