सन्दर्भ एनपिएल, चर्चा सिसन बानियाँ र श्रृंखला खतिवडाको

सन्दर्भ एनपिएल, चर्चा सिसन बानियाँ र श्रृंखला खतिवडाको

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) नजिकिँदै गर्दा फ़्रेञ्चाइज टिमले तयारी तीब्र पारेका छन् । आठवटै टिमले जिंगल, पोशाक, खेलाडी र प्रशिक्षक सार्वजनिक गरिसकेका छन् । तर, कर्णाली याक्स र काडमाडौँ गुर्खाजको भने केही दिनयता सामाजिक सञ्जालमा चर्चा बढी छ । 

यी दुई टिमको चर्चा बढ्नुको एउटा कारण हो– ब्लगर सिसन बानियाँ र पूर्वमिस नेपाल श्रृंखला खतिवडा । 

सार्वजनिक भइसकेको विषय सिसन र श्रृंखला कुनैबेला प्रेम सम्बन्धमा थिए । तर, अहिले उनीहरू आ–आफ्नो बाटोमा छन् । श्रृंखलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियासँग विवाह गरिसकेकी छिन् सिसनको नाम अर्की एक युवतीसँग जोडेर चर्चा हुने गरेको छ ।   

यसैबीच कर्णाली याक्सको युथ ब्राण्ड  एम्बेस्डरमा सिसन अनुबन्धित भएका छन् । यससँगै धेरैले काठमाडौँ गुर्खाजलाई पनि सिसनसँग जोडेको पाइन्छ । किनकी यो क्लबमा सिरोहिया परिवारको लगानी छ । र, श्रृंखलाले नै क्लब व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी छिन् । 

केही दिनअघि इन्दु बर्मालाई एम्बेसडर घोषणा गर्न आयोजित कार्यक्रममा श्रृंखला आकर्षणको केन्द्र बनिन् । उनले एनपिएलको पहिलो उपाधी काडमाडौँ गुर्खाजले जित्ने दावीसमेत गरेकी छन् । सिसनले पनि कर्णाली याक्सलाई जिताउन प्रचारप्रसार थालिसकेका छन् । 

कुनै बेलाका जोडी अहिले दुई कित्तामा उभिएर आ–आफ्नो समूहको प्रचार गरिरहँदा क्रिकेट समर्थकहरुले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको देखिन्छ । एनपिएलको पहिलो सिजनको ट्रफी आठ टिममध्ये कसले हात पार्ला, त्यो त पछि थाहा हुन्छ । तर, सिसन र श्रृखंलाको कारण कर्णाली याक्स र काठमाडौँ गुर्खाजबारे सयौँ मिमहरु बनिरहेका छन् ।

टिप्पणीहरू