नयाँ दिल्लीबाट परराष्ट्रमन्त्री र एमाले उपमहासचिव एउटै उडानमा

नयाँ दिल्लीबाट परराष्ट्रमन्त्री र एमाले उपमहासचिव एउटै उडानमा

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा युरोप र भारतको लामो भ्रमणपछि स्वदेश फर्कनुभएको छ । उहाँ नयाँ दिल्लीबाट नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१८ मा साँझ पौने ८ बजे काठमाडौं आइपुग्नुभएको छ । 

राणा मंसिर २२ गते इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्याण्डसको हेग जानुभएको थियो । त्यतैबाट लक्जेम्बर्ग र जर्मनी पुग्नुभयो । 

जर्मनीबाट गत बुधबार नयाँ दिल्ली पुग्नुभएकी राणाले त्यहाँ आयोजित नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । काठमाडौं विश्वविद्यालयको नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिज र भारतको यग्रो फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा सहभागिता र स्वास्थ्य परीक्षणपछि उहाँ आज स्वदेश आइपुग्नुभएको हो । सरकारी स्तरबाट चार महिनाअघि जस्तो भव्य स्वागत भने यसपटक उहाँलाई जुरेको देखिएन ।

नेपाल वायुसेवाको सोही उडानबाट नेकपा एमालेका उपमहासचिव तथा भूतपूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पनि स्वदेश आगमन भएको छ । उहाँ गत शुक्रबार नयाँ दिल्ली जानुभएको हो ।

टिप्पणीहरू