नेतृत्वले पञ्चायती नक्कल गरेको एमाले नेताको आरोप
नेतृत्वको कदमप्रति प्रश्न उठाएवापत निलम्बनमा परेकी एमाले केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले कडा प्रतिक्रिया जनाएकी छन् । आज बसेको एमाले सचिवालय बैठकले उनलाई छ महिनाका निम्ति जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेपछि उनले धारणा राखेकी हुन् ।
उक्त निर्णयमाथि प्रारम्भिक प्रतिक्रिया दिँदै उनले ‘पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गरेको’ टिप्पणी गरेकी हुन् । तिमिल्सिनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’
आफूमाथि कारबाहीको निर्णय भैरहँदा पार्टीले तोकेको पूर्ववत जिम्मेवारी पूरा गर्न गृहजिल्ला नुवाकोटको एक कार्यक्रममा सहभागी भएको सन्दर्भ जोड्दै अगाडि भनेकी छन्, ‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेँको छु । तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ ।
मीनबहादुर गुरुङबाट जग्गादान लिएर कीर्तिपुरमा पार्टी कार्यालय भवन बनाउने निर्णयप्रति असहमति जनाउँदै तिमिल्सिनाले सार्वजनिक टिप्पणी गरेकी थिइन् । त्यसलाई पार्टी हितविपरितको अभिव्यक्ति भन्दै एमालेले उनीसँग स्पष्टिकरण सोधेको थियो ।
सचिवालय बैठकले चित्तबुझ्दो स्पष्टिकरण नदिएको भन्दै यही प्रकरणमा उनीसहित स्थायी समिति सदस्य बिन्दा पाण्डेलाई निलम्बनको कारबाही गरेको छ भने पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावलको सदस्यता खोसेको छ ।
टिप्पणीहरू