डिपीलाई रविको शुभकामना

डिपीलाई रविको शुभकामना

सभापति रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक तोकेको छ । आज अपरान्ह बसेको सचिवालयको आकस्मिक बैठकले उपसभापति डोलप्रसाद उर्फ डिपी अर्याललाई कावा सभापति बनाउने निर्णय गरेको हो । 

बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा बैठकमा संक्षिप्त ब्रिफिङ भएको उल्लेख छ । त्यसपछि अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय भएको जानकारी दिँदै उनले न्यायालयबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।  

प्रवक्ता झाका अनुसार सभापति लामिछानेद्वारा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोरा बैठकलाई जानकारी गराइएको थियो । यसबारे सम्बन्धित सबैमा जानकारी गराउने निर्णय भएको उनले जनाए । 

‘पार्टी सभापति रवि लामिछानेद्वारा पार्टी उपसभापति श्री डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकिएको व्यहोरा पार्टी सचिवालयलाई जानकारी गराइयो र यस सम्बन्धमा सम्बन्धित सबैमा जानकारी गराउने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ, ’पार्टी विधान २०७९(संशोधन २०८१) को धारा २५(४)(क)(९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले उहाँलाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत् केन्द्रीय समितिलाई जानकारी गराइएको छ ।’

सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने अपेक्षासहित अर्याललाई शुभकामना व्यक्त गरेको सो पत्रमा उल्लेख गरिएको छ ।

टिप्पणीहरू