जनयुद्ध 'प्रतिबन्ध' मा परेपछि विप्लव माओवादीमा मिसिन तयार
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियाबाट पछि नहटेको बताएका छन् ।
नेकपाको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि थप पहल नगर्ने निर्णय गरेको चर्चा भैरहँदा विप्लवको यस्तो प्रतिक्रिया आएको हो । माओ दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले बाहिर गरिएको त्यस्तो प्रचार भ्रममात्रै भएको बताए ।
कपिलवस्तुको शिवगढीस्थित नेकपा मुख्यालयमा हालै सम्पन्न बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण एकताको सम्भावना टरेको निष्कर्ष निकालेको भनिएको थियो । तर, विप्लवले भने बैठकले एकताको ढोका खुला राखेको स्पष्ट पारे ।
‘एकताका लागि हामी सकारात्मक छौं । हामी केन्द्रीय समितिको बैठक बस्यौं । ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ । त्यो कुरा सत्य होईन । हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आएको हो', एकतामा जोड दिँदै उनले भने ।
सोही कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेकोमा जोड दिएका छन् । पार्टी एकताका लागि आफूलाई बाधक देखाइएको भन्दै असन्तुष्टि जनाएका उनले आफू विप्लवसँग छलफलमा रहेको खुलाए ।
‘विगतमा हामीले एउटै थालमा पनि भात खायौँ । उहाँ भूमिगत हुँदा पनि छलफल चलिरहेकै थियो । माओवादी पुनर्गठनको अभियानलाई मैले नै शुरु गरेको हुँ', शर्माले भने, 'पछिल्लो समय हाम्रो सम्बन्ध राम्रो छ । माओवादी आन्दोलनलाई एकताबद्ध बनाउने बिषयमा छलफल भइरहेको छ । एक महिनाअघि कपिलवस्तुमा उहाँको निवासमा गएको थिएँ, हामीले केही संक्षिप्त कुराकानी गरेका थियौं ।’
अदालतले ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाएकोमा पनि विप्लवले कडा प्रतिवाद गरेका छन् । सरकार र न्यायालयले जनयुद्धलाई खिसीट्युरी गरिरहेको भन्दै उनले आक्रोश पोखेका थिए ।
‘अस्तिमात्रै जनयुद्ध नभन्नू भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ?', आक्रोशित हुँदै उनले सोधे, 'अरु त ठीक छ, तर सपना प्रधान मल्ललाई एउटा कुरा सोध्न मन लागेको छ, सपना मल्लको हात काप्याे कि कापेन ? जनयुद्ध होइन भन्दै गर्दा उनलाई त्यहाँ कसले पुर्यायो ?’
विप्लवले गायक प्रकाश सपुतको गीत स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरे, ‘कहिलेकाहीँ प्रकाश सपुतले लेखेको गीतको याद आउँछ । रातो स्कुटर कसले किन्दियो ? भनेजस्तै केपीजीलाई सोध्नुपर्ने भएको छ, केपीजी तपाईलाई ताज कसले पहिराइदियो ? तपाईलाई कुर्सी कसले पहिराइदियो ?’
अहिले सत्तामा ढेडु बाँदरहरुको मारमार रहेको विप्लवको तर्क छ । हनुमान र ढेडु बाँदरको कथा सुनाउँदै भने, ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु जस्तो भएको छ । राज्यसत्तामा ढेडुहरूको मारामार छन् । ढेडुहरूको ठूलो जमात खडा भएका छन् ।’
टिप्पणीहरू