बेलायतमा नेपालीका घर फोड्न थालिए
बेलायतमा पछिल्लो समय सुनका गरगहना चोरीको घटना अत्यधिक बढेको छ । गरगहना चोरीको शिकार बन्नेमध्ये एशियालीमूलका भारतीय र नेपाली उल्लेख्य संख्यामा रहेको तथ्यांकले देखाएको छ ।
विशेषगरी, नेपाली तथा एशियालीमूलका आप्रवासी बसोबास गर्ने ठाउँमा सुनका गरगहना बढी हुने हुँदा यी क्षेत्रमा चोरीका घटना अत्यधिक बढ्ने गरेको बेलायत प्रहरीले जनाएको छ । सन् २०१९ मा सार्वजनिक एक तथ्यांकअनुसार सन् २०१३ देखि सन् २०१८ सम्म पाँच वर्षको अवधिमा मात्र बेलायतमा १४ करोड पाउण्डको सुनका गहना चोरी भएको थियो ।
जसमा सबैभन्दा बढी ग्रेटर लण्डनमा ११ करोडभन्दा बढी र म्यानचेष्टरमा ९६ लाखको गहना चोरी भएको थियो । सो अवधिमा एशियनको २८ हजार चोरीका घटना भएका थिए । नेपालीका घरबाट सुनका गहना लुटिएका समाचार वर्षौंदेखि सुनिए पनि यसप्रति कसैले सावधानी अपनाएको देखिन्न । विभिन्न चाडबाड र सामाजिक सञ्जालमा बढ्दो शो अफका कारण लुटेरालाई चोर्न थप उर्जा मिलेको छ । नेपालीको बाक्लो वस्ती भएका स्थान अल्डरसट, फार्नबरो, प्लमस्टेड, रेडिङ, हेज, हन्स्लो, फेल्थमलगायत क्षेत्रमा नेपालीका घरमा चोरी हुने गरेको छ ।
यस्तो घटनामा अप्रत्यक्षरूपमा नेपालीको पनि संलग्नता रहने गरेको अनुमान छ, यद्यपि कुनै ठोस प्रमाण भने फेला परेको छैन । चोरीका घटना प्राय दिउँसो र साँझको समयमा बढी हुने पाइएको छ । गत महिना नोभेम्बरमा मात्रै वेष्ट लण्डनको हेज, वेष्ट ड्रायटन, स्टानवेललगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका नेपालीको घरमा चोरीका घटना भएका थिए । स्टानवेलमा घरधनी नेपाल गएको मौका पारी चोरी भएको थियो भने हेजमा भने घरपरिवारका सदस्य सिटिंग रुममा बसिरहेको अवस्थामै चोरिएको थियो ।
उनीहरूले आफ्नै परिवारका सदस्य होला भन्ने अनुमानले बेवास्ता गर्दा लुटेराहरू चोरी गर्न सफल भएका थिए । लुटेराहरूले धेरै पूर्वतयारी गरेर मात्र लुट्न आउने र मेटल डिटेक्टरको प्रयोग गरेर सुन तथा सुनका गहना तथा नगद मात्र लिएर जाने गर्छन् । चोरी भएका गरगहनाहरू भेट्ने सम्भावना अत्यन्त कम हुने गरेको पीडितहरू बताउँछन् । केही वर्षअगाडि फेल्थम निवासी कृष्ण आचार्यको घरमा दिनदहाडै लुटेराहरूले पछाडिको ढोका फोरेर करिब ४० तोला सुन र नगद लिई भागेका थिए । सिसिटिभीमा प्रष्ट रूपमा देखिएको उक्त घटनाको फुटेजसहित प्रहरीलाई बुझाउँदा पनि फेला नपरेको आचार्यको गुनासो छ ।
दुई वर्षअघि हिथ्रो एअरपोर्ट नजिक अमृत गुरुङको घरबाट करिब दुईसय तोला सुनका गरगहना चोरी भएको थियो । लुटेराहरूले घरमा बसिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर १० देखि १५ मीनेटभित्रै सम्पूर्ण गरगहना तथा नगद लुटी भागेका थिए ।
तसर्थ हराएका गरगहना फिर्ता हुने सम्भावना न्यून रहेको हुँदा घरमा गरिएको कन्टेन्ट इन्स्योरेन्सको आधारमा क्षतिपूर्ति पाइने भएकाले रकम कम भएमा क्षतिपूर्ति पनि कम हुन सक्छ । यसबीच, कतिपय भारतीय महिलाले त बेलायतभन्दा उतै सुरक्षित भन्दै गरगहना भारतमै लगेर राख्ने गरेको बताएका छन् । डोरसेट पुलिस, ह्याम्पशायर र आइल अफ वाइट कन्स्टेबुलरी, सरे पुलिस, ससेक्स पुलिस, थेम्स भ्याली पुलिस र विल्टसायर पुलिसलाई एशियालीको घरमा हुने सुन चोरीको बारेमा जानकारी गराइएको बुझिएको छ ।
टिप्पणीहरू