कमरेडले प्रधानमन्त्री स्वयंलाई भन्न नसकेका कुरा
‘केपी ओलीलाई गर्न हुने/नहुने काम लगाउने र पार्टी ठीक ढंगले अघि बढाइरहनुभएको छ भन्दै गलत रिपोर्टिङ गर्ने विष्णु रिमालले यो जाडोमा माकल टोपी लगाएर, भेष बदलेर सार्वजनिक बसमा यात्रा गर्दै एउटा रिसर्च गरे हुने । खासमा एमालेलाई जनताले कसरी हेर्छन् र केपी ओलीको नेतृत्वबारे कस्तो धारणा बनाएका छन् भन्ने कुरा त्यसपछि प्रष्ट हुन्थ्यो ।’ स्थानीय पालिकाको उपनिर्वाचनमार्फत प्राप्त नतिजाबाट खासै नझस्किएको एमाले र त्यसले युवाहरूलाई परिचालन गर्ने नाममा तयार पारेको पछिल्लो युवा केन्द्रित कार्यक्रमबारे एमालेकै एक उच्च नेताको टिप्पणी हो, यो ।
गत हप्ता लुम्बिनी प्रदेशमा भएको पत्रकार महासंघको चुनावमा एमालेले पाएको असफलतालाई विष्णु पौडेल र शंकर पोखरेलबीच टकरावको प्रतिफलभन्दा पनि केपी ओलीको शैली र त्यसबाट सिर्जित चरम असन्तुष्टिको परिणामका रूपमा नेताहरूले लिएका छन्् । लुम्बिनी एमालेका एक प्रभावशाली नेताका अनुसार पत्रकार महासंघ कपिलवस्तु जिल्ला कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा एमालेनिकट प्रेस चौतारी र कांग्र्रेस सम्बद्ध प्रेस युनियनको साझा उम्मेदवारका रूपमा चौतारीका तर्फबाट खडा भएकी पार्वती पाण्डेको पराजयपश्चात् त्यहाँसमेत ओलीको खेदो खन्न थालिएको छ । भूमिसुधारमन्त्री बलराम अधिकारीका स्वकीय सचिवका रूपमा कार्यरत भेषराज पाण्डेकी श्रीमतीको यस असफलतालाई समेत ओलीसँग जोडेर परिभाषित गर्ने काम भइरहेको छ । उनको पक्षमा जम्मा ६० मत खस्नुपर्ने थियो ।
तर, जम्मा ३९ मतमात्र पाइन् । त्यहाँ माओवादीको तर्फबाट उठेका डिला भुसालले जित हासिल गरेको अवस्था छ । यसमा एमालेले चित्त दुखाउनै पर्ने खास कारणचाहिँ के हो भने जम्मा अध्यक्ष आफूलाई भए पुग्ने भन्दै अरु सबै महत्वपूर्ण पद युनियनलाई दिइएको थियो । युनियनका सबै र जनमोर्चाका उम्मेदवारलेसमेत जित हासिल गर्दा प्रेस चौतारीका अध्यक्षले हार्नु उनीहरूका लागि सहज बन्न सकिरहेको छैन ।
एमालेको जनमत खस्कँदै गएको स्थितिबारे एमालेका उपाध्यक्ष तथा १० भाइमध्येका एक प्रमुख पात्र युवराज ज्ञवालीले हालै भनेका छन्, ‘हाम्रा कार्यकर्ता चुपचाप खडा छन् । स्थिर छन् । पार्टीमा कुनै उत्साह छैन ।’ चुनावमा आफ्ना पार्टीकै उम्मेदवारलाई भोट हाल्नसमेत कार्यकर्ता गुल्मी नगएको तथ्य पेश गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । त्यति मात्रै नभई त्यहाँ कस्तोसम्म देखियो भने सोही ठाउँमा रहेका कार्यकर्ताले नै आफ्ना उम्मेदवारलाई उपनिर्वाचनमा भोट हालेनन् । माओवादी पपुलर मतमासमेत एमालेभन्दा अगाडि देखियो । एमाले परिणामदेखि मतसंख्या सबै दृष्टिकोणले तेस्रो तहमा झ¥यो । त्यस्तैगरी अर्का एक एमाले नेताले पार्टीको हालको अवस्थाबारे निर्मम विश्लेषण गरेका छन्, । एमाले अहिले‘रेडजेन’ अर्थात् आकाशको ताराजस्तै भएको छ । अन्तिममा निभ्नुभन्दा पहिले एकपटक पहिलेको भन्दा अझ बढी चम्किलो र ठूलो देखिन्छ । अनि सधैंको लागि झर्छ ।’
त्यसो त प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीविरुद्ध नारा–जुलुस लाग्न थालेको छ । झापाको आफ्नै निर्वाचन क्षेत्रमा विरोधको सामना गर्नुपर्यो । उता, त्रिभुवन विश्वविद्यालयमा गरेको राजनीतिक हस्तक्षेपबारे व्यापक रूपमा विरोध सार्वजनिक भइरहेको छ । आफ्नै अध्यक्षको रक्षार्थ एमालेपंक्ति उभिएको छैन । विगतको ‘आई लभ यु केपी बा !’ अब सधैँका लागि इतिहास बनेको छ । ओलीको आफ्नै सचिवालयका केही व्यक्ति र शंकर पोखरेलबाहेक उनको पक्षमा वकालत गर्ने नेता देखिएका छैनन् । केपी ओलीको योजना कतिसम्म असफल बन्दैछ भने उनले एमाले जीवितै छ भन्ने देखाउन आयोजना गरेको काठमाडौँको सार्वजनिक सभामा एक लाख कार्यकर्ता उतार्ने घोषणा र त्यसका लागि न्वारनदेखिको बल लगाएर प्रयत्न गर्दासमेत देशभरबाट जम्मा ७ हजारभन्दा बढी मानिसको उपस्थिति हुन सकेन ।
त्यसमाथि पनि विडम्बनापूर्ण अवस्था त के देखियो भने जब केपी ओली बोल्न थाले त्यसबेला सहभागीहरु सभा छोडेर बाटो लागे । यो सबै कुरा स्वीकार गर्दै एमाले नेताहरू भन्छन्, ‘उहाँले आफूसँगै पार्टीलाई पनि सक्ने हुनुभयो । रसातलमै पु¥याएर मात्रै छोड्ने लक्षण देखियो ।’ नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ओलीले नियुक्त गरेका लुम्बिनीकै नयाँ अध्यक्षसमेत नामुद दलाल दीपक भट्टबाट कुस्त रकम लिएर नियुक्त भएका हुन् भन्ने एमाले नेताहरूको नै टिप्पणी सार्वजनिक हुन थालेको छ ।
केपी ओलीले चीनबाट फर्केपछि ‘अब डेढ वर्षमा देउवाका लागि सत्ता छोड्छु र त्यसपछि हुने चुनावमा जसले जित्छ त्यसले सरकार बनाउँछ ।’ भन्दै लाचारीपन देखाएपछि भने नेताहरू निकै निराश बनेका छन् । उनीहरू भन्दैछन्, ‘हरदम बाघजस्तो गर्जने र हामी यसरी जितेर एक्लै सत्ता चलाउने हो भन्दै नयाँ नयाँ योजना सुनाउने केपी ओलीमा नै यस्तो नैराश्यता कसरी र किन आयो ?’ उनीहरू आफै जवाफ दिन्छन्, ‘उहाँले नै यो पार्टी सकेको हो । विगतमा पार्टीभित्रै अन्याय अत्याचार गरेर फुटको अवस्थासम्म पुर्याउने, दुर्गा प्रसाई जस्तालाई केन्द्रीय सदस्य बनाएर कर्मठ र लगनशील कार्यकर्ताको चित्त दुखाउने अनि रवि लामिछाने पुरापुर निर्दोष छन् भन्दै अन्तिम दिनसम्म संसदमा उनको पक्षमा वकालत गर्दै जोगाउन प्रयत्न गर्ने कामले गर्दा नै हो, पार्टी यो स्थितिमा पुगेको ।’
टिप्पणीहरू