रविलाई माथ गर्ने अर्का नेताको ठगी काण्ड
फर्जी कामबाट सजिलै लाखौं जोहो गर्न तम्सिएका सत्तारुढ दलका एक नेता आफैंले खनेको खाल्डोमा उम्कनै नसक्ने गरी फसेका छन् । केही लाखका लागि नेपाली कांग्रेस दोलखाको संगठन विभाग प्रमुख भुवन केसीले आफैं उपाध्यक्ष रहेको संस्थाको नाममा नक्कली टेण्डर मात्र निकालेनन् सहकारीको मेल आइडी पनि नक्कली बनाएर सार्वजनिक गरे । तर, हालसम्म यिनीमाथि केही कारवाही भएको छैन । यही कात्तिक ६ गते प्रभाव दैनिक पत्रिकाको ६ पेजमा खिम्ती ग्रामीण जलविद्युत सहकारी संस्था लिमिटेडको नाममा बोलपत्र÷सिलबन्दी दरभाउ आह्वानसम्बन्धी ३० दिने सूचना प्रकाशित भयो । सूचनामा आव ०८१/८२ को कार्यक्रमअनुसार झांक्रे–२ मिनी हाइड्रो निर्माण गर्ने संस्थाको निर्णयबमोजिम निर्माण गर्न इच्छुक कम्पनी÷फर्मले नियमानुसार बोलपत्र खरिद गर्न सक्नुहुनेछ भनी लेखिएको छ । सूचनामा तपसिल भनी आयोजनाको नाम, बिड डकुमेण्टको मूल्य २० हजार र सेक्युरिटी अमाउण्ट ८ लाख ११ हजार ९ सय ६७ पनि तोकिएको छ ।
सूचना प्रकाशित भएसँगै ठेकेदारहरूले चासो देखाएर सम्पर्क गरे । संस्थाका अध्यक्ष, सञ्चालक तथा कर्मचारीलाई थाहै नभएको टेण्डर प्रकाशित भएको पत्रिकासहित ठेकेदारहरू कार्यालयमा पुगेपछि हल्लिखल्ली मच्चियो । आयोजना तत्काल शुरु गर्ने तथा संस्था एक्लैले निर्णय गर्ने अधिकार नै नभएको अवस्थामा एकाएक यस्तो टेण्डर आह्वान भएपछि अध्यक्ष, सञ्चालकहरू, महाप्रबन्धक, कोषाध्यक्ष हैरान भए । उनीहरूले तत्काल बैठक बसाई कात्तिक ७ गते नै प्रहरीको अपराध अनुसन्धान महाशाखा टेकुमा निवेदन दिए । निवेदनमा संस्थाका सञ्चालक सुमन मिजार, महाप्रबन्धक कुमार फुंयाँल, उपाध्यक्ष भुवन केसी र कोषाध्यक्ष धिराज सुवेदीको हस्ताक्षर छ ।
सोही दिन पत्रिकाको कार्यालयमा गई गलत सूचना प्रकाशित गरेकोमा खण्डन तथा क्षमायाचना गर्नका लागि दबाब पनि दिइयो । पर्सिपल्ट कात्तिक ९ गते खण्डन गरिदेऊ भन्न जाने खिम्ती विद्युत् सहकारी संस्थाका उपाध्यक्ष भुवन केसीले नै सूचना दिएर छाप्न लगाएको पत्रको व्यहोरा संस्थामा ल्याएर बुझाइयो । पत्रिकाका तर्फबाट सुन्दर पाण्डेले र संस्थाका तर्फबाट भुवनले हस्ताक्षर गरेको व्यहोरामा लेखिएको छ– ‘उपाध्यक्ष भुवन केसीले भूलवश दिएकाले प्रकाशित सूचनाबाट पर्ने प्रभावका सम्पूर्ण दायित्व उनले नै लिने सहमति गरिएको छ ।’ पैसा कमाइने भनेपछि सहजै गलत कार्य गर्न तत्पर रहने स्वभावका भुवन केसी यसअघि पनि सहकारीको पैसा हिनामिनामा पटकपटक विवादमा परिसकेका छन् ।
दोलखा जिल्लाका एक कांग्रेस नेता भन्छन्– भुवनले ठेक्का मिलाइदिने भनी केही ठेकेदारसँग पहिले नै लाखभन्दा बढी रकम लिई चलाइसकेका रहेछन् । ठेकेदारहरूले काम नहुने भए पैसा फिर्ता गर्न दबाव दिन थालेपछि नक्कली भए पनि बोलपत्रको सूचना निकालेर भुलाउन खोजेका रहेछन् । उनले भुवनबाट ठगिएकोठेकेदारको नाम भने उल्लेख गर्न चाहेनन् । पैसा पचाउन आफैं गलत सूचना निकाल्ने, कारवाहीको लागि अपराध अनुसन्धानमा आएर निवेदन दिने र फेरि पत्रिकाको कार्यालयमा गएर मैले नै निकालेको हुँ भनी हस्ताक्षर गर्ने उनलाई अहिलेसम्म कुनै कारवाही गरिएको छैन । यति मात्र होइन संस्थाले पनि ठेकेदारसँग लिइएको रकम लेनदेन मिलाउन सहज हुनेगरी भुवनलाई जम्मा १५ दिनका लागि मात्र निलम्बन गरेको छ । १५ दिनभित्र उनले ठेकेदारहरूसँग लिइएको रकम फिर्ता गरी थप विवाद नहुने वातावरण बनाएमा कारवाही फुक्का हुने आश्वासन दिइएको बताइयो । यस संस्थामा कांग्रेस, एमाले र माओवादी प्रतिनिधिहरू नै सञ्चालक र उच्चपदमा छन् । नेका दोलखाका एक नेता चिन्ता व्यक्त गर्दै भन्छन्– रविलाई माथ गर्ने खालका ठगी काण्ड मच्चाउने नेतामाथि कुनै कारवाही नहुने हो भने रास्वपा र कांग्रेसमा के फरक रह्यो र ?
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू