रवि, जिबीको ग्यालेक्सी टिभीमा हात हाले अदालत र बालेनले

रवि, जिबीको ग्यालेक्सी टिभीमा हात हाले अदालत र बालेनले

जिबी राई र रवि लामिछाने सहकारी काण्डमा मुछिनुअगावै अलपत्र परेको गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सन्चालित ग्यालेक्सी फोर के टेलिभिजन मुख्यालयमा श्रम अदालतको पुर्जी टाँसिएको छ । टिभीमा कार्यरत श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको सम्बन्धी मुद्दामा विपक्षीले म्याद तामेली नबुझेपछि काठमाडौँ महानगरपालिका-५ भीमसेनमार्ग,हाँडीगाउँस्थित कार्यालयमा सूचना टाँसिएको हो । 

बासु खड्कासमेत ८७ र शिखा श्रेष्ठसहित १३ जना 'पारिश्रमिक उपचार खर्च तथा सा.सु. कोषको रकम दिलाई पाउँ' भनेर श्रम अदालतमा पुगेका थिए । सो मुद्दामा छलफलका लागि बोलाउँदा प्रतिवादी गोर्खा मिडिया नेटवर्क प्रालि अनुपस्थित रहेपछि मङ्सिर २१ गते सूचना टाँस गरिएको काठमाडौँ महानगरपालिका वडा नम्बर ५ कार्यालयले जनाएको छ । 

निवेदकको मागदावी सम्बन्धमा दुवै पक्षबीच छलफल गराउने अभ्यासमुताविक श्रम कार्यालयले ग्यालेक्सीलाई पटक-पटक ताकेता गरेको थियो । कार्यालयले अन्तिम पटक मङ्सिर १८ गते पत्र काटेर २६ गते छलफलमा बोलाएको थियो । 

'तहाँ प्रतिष्ठानमा काम गर्ने तपसिलका श्रमिक/कर्मचारीहरुले दावीको समेत विवरण खुलाई यस कार्यालयमा दिएको निवेदनको सम्बन्धमा च. नं.  ८०० र ८१० मिति २०८१ /-७ / ०८ को पत्रबाट तहाँ प्रतिष्ठानलाई छलफलको लागि बोलाएकोमा प्रतिष्ठानको तर्फबाट उपस्थिति नभएकाले पुन: यो पत्र लेखिंदैछ', मङ्सिर १८ को पत्रमा उल्लेख छ ।

उक्त पत्र सम्बन्धितले बुझ्न माने बुझाई दिनुहुन र यदि बुझ्न नमाने नियमानुसार निजको घर दैलोमा पत्र टाँस गरी सोको भर्पाइ/मुचुल्का पठाई सहयोग गरिनुहुन अनुरोध छ ।' 

सोही दिन काठमाडौँ महानगरपालिका-५ लाई पत्र लेखेर श्रम कार्यालयले पत्र तामेल गरिदिन भनेको थियो । 'उपरोक्त विषयमा तहाँ वडा कार्यालय क्षेत्रमा व्यवसाय/बसोबास गर्ने देहायको व्यक्ति/कार्यालयको नाममा लेखिएको च. नं. १०६७ को खामबन्दी पत्र यसैसाथ संलग्न राखी पठाइएको छ', श्रम कार्यालयको पत्रमा भनिएको छ,'उक्त पत्र सम्बन्धितले बुझ्न माने बुझाई दिनुहुन र यदि बुझ्न नमाने नियमानुसार निजको घर दैलोमा पत्र टाँस गरी सोको भर्पाइ/मुचुल्का पठाई सहयोग गरिनुहुन अनुरोध छ ।'  

रविको 'लोकप्रियता' र जिबीको धन प्रयोग गरेर तामझामका साथ यो टेलिभिजन सन्चालनमा ल्याइएको थियो । तर,रवि वीचैमा राजनीतिमा हाम्फालेपछि सँस्था टाट पल्टिंदा भव्य रुपमा शुरु गरिएको टेलिभिजनको प्रशारणले निरन्तरता पाउन सकेन । जिबीले देशभर सहकारीको सञ्जाल खडा गरेर बचतकर्ताको करोडौँ रकम खन्याउँदा पनि टिभी चलाउन नसकेपछि २०८० पुस १ गतेदेखि पूर्णत: बन्द छ । 

कार्यालयमा गत वैशाखदेखि बिजुलीको लाइनसमेत काटिएकाले अहिले 'भूत बंगला' जस्तै बनेको छ । बत्तिको लाइन काटिएपछि त्यसबेलासम्म कार्यालयमा हाजिर गरिरहेका केही कर्मचारीले शान्ति सुरक्षा माग गर्दै सिडिओ कार्यालयमा निवेदनसमेत दिएका थिए ।

रवि-जिबीको ड्रिम प्रोजेक्ट भनिएको ग्यालेक्सी यसरी ध्वस्त हुँदा अध्यक्ष जिबी सहकारी ठगी प्रकरणमा बेपत्ता छन् भने प्रवन्ध निर्देशक रविविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।

 

टिप्पणीहरू