काठमाडौंका एमाले कुहिराकाे काग, बालेनमाथि लाग्याे दाग
नपढ्ने लद्दू विद्यार्थी नतिजा निस्केको दिन रुन्छ तर भोलिपल्टदेखि जस्ताको तस्तै पुरानै शैलीमा उत्रिन्छ भने जस्तै काठमाडौंको एमाले पनि त्यस्तै कोटीमा देखिन थालेको टिप्पणी हुँदैछ । कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिकाअन्तर्गत १६ नम्बर वडाको चुनाव हार्दा विस्मात मान्ने एमालेले त्यसपछि भने समीक्षा पनि नगरेपछि यस्तो टिप्पणी हुन थालेको हो । एमालेले काठमाडौंमा किन हार्यो, हार्नुपर्ने कारण के–के थिए भन्ने कुराको समीक्षा गरिएको छैन । गर्न आवश्यक पनि देखेको छैन । आउँदो दिनमा जित्न के गर्नुपर्छ भन्ने योजना छैन । काठमाडौं एमाले यतिखेर कुहिरोमा हराएको जहाजजस्तै देखिएको छ ।
काठमाडौं जिल्ला कमिटीमा चल्तापुर्जा भनेर अध्यक्ष दीपक निरौला, सचिव राजेश शाक्य र उपाध्यक्षमा विश्व गनिन्थे । तर, यिनका चमकधमक पनि सबै हराएको प्रतीत हुन्छ । केन्द्रीय कमिटीमा उपमहासचिव विष्णु रिमालले निराश हुने अवस्थालाई पनि उत्साहजनक भनेर व्याख्या गरिदिएपछि त्यसैलाई सत्य मान्ने र ठान्नेको जमात देखिएको छ ।
त्यसो त काठमाडौंको हाँडीगाउँबारे एउटा उखान छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा । त्यस्तै, कहीँ नभएको मेयर काठमाडौंमा देखिएका छन् । मेयर बालेन साहले महानगर दिवसलाई भव्यता दिने क्रममा सैनिक मञ्च टुँडिखेलमा तामझामका सलामी ग्रहण गरेपछि उपस्थित दर्शकदीर्घामा बस्ने केही मान्छेले यस्तो टिप्पणी गरेका हुन् । ती टिप्पणीकर्ताले सैनिक मञ्चमा सलामी लिएपछि अब पातलो साह पनि मोटो शाह हुन्छ कि क्या हो भन्दै व्यङ्ग्यसमेत कसेको बताइन्छ । यसअघिका मेयर विद्यासुन्दर शाक्यले महानगर दिवस बसन्तपुर डबलीमा मनाउँदै आएका थिए ।
बालेनले भने यो परम्परालाई तोडेर टुँडिखेलमा मनाउन थाले । अर्कोतर्फ एमालेले दरवारमार्गमा जागरण कार्यक्रम गर्दा एक लाख जरिवाना गर्ने साहले त्यहीं रातभर कन्सर्ट गराउँदा उत्पन्न फोहरबारे भोलिपल्टै के एक्सन लिए स्पष्ट हुन पाएन । यस्ता कन्सर्टमार्फत विदेश जाने युवालाई रोक्ने वा स्वदेशमै काम गर्न प्रोत्साहन दिनुको बदला र्याप गाउन ऊर्जा मिल्ने देखिन्छ ।
बालेनले सैनिक टुँडिखेल मञ्चमा प्रदर्शन गरेको ब्रुमर पनि उनीअघिका मेयर शाक्यको पालामै भित्र्याइएको थियो । ट्राफिक र फोहोर व्यवस्थापनतर्फ पनि बालेनले उल्लेखनीय प्रगति गर्न सकेका छैनन् । फेसबुकमा अराजक स्टाटस लेख्ने र गाली गर्नेबाहेक अर्थोक नयाँ काम गर्न सकिरहेका छैनन् । साहको पालामा नयाँ साँस्कृतिक संरचना बनेका छैनन् ।
मठमन्दिर र बिहार कतै ठडिएका छैनन् । अधिकांश वडा भवन विद्यासुन्दरकै पालामा निर्माण भएका हुन् । साहले सेतो झिल्के टावर भनेको धरहरामा नैं अहिले पार्किङ स्थल बनाएर न्युरोड खाली गर्ने योजना बनाएका छन् । भद्रा घलेले अनामनगरमा सञ्चालन गरेको विद्यालय भत्काएको डेढ वर्ष बितिसक्यो तर त्यस ठाउँमा एउटा फूलको बिरुवा पनि रोपिएको छैन । सो विद्यालयमा अध्ययनरत बालवालिकाको अवस्था के छ भन्ने पनि स्पष्ट छैन । त्यसो त बालेनको डोजरले भत्काएका अधिकांश भौतिक संरचनामा प्रयोग भएका गिट्टी–बालुवा पनि उठाइएको छैन । साहको अवैतनिक सल्लाहकारका रूपमा परिचित यादवलाल कायस्थले म बालेनको होइन, कसैको पनि होइन भन्दै राजीनामा दिएका छन् । कायस्थअघि शिक्षा सल्लाहकार पनि हटेका थिए ।
टिप्पणीहरू