सशस्त्रमा कुरो एकातिर, चुरो अर्कोतिर

सशस्त्रमा कुरो एकातिर, चुरो अर्कोतिर

स्वार्थ वरिष्ठ हाकिमको तर राहत हुन्छ भन्दै हल्ला पिटिएको छ जवानको । मन्त्रिपरिषद्काे विधेयक समितिले बाहिर एउटा भित्री कथा अर्कै बोकेको प्रावधान राखेर सशस्त्र प्रहरी नियमावली संशोधन गर्न लागेपछि यस्तो अवस्था देखिएको हो । नेपाली मिडियामा संशोधित ऐनमा १६ वर्षको सेवा अवधिपश्चात् पेन्सन जान पाउने प्रावधान रहेको हल्ला मज्जाले पिटिए पनि मुख्य खेलो भनेको आइजिपी, एआइजी, डिआइजी र एसएसपीको पदावधिसँग सम्वन्धित रहेको बताइन्छ ।

शुरुमा लोकसेवाका अध्यक्ष वा निजले तोकेको सदस्यको अध्यक्षतामा आइजिपी सिफारिस गर्न समिति बनाउने भनिएको थियो । अहिलेको संशोधनका लागि प्रस्तावित बुँदाबाट यो प्रावधानलाई हटाइएको छ । यो प्रावधान हटाउन खोज्नेमा तीन जना एआइजी वंशी दाहाल, सिपी गौतम र नारायणदत्त पौडेलको भूमिका रहेको बताइन्छ । दाहालको लबिङ भनेको आइजीको पदावधि तीन वर्ष बनाउने र जेठपछि यो ऐनलाई कार्यान्वयनमा लैजाने हो । जेठपछि ऐन ल्याउँदा नारायणदत्त र सिपी तीन वर्षे लागेर रिटायर्ड भई दाहाल आइजीको लहरमा एक्ला बन्छन् । 

तीनवर्षे पदावधि नै कायम राख्ने हो भने ऐन तत्कालै ल्याउनुपर्नेमा दुई जना रहेका छन् । पौडेल तत्कालै लागू भए सेवा अवधि समाप्त नहुँदै आइजी हुनेछन् भने तीस वर्षे हट्ने बित्तिक्कै गौतमको पदावधि लम्बिन्छ । यो माथापच्चीको उचित व्यवस्थापन भएन भने हुनेवाला डिआइजीहरूमा खतरै किसिमको प्रतिस्पर्धा हुने अवस्था छ । अहिले डिआइजीहरु गणेश ठाडा, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ र कमल गिरीहरूको एउटा समूह अनि सिसं १ मा भर्ना भएका सुरेश श्रेष्ठ र अञ्जना पोखरेलहरूको समूहबीच दह्रो प्रतिस्पर्धा छ । आउँदो पुस २७ गते अघिल्ला चार भाइको चार वर्षे सेवाअवधि पुग्दैछ । यसपछि एक वर्ष म्याद थपको प्रक्रिया अघि बढेको छ । तर म्याद थप्न हुन्न भन्नेमा सुरेश, अञ्जनी, दिपेन्द्र शाह, पुरुषोत्तम थापा, दिपक अधिकारी, कृष्ण ढकाल र मनिस थापालगायत छन् । एउटाको म्याद थपिए अर्को रिटायर्ड हुने, नथपे अर्को घर जाने परिस्थिति छ ।

डिआइजी अभि खत्री र दुर्गा भट्टराईले भदौमा अवकाश पाएपछि रिक्त पद पूर्ति हुन सकेको छैन । बढुवाको सूचीमा कृष्ण ढकाल र मनिस थापासहित सिसं २ का दिपेन्द्र कुँवर, विष्णु भट्ट र दिग्विजय सुवेदी छन् । दिपेन्द्र कुँवर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानुको बहिनीज्वाइँ नाता पर्छन् । यसैकारण उनले आफ्नो अुनुकूलको परिस्थिति बनाउने दाउमा बढुवा रोकेको बताइन्छ । ढकाल हलचोकस्थित प्रधान कार्यालयमा भए पनि निरीक्षण र पिटीमा सहभागी हुन गएका छैनन् । एआइजीको नेतृत्वमा कुनै समिति गठन भए बस्न मान्दैनन् र राखे पनि बैठकमा भाग लिनै जाँदैनन् । 

मनीष थापा भने एक नम्बर बाहिनी इटहरीको पकलीमा कार्यरत छन् । खाएपछि दुई बोतल चाहिन्छ उनलाई । यी दुवैले पाँच पटकमा स्टाफ कलेज पास गरेका हुन् । सशस्त्रमा अधिकृतले ३ पटक मात्र यस्तो परीक्षामा सामेल हुन पाउँछन् । यी दुवै भने तत्कालीन एआइजीको पुष्पराम केसीको जोडबलका कारण पाँचाैँ पटकमा पास भएका हुन् । 

यसबीच एसपी दर्शन गिरीले माओवादी केन्द्रको नाम बेचेर धनुषामा बारम्बार काल देखाउँदै आएका छन् । तेस्रोपल्ट धनुषामा बस्दा तस्करीको बात लागेर भर्खरै तानिएका छन् । यसअघि नरेन्द्र सेनले यसैगरी माओवादीको नाम बेचेर अकूत लुँड्याएको जगजाहेर छ । गिरीलाई तान्ने सीमा विभागको नेतृत्व एआइजी सिपी गौतमले गरेका छन् । उनको स्वास्थ्यमा प्रतिकूलता देखिएकाले विभागीय कारबाहीको टुंगो लागिनसकेको बताइन्छ । गिरीसँगै केही डिएसपी र इन्स्पेक्टर पनि तानिएका छन् ।

 

टिप्पणीहरू