कार्वाही प्रकरण: ‘ओलीले जित्ने हो,एमालेले हार्ने हो’
एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावललगायत तीन जना नेतामाथि हुन लागेको अनुशासनको कारबाहीलाई लिएर रावल निकटस्थहरुले आक्रोश पोखेका छन् । लामो समयदेखि हुन नसकेको अछाम जिल्ला अधिवेशनलाई समेत ध्यानमा राखेर नेतृत्व अघि नबढे एमालेले थप क्षति व्यहोर्न पर्ने अछामका एमालेजनको टिप्पणी छ ।
ती नेताले भने, ‘भित्तामा पुर्याउन खोजियो भने जे निर्णय पनि गर्न सकिन्छ । कोठा थुनेर बिरालो कुटेको परिणाम नआओस् । आज हुने भनिएको कारबाहीको जगमा टेकेर नयाँ पार्टीको जन्म भयो भने अचम्म मान्नु पर्दैन ।’ उनका अनुसार रावलले चाल्न खोजेका कतिपय कदम पूर्व राष्ट्रपति विद्या भण्डारीका कारण हालसम्म रोकिएका छन् ।
‘भित्तामा पुर्याउन खोजियो भने जे निर्णय पनि गर्न सकिन्छ । कोठा थुनेर बिरालो कुटेको परिणाम नआओस् । आज हुने भनिएको कारबाहीको जगमा टेकेर नयाँ पार्टीको जन्म भयो भने अचम्म मान्नु पर्दैन ।’
पार्टी मुख्यालय निर्माणका लागि मीनबहादुर गुरुङले दान दिएको जग्गाको बारेमा आफ्ना धारणा राखेपछि रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनामाथि अनुशासनको कारबाही गर्न लागिएको बुझिएको छ । पाण्डे र तिमिल्सिनाले गत कात्तिकमा सोधिएको स्पष्टीकरणको जवाफ दिए पनि रावलले हालसम्म बुझाएका छैनन् । त्यसरी स्पष्टीकरण नबुझाउनुका पछाडि भण्डारीको ‘ग्रीन सिग्नल’ले काम गरेको बताइन्छ ।
पूर्व उपाध्यक्ष रावलको हैसियत यतिखेर संगठित सदस्य मात्रै हो । संगठित सदस्यलाई सचिवालयको बैठकले निर्णय गरेर पार्टीबाट निश्कासनसम्मको कारबाही गर्न खोजिएको सन्दर्भमा उनका शुभचिन्तकहरुले यसबाट ‘केपी बलियो हुँदैनन्’ भन्न थालेका हुन् ।
एमालेका एक जना केन्द्रीय सदस्य भन्छन्, ‘उनीहरुले नेतृत्वको निर्णयविरुद्ध बोलेको हो,पार्टीविरुद्ध होइन । तसर्थ यस्तै गतिविधि अघि बढाइयो भने केपीले जित्ने हो,एमालेले हार्ने हो । किनभने जग्गा सित्तैमा लिइएको भनेर कसैले पनि पत्याएका छैनन् । त्यस्ता कुरा समाजले पत्याएमा मात्रै कुनै पनि दल वा राज्य बलियो हुनसक्छ ।’
टिप्पणीहरू