कानुन बनाउँदा माफियातन्त्र हावी भएको भन्दै ज्ञानेन्द्रको ‘नोट अफ डिसेन्ट’
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिबाट पारित सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
समितिका सभापति सन्तोष चालिसेले एकलौटी ढंगले विधेयक पारित गरेको भन्दै उनले फरक मत दर्ता गराएका हुन् । समितिको आज बसेको बैठकले विधेयक सर्वसम्मतले पारित गरेको छ ।
यद्यपि, विधेयकमा ‘सामान्य त्रुटि’ भन्ने शब्द झिक्नुपर्ने माग गर्दागर्दै सभापति चालिसेले सांसदहरुलाई भोटिङ नगरी हुबहु समितिबाट विधेयक पास गरेको शाहीको आरोप छ ।
उनले भनेका छन्, ‘बैठकमा धेरै संख्यामा रहेका समितिका सदस्य माननीय सांसदहरुले ‘सामान्य त्रुटि’ भन्ने शब्द झिक्नुपर्ने माग गर्दागर्दै तथा भोटिङको माग गर्दागर्दै समितिका सभापतिले उपस्थित रहेको समितिका सांसदहरुलाई भोटिङ नगरी हुबहु समितिबाट पास गरेकोले यो प्रजातन्त्रविरुद्धको कदम हो, साथै अलोकतान्त्रिक भएको ठहर्दछ ।’
कानून बनाउँदा माफियातन्त्र हाबी भएको बताउँदै उनले उक्त शब्द विधेयकमा राख्दा सत्ता र शक्ति भएकाहरुलाई फाइदा हुने तर गरिब, दुःखी जनतालाई अन्याय हुने जनाएका छन् । ‘न्यायको भीख माग्दै जनता मर्नुपर्ने हुन्छ । यो सिर्फ अदालतमा ठग्ने, न्यायमा तजबिज गर्ने माफियाहरुलाई फाइदा पुग्दछ,’ उनको फरक मतमा उल्लेख छ ।
टिप्पणीहरू