कान्तिका डाक्टरको लापरबाहीले शिशुको अवस्था गम्भीर
भगवानको अर्को रुप मानिने चिकित्सा आफैँमा सम्मानित पेशा हो । बिरामीको जीवन डाक्टरकै हातमा हुन्छ । तर, तीनै भगवानरुपी डाक्टरहरुले उपचारको क्रममा हेलचेक्राईं गरे भने के होला ? राजधानीमा एउटी १३ दिने शिशु त्यस्तै लापरबाहीको शिकार बनेकी छन् ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका डाक्टरहरूले शिशुको शरीरभित्रै सुई छाडेको घटना हालैको हो । डा. पंकज राय नेतृत्वको टोलीमाथि शिशुको शरीरभित्र सुई भाँचिएको थाहा पाउँदा पनि बेवास्ता गरेको आरोप छ ।
प्राप्त विवरणअनुसार सिन्धुलीको तीनपाटन गाउँपालिका– ४ की रिमा सुस्लिङ कात्तिक २६ गते शिशुको उपचारका लागि अस्पताल पुगिन् । आँखामा अत्यधिक कचेरा आउने समस्याको उपचार गराउन लगिएकोमा डाक्टरहरुले रगत परीक्षणपछि जन्डिस भएको बताए ।
तर, रगत तानेको समयमा सुई भित्रै भाँचियो । त्यहाँ खटिएका डाक्टरहरुले त्यसको कुनै वास्ता गरेनन् । कात्तिक २९ गते औषधि दिएर डिस्चार्ज गरियो । उपचारपछि निको हुँदै जानुपर्ने शिशु घर पुगेपछि झन् रुन थालेकाले परिवारका सदस्य चिन्तित भए ।
कलिली छोरीको रगत निकालिएको भाग (थाइ) हेर्दा सुन्निएको देखेपछि डाक्टरको लापरवाही थाहा पाएको रिमा बताउँछिन् । त्यसको भोलिपल्टै उनी शिशु बोकेर बर्दिबासको एक अस्पताल पुगिन् । त्यहाँ एक्सरे गर्दा पत्ता लाग्यो कि, रगत निकाल्नेबेला भाँचिएको सुई बच्चाको थाइभित्रै मासुमा थियो ।
त्यहीदिन काठमाडौँ आएर कान्ति बाल अस्पताललाई घटनाबारे जानकारी गराएको रिमाले बताइन् । तर, अस्पतालले बेवास्ता गरेपछि नजिकैको निजी अस्पताल निशानमा गएर शिशुको शल्यक्रिया गरिएको उनको भनाई छ ।
अहिले रिमाले शिशुको उपचारमा खटिएका डाक्टरहरुमाथि छानबिन र दोषीलाई कारबाहीको माग राखेकी छन् । अस्पताल व्यवस्थापनले भने माग सम्बोधन गर्न कुनै चासो देखाएको छैन । बच्चाको भविष्यमाथि खेलवाड गर्ने डाक्टरमाथि कारबाही नभए कानुनी उपचारमा जाने उनको चेतावनी छ ।
टिप्पणीहरू