सभामुखको भूमिका पार्टी कार्यकर्ताको जस्तै देखियो : नेपाली काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेको भूमिका निष्पक्ष नभएको आरोप लगाएको छ । संसद बैठकमा उहाँले निर्वाह गर्नुभएको भूमिकाप्रति असन्तुष्टि जनाउँदै काँग्रेस संसदीय दलको आज बसेको बैठकले पछिल्ला व्यवहार उहाँको पदीय गरिमा अनुकूल नभएको ठहर गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकले उक्त निश्कर्ष निकालेको हो । विपक्षी दलको विरोध र नाराबाजीबीच संसद् बैठकका कार्यसूची अघि बढाएपछि काँग्रेसले सभामुखको भूमिकामाथि गम्भीर प्रश्न उठाएको हो ।
काँग्रेसको निर्णयमा भनिएको छ, ‘संघीय संसद्को गरिमामय सभभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इसारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्यमान्यतालाई कुठाराघात गर्दछ । तसर्थ संसदीय दलको यो बैठक सभामुखलाई संसदीय मूल्यमान्यता र परम्परा जोगाउनेतर्फ काम गर्न गम्भीररुपले ध्यानाकर्षण गर्दछ ।’
प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाउने क्रममा नेपाली काँग्रेसका सांसदलाई बोल्न नदिएको र नाराबाजीबीच प्रस्ताव अघि बढाएपछि काँग्रेस आक्रोशित भएको हो । संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘सभामुखले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गर्न सुहाउँदैन । लोकतान्त्रिक एवम् संसदीय मूल्यमान्यता बिर्सेर संसद् बैठक सञ्चालन गर्न हुँदैन ।’
टिप्पणीहरू