भ्रमण वर्षको उत्साहले अर्को उत्सव मनाउँदै भरतपुर

भ्रमण वर्षको उत्साहले अर्को उत्सव मनाउँदै भरतपुर

कोरोना कहरको असर अनि आर्थिक मन्दीको अवस्थामा गत वर्ष भरतपुर महानगरपालिकाले एउटा भव्य कार्यक्रम आयोजना गर्यो । थलिएको पर्यटन क्षेत्रलाई उकास्दै आर्थिक उन्नति गर्न सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउने कार्यक्रमको भरतपुर महानगरपालिकाले नेतृत्व गरेको हो ।
 
भरतपुर भ्रमण वर्ष भनिएपनि राष्ट्रियस्तरकै कार्यक्रमको रुपमा मुलुकका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री एवम् मन्त्रीहरु, प्रदेश प्रमुखहरु, मुख्यमन्त्री, मन्त्री एवम् संघ तथा प्रदेशका सांसदहरु, स्थानीय सरकारका प्रमुखलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा हजारौं जनसहभागिताका बीच नारायणगढको नारायणी नदी किनारमा भ्रमण वर्षको भव्य उद्घाटन भएको थियो । 

मेयर रेनु दाहालको नेतृत्वमा द्रुत गतिमा भइरहेको विकासको विपक्षी दलका नेताहरुले समेत खुलेर प्रशंसा गर्ने गरेका छन् । ‘भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै एउटा सन्देशमात्र दिएको छैन, नेतृत्व नै गरिरहेको छ । केही हुँदैन, केही गर्न सकिँदैन भन्ने निराश र नकारात्मक भाष्यलाई सच्याएर आँट्यो भने हुनसक्छ भन्ने बलियो सन्देश पनि देशभर दिएको छ’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसो भनिरहँदा एकजना पूर्वप्रधानमन्त्री भन्दै थिए, ‘तपाईं (रेनु दाहाल) पुष्पकमल दाहालको मात्र छोरी होइन, नेपालकै छोरी हो ।’ 

भ्रमण वर्षकै प्रसंगमा, सन् २०२४ सकिन केही दिन मात्रै बाँकी छ । तर, अब भरतपुर भ्रमण वर्षको समापन होइन, वार्षिकोत्सव गर्न लागिएको छ । यसबीच यहाँका व्यवसायी र आम नागरिकमा देखिएको उत्साह, प्राप्त उपलब्धि र सफलताका कारण महानगर यो निर्णयमा पुगेको हो । भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव एवम् राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ का सन्दर्भमा हिजो आयोजित पत्रकार भेटघाटमा महानगर प्रमुख रेनु दाहालले ‘भ्रमण वर्षको अन्त होइन निरन्तरता रहने’ बताइन् । 

‘एक वर्षका लागि मात्र नहोस्, निरन्तर रहिरहोस् । अब हरेक वर्ष उत्सव मनाउनेछौं’, उनले भनिन्, ‘समुद्घाटन नारायणी किनारमा गर्यौँ, वार्षिकोत्सव मेघौलीमा गरिँदैछ, यस्तै पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवद्र्धनका लागि अर्काे वार्षिकोत्सव अन्त कतै गरिनेछ ।’ 

भरतपुर भ्रमण वर्षलाई एउटा इतिहास रचिसकेको कार्यक्रमको रुपमा उल्लेख गर्दै उपप्रमुख चित्रसेन अधिकारीले पनि अब यसको समापन नभई दोस्रो संस्करण सुरु हुने अर्थात् निरन्तरता दिइनै रहने बताए । 

भ्रमण वर्ष आफूहरुको व्यवसायमा मल्हम बनेर आएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टको प्रतिक्रिया छ । भ्रमण वर्षको सुरुवात् नभएको भए आर्थिक क्रियाकलाप यत्तिको नहुने जनाउँदै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ पनि भन्छन्, ‘हामी निजी क्षेत्र एकदम उत्साहित छौं ।’

सन् २०२४ को अन्तिम घडीमा राष्ट्रिय रैथाने खाना महोत्सवसहित भ्रमण वर्षको वार्षिकोत्सव कार्यक्रम गर्न लागेको स्थान मेघौली भरतपुर सदरमुकामदेखि २५ किमिको दूरीमा छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा विभिन्न सामुदायिक वन अनि नारायणी र राप्ती जस्ता दुई ठूला नदीले घेरिएको मेघौली प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिएको एउटा टप्पुको रुपमा रहेको स्थानीय मायाराम चौधरी बताउँछन् । 

यहाँ पाटेबाघ, गैंडाजस्ता वन्यजन्तु एवम् विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै थारु, कुमाल, दराई लगायतका जातजातिको भेषभूषा, भाषा, संस्कृति र रहनसहनको पनि प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । मेघौलीमा पर्यटन विकासको सम्भावना प्रचुर मात्रामा रहेकोले यसलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चिनाउन भ्रमण वर्षलाई लक्षित गरेर रैथाने खाना महोत्सव आयोजना गरिएको महोत्सवका संयोजकसमेत रहेका चौधरीले बताए । 

महोत्सव पौष १२ देखि १६ गतेसम्म आयोजना हुँदैछ, जसमा ५० वटा स्टलहरु र १० वटा विभिन्न जातजातिका परम्परागत शैलीका घरहरु पनि रहनेछन् । त्यस्तै, स्थानीय जातजातिका खानाहरु घाेंगी, चिचर, माछा, हाँस र कुखुराका परिकार स्थानीय स्वादमा तयार पारेर पस्किइनेछ भने मकैको च्याँख्ला, बटुक भन्ने रोटी, केराको अचार, अर्नी अनि कालो सुंगुरको मासुको पकवान पनि रहने कुमाल समाजका केन्द्रीय अध्यक्ष विशाल कुमालले बताए । 

‘त्यसको साथमा खान घरमै पारेको रक्सी रहनेछ’ उनले भने, ‘हामी बियर र ह्वीस्कीलाई प्रोत्साहन गर्दैनौं ।’ घाेंगी र चिचरलाई आगोमा पोलेर ख्वाइने पनि उनले बताए । यस महोत्सवले स्थानीय परिकार र सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई थप प्रेरित गर्ने लक्ष्य लिएको महानगर कार्यालयले बताएको छ ।

थारु सांस्कृतिक नृत्य, कुमाल सांस्कृतिक नृत्य महोत्सव अवधिभर हुनेछ । साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको पनि हरेक दिन प्रस्तुति रहनेछ । मानव सहभागी ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको सात प्रदेश झल्किने नेपालको नक्सा पनि विशेष आकर्षण रहने छ । महोत्सवको अन्तिम दिन पौष १६ गते भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव कार्यक्रम गर्न लागिएको हो । 

भ्रमण वर्षले भरतपुर महानगरपालिकाका पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन भएको, यसले आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको, पर्यटकको बसाइ अवधि एवम् आर्थिक क्रियाकलापहरु वृद्धि भएको महानगरपालिकाले बताएको छ । 

‘आन्तरिक करिब १० लाख र बाह्य करिब दुई लाख पर्यटक यो अभियानको क्रममा भरतपुरमा भित्रिएको प्रारम्भिक तथ्यांक छ’, महानगरपालिका कार्यालय भन्छ, ‘भ्रमण वर्षको आयोजना भएपछि गैरआवासीय नेपाली संघदेखि काठमाडौंका पाँचतारे होटलहरुबाट महानगरको पर्यटन क्षेत्रमा लगानी वृद्धि भएको छ । स्थानीय जनतामा प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदाहरुको संरक्षण र प्रवर्धनबारे जनचेतना अभिवृद्धि भएको छ । होटल तथा रेष्टुरेन्टहरुमा गुणस्तरीय सेवामा वृद्धि भएको छ । दिगो पर्यटन विकासका पूर्वाधारहरु थपिएको छ ।’  

भरतपुर महानगरपालिका, पर्यटन बोर्ड, निजी क्षेत्र तथा अन्य संघ–संस्था बीच पर्यटन प्रवर्धन गर्ने सहकार्य सुरुवात् भएको महानगरले जनायो । भ्रमण वर्षमा प्रस्तावित नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको जंगल सफारी मार्ट नेपाल पर्यटन बोर्डको सहकार्यमा यसैवर्ष आयोजना गरिने पनि महानगरपालिकाले पनि जानकारी गराएको छ ।

 

टिप्पणीहरू