चित्रलेखालाई यसरी पन्छाइयो मूलधारको राजनीतिबाट

चित्रलेखालाई यसरी पन्छाइयो मूलधारको राजनीतिबाट

नेपाली कांग्रेसको कोषाध्यक्षमा धनाढ्य व्यापारी उमेश श्रेष्ठले बाजी मार्नु र चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाइनुमा के सम्बन्ध होला ? चित्रलेखालाई देख्नेबित्तिक्कै सभापति शेरबहादुर देउवाले 'तिमीलाई कोषाध्यक्ष बनाउँछु' भनेको सुन्ने कांग्रेसीहरू आपसमा यस्तो प्रश्न गर्न थालेका छन् । 

यादवले डेढ वर्षअघि नै जनआस्थासँगको कुराकानीमा 'शेरबहादुर दाइले' कोषाध्यक्ष दिने बाचा गरेको सुनाएकी थिइन् । केन्द्रीय सदस्य रमेश रिजाललाई समेत साक्षी राखेर गरिएको उक्त बाचा तोडेर दुई दिनअघि उमेशलाई ढुकुटीको साँचो सुम्पिनुभएका देउवाले चलाखीपूर्वक त्यसअघि नै चित्रलेखालाई राजदूतमा सेटल गरेको कांग्रेस वृत्तमा चर्चा छ  ।

देउवापत्नी डा. आरजू राणा देउवाका व्यावसायिक साझेदार उमेशले एकैचोटी यति ठूलो जिम्मेवारी पाउँदा नयाँ दिल्लीमा क्यान्सरको उपचार गरी फर्किएकी चित्रलेखा मूलधारको राजनीतिबाट टाढा पुगेकी छन् । कांग्रेसमा कोषाध्यक्ष कति महत्वपूर्ण मानिन्छ भने कुनै समय रामबाबु प्रसाईं, महन्थ ठाकुर,सीतादेवी यादव र चित्रलेखा यादव उक्त पदमा भएबाटै बुझिन्छ ।

कांग्रेसमा कोषाध्यक्ष कति महत्वपूर्ण मानिन्छ भने कुनै समय रामबाबु प्रसाईं, महन्थ ठाकुर,सीतादेवी यादव र चित्रलेखा यादव उक्त पदमा भएबाटै बुझिन्छ ।

पार्टीमा लामो संघर्ष र विरासत बोकेका व्यक्तिलाई पाखा लगाएर उनलाई माथि तानिएकोमा कांग्रेसपंपंक्तिले खुलेर विरोध भने गर्न सकेको छैन । तर, भित्रभित्रै भने गम्भीर असन्तुष्टि देखिन्छ । पार्टीमा खासै योगदान नभएका तर यसअघि पनि लगालग अवसर पाइरहेका उनलाई आरजुको आशिर्वादले कोषाध्यक्ष पद हात लागेको इतर खेमाका नेताहरु बताउँछन् । गत आम निर्वाचनमा चितवन- २ बाट उठेका उमेश रवि लामिछानेसँग भारी मतले पराजित भएका थिए ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणमध्ये एकजनालाई कोषाध्यक्ष बनाइने देउवा निकटहरुको विश्वास थियो । तर, कार्की टेरामक्स काण्डमा मुछिएको र खाँण नक्कली भुटार्नी शरणार्थी प्रकरणमा डामिएकाले उमेशलाई लट्री लागेको उनीहरुको बुझाई छ ।  

त्यसो त,अर्का धनाढ्य व्यापारी विनोद चौधरीले पनि कांग्रेसको ढुकुटी सम्हाल्ने रहर नगरेका होइनन् । तर, सांसद बन्न कहिले एमाले त कहिले कांग्रेस भएका उनलाई देउवाको कोर टिमले 'पिपलपाते'को संज्ञा दिँदै पूर्ण विश्वास नगरेको अवस्था छ । 

गत महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य चुनिएका जिपछिरिङ लामा शेर्पा पनि उमेशले बाजी मारेपछि रन्थनिएका छन् ।

टिप्पणीहरू