पारपाचुके महिला बेरोजगार, श्रीमान् बितेकाहरु निस्क्रिय
मुलुकमा एकल महिलाको संख्या बढ्दै गएको छ । पारपाचुके गरेका, विधवा र अविवाहित महिलाको अवस्थाबारे विभिन्न राष्ट्रिय जनगणना २०७८ मा केही संकेत गरेको पाइन्छ ।
बागमती प्रदेशका एकल महिलाको मात्रै अवस्थालाई हेर्दा पनि उनीहरुको सामाजिक तथा आर्थिक अवस्था निकै असहजपूर्ण देखिन्छ । काभ्रेपलाञ्चोक जिल्लाका एक लाख ६० हजार ५६४ महिलामध्ये १३ हजार ५२ जना विधवा छन् । उक्त संख्या प्रतिशतका हिसाबले कुल संख्याको ८.१ प्रतिशत हुन आउँछ । त्यस्तै १५ हजार ८५३ अर्थात ९.९ प्रतिशत महिला विभिन्न किसिमका एकल छन् । विधवाभन्दा अन्य एकल महिलाको संख्या धेरै पाइन्छ ।
बागमती प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै विधवा महिला नुवाकोटमा छन् । नुवाकोटमा ८.२ प्रतिशत, काभ्रे र रामेछापमा ८.१ प्रतिशत छ भने सबैभन्दा कम काठमाडौमा ५.२ प्रतिशत रहेको जनगणनामा उल्लेख छ । त्यसैगरी विधवा बाहेकका एकल महिला सबैभन्दा धेरै दोलखामा १०.३, रामेछापमा १०.२ र सिन्धुपाल्चोकमा ९.९ प्रतिशत छन् । त्यस्ता महिला सबैभन्दा कम सिन्धुलीमा ७.३ प्रतिशत पाइएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिकामध्ये सबैभन्दा धेरै विधवा महिला तेमाल गाउँपालिकामा छन् । तेमाल गाउँपालिकामा सात हजार ७०३ जना महिलामध्ये ६८३ जना महिला विधवा छन् । प्रतिशतका हिसाबले उक्त संख्या १२.५२ प्रतिशत पाइयो भने एकल महिलाको संख्या तेमालमा ८१५ अर्थात १०.५८ प्रतिशत रहेको उल्लेख छ ।
सबैभन्दा कम महाभारत गाउँपालिकामा छ हजार ६९३ महिलामध्ये ३२४ जना विधवा अर्थात् ४.८४ प्रतिशत र एकल महिला ३७० अर्थात् ५.५३ प्रतिशत छन् ।
जनगणना २०७८ मा मुलुकभर नौ लाख ९७ हजार ६६२ जना एकल महिला रहेको उल्लेख छ । एकल महिलाको आर्थिक अवस्थालाई हेर्दा पारपाचुके गरेकामध्ये ५३.६५ महिला रोजगार देखिन्छन् । तर पारपाचुके गरेका ४७ प्रतिशत महिला बेरोजगार छन् ।
२१.३५ प्रतिशत विधवा महिला सामाजिक हिसाबले निस्क्रिय छन् । ५२.५५ विधवा महिला आर्थिक रुपले निष्क्रिय र आर्थिक क्रियाकलाप नखुलेका विधवा महिला ०.३५ रहेको पाइन्छ । पारपाचुके गरेका र भौतिक रुपमा छुट्टिएका तथा ३५ वर्षभन्दा माथिका अविवाहित महिलाहरू पनि धेरै निस्क्रिय देखिन्छन् ।
–मोतीराम तिमल्सिना
टिप्पणीहरू