सिरियामा नेपाली हतियार शहीद
२५ वर्षदेखि सिरियाको सत्ता चलाउँदै आएका रुसनिकट राष्ट्रपति बसर अल असदलाई विद्रोही फौज हायात तहरिर अल साम (एचटिटएस) ले अपदस्थ गर्ने क्रममा त्यहाँ तैनाथ नेपाली शान्ति सेनाको क्याम्पबाट समेत सम्पूर्ण हतियार लुटिएको छ । यस प्रकरणमा एक राउण्ड पनि प्रतिरोधको बुलेट फायर नगरी भएभरको हतियार गुमाउने नेपाली सैनिक अधिकारीहरु कोर्टमार्शलको शिकार हुने प्रबल सम्भावना छ ।
स्रोतका अनुसार एचटिएस फौजले एक्कासी व्यारेकभित्र पसेर सेन्ट्रीलाई कब्जामा लिई भण्डारण गरी राखिएको हतियार लुटेका थिए । कुनै प्रतिरोध र मानवीय क्षतिबिना हतियार लुटिएको यस घटनाबारे अहिले विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ । यसबीच लुटिएकोमध्ये केही हतियार फिर्ता गरिएको दाबीपछि झनै संशय बढेको अवस्था छ । लुटेको नाममा केही गोली गठ्ठा बेचेको त हैन भन्ने आशंका पनि गरिँदैछ । त्यसो त शान्ति सेनाको हकमा कसैमाथि गोली प्रहार गर्नुपूर्व अनुमति लिनुपर्ने र व्यारेकभित्र रहेका अन्य फौजले हतियार नबोक्ने, कन्टेनरमा राख्ने प्रचलनका कारण विद्रोही समूहले हात पारेको पनि हुन सक्छ ।
मंसिर २२ गते साँझपख आक्रमण हुँदा सुरक्षा बेशक्याम्पमा जम्मा २५ जना नेपाली शान्ति सैनिक रहेको बताइन्छ । ठूलो संख्यामा आएका विद्रोहीले सेन्ट्रीलाई कब्जामा लिई आत्मसमर्पण गर्न लगाएको दावी गरिएको छ । यसरी हतियार लुट्ने विद्रोही समूह सिरियाको सत्ता कब्जा गर्न सफल भएपछि केही हतियार फिर्ता पाइएको दावी स्रोतको छ । सञ्चार अवरुद्ध भएकाले सो घटनाको विस्तृत विवरण भने बाहिर आइसकेको छैन ।
युद्धग्रस्त सिरियामा नेपाली सेनाका ४४८ जना तैनाथ छन् भने तिनको नेतृत्व लेफ्टिनेट कर्णेल दिनेशले गरेका छन् । विद्रोहीले सरकार सञ्चालन गर्न थालेपछि लुटिएको हतियार फिर्ता लिनका लागि वार्ता गर्ने तयारी भए पनि त्यसको सकारात्मक प्रतिक्रिया प्राप्त भैनसकेको बताइन्छ । अहिले त्यहाँ अबु मोहम्मद अल–जुलानीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । राजधानी दमास्कसबाट राष्ट्रपति बसर अल असद भागेर रुसमा शरण लिन पुगेका छन् ।
टिप्पणीहरू