गभर्नरलाई मार्ने ती ५० कल

गभर्नरलाई मार्ने ती ५० कल

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई असोज र कात्तिकमा भारतीय मोबाइल नम्बरबाट ५० भन्दा बढी पटक ज्यान मार्ने धम्कीपूर्ण फोन आएको पाइएको छ । बैंकको बालुवाटारस्थित सचिवालयमा कार्यरत केही कर्मचारीलाई गभर्नर भन्दै धम्क्याइएपछि गत दशैं र तिहारताकाको माहोल तनावपूर्ण बन्न पुगेको थियो । अपरिचित नम्बरबाट पटक–पटक फोन आएपछि गभर्नरले सचिवालयका कर्मचारीलाई जानकारी गराउँदै अर्को नम्बरबाट ‘कल ब्याक’ गर्न लगाएका थिए । सो क्रममा लरेन्स बिस्नोईको नामबाट हिन्दीमा धारा प्रवाह धम्की दिइएपछि डराउने पालो कर्मचारीहरूको थियो । 

गभर्नर कार्यालयमा तैनाथ एक जना कर्मचारीले जनआस्थालाई बताए, ‘सचिवालयका सर, म्याडमहरू त कम्ती डराउनुभएको थिएन । पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोलाई लिखित जानकारी गरायौँ । दुर्गा प्रसाईं पक्राउ परेको एकाध दिनसम्म पनि पारिबाट धम्की आइरहेको थियो ।’ पूरै हिन्दीमा धम्क्याएको रेकर्ड प्रहरीसँग छ । शुरुमा कर्मचारीले नेपालीमा बोलेपछि बिस्नोइ भनी चिनाउनेले गभर्नरलाई हिन्दी पनि बोल्न आउँदैन भन्दै ‘क्या आप हिन्दीमें बात नहीं कर सकते हो ?’ भनेर सोधेका थिए । प्रहरीसँग भएको टेलिफोन रेकर्डमा हिन्दीमा भनिएको छ, ‘क्युँ दुर्गाजीको परेशानी देता है गभर्नर ? हमारा नाम टाइगर है ! हम आपको सुट करने जा रहे है !’

गभर्नरसँगै दुर्गा प्रसाईंले सिएमसी अस्पताललगायत विभिन्न व्यवसायको नाममा ऋण दिने बैंकका सिईओ, डेपुटी र कर्जा विभागका प्रमुखसमेतलाई धम्क्याएको खुलेको छ । ती बैंकरलाई गभर्नरसँग कुरा भइसकेकाले दुर्गालाई अनावश्यक दुःख नदिन चेतावनी दिइएको थियो । धम्कीको सार थियो– ‘गभर्नरसँग कुरा भइसकेकाले तत्काल उसको लोन सेटल गरिदिनू ।’

प्रहरी स्रोतका अनुसार ती सबै धम्कीपूर्ण फोनको रेकर्ड संकलन भइसकेको छ । यता, गभर्नर अधिकारीको मोबाइल सेटमा भने ‘मिस्ड कल’ मात्रै देखिएको छ । उनको सचिवालयले अर्को नम्बरबाट कल रिप्लाइ गर्ने क्रममा ती धम्की आएका हुन् । फोनकर्ताले गभर्नर र बैंकरहरूलाई दुर्गा प्रसाईंको ऋण सेटल गरेर माफी माग्न पटक पटक चेतावनी दिएका थिए । 

प्रहरी अनुसन्धानबाट उक्त धम्कीमा दुर्गा प्रसाईंको कनेक्सन भेटिएको हो । लरेन्स भारतमा कुख्यात समूहको नाइकेका रूपमा परिचित छन् । दुई महिनाअघि सोही समूहले भारतमा पूर्वमन्त्रीको हत्या र सलमान खानलाई ज्यान मार्ने धम्की दिएको थियो । तर, प्रसाईंका पक्षमा भारतीय नम्बरबाट धम्की दिने व्यक्ति भने झापाका हरिचन्द्र फुयाँल भएको खुलेपछि उनलाई मंसिर १४ गते भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेर ल्याइएको छ । 

प्रसाईंले फुयाँललाई पाँच लाख रूपैयाँको प्रलोभनमा उक्त काममा प्रयोग गरेका थिए । झण्डै तीन दर्जन व्यक्तिलाई धम्क्याइएको फुयाँल र प्रसाईंबीचको ह्वाट्स एप कलको अडियो रेकर्डबाट पनि पुष्टि भएको प्रहरी स्रोतको दाबी छ । त्यसैले प्रसाईंलाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको छ । 

फुयाँल विगतमा माओवादी निकटस्थ थिए । आसाम ओहोरदोहोर गर्ने उनी भारतमा नवीन प्रधानको नामबाट चिनिन्थे । त्यही नामबाट भारतीय आधार कार्डसमेत बनाएको देखिन्छ । उनी यसअघि सुनसरी र मोरङतिर चेक बाउन्स मुद्दामा परेका थिए । 

टिप्पणीहरू