पपुलिजमबाट जोगिन पत्रकारलाई ईश्वरको सुझाव
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लोकप्रियतावाद र अराजकताबाट सञ्चार जगत जोगिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन एमाले सम्वद्ध प्रेस चौतारी नेपाल र नेपाली कांग्रेसको प्रेस युनियनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो धारणा राखेका हुन् । राजनीतिलाई अराजकता र पपुलिजमबाट जोगाउन सञ्चार माध्यमले भूमिका खेल्नसक्ने पोखरेलको ठम्याई छ ।
नेपाली राजनीतिमा लोकप्रियतावाद मौलाउँदै गएको उल्लेख गर्दै उनले त्यसप्रति सबै गम्भीर हुनुपर्नेमा जोडसमेत दिएका छन् । पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरी बाहिर ल्याएर सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्नेमा उनको भनाई छ ।
'पछिल्लो समय राजनीतिमा अराजकता र पपुलिजम देखापरेको छ । यी दुई कुराले जरा फैलाउँदैछ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवै कुरालाई हामीले ख्याल गर्नुपर्ने छ', पोखरेलले भने, 'राजनीतिक पार्टीहरुका कमजोरीहरु छन्, त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्छ ।'
नेपालमा गौरवशाली इतिहास बोकेका पार्टीहरु रहेको जनाउँदै उनले अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने बताए ।
नेपालमा कम्युनिष्ट र काँग्रेस राजनीतिको मूल भूमिका निर्वाह गर्दै आएका राजनीतिक शक्ति भएकाले समाजमा उनीहरुको बहुआयामिक सम्बन्ध रहेको पोखरेलको भनाई छ । मुलुक अफ्ठ्यारोमा पर्दा यीनै दुई शक्ति मिलेर क्रान्ति पूरा गरेको उनले दाबी गरे ।
टिप्पणीहरू