सहकारी डुबाउनेमा कुन कुन कमरेड संलग्न

सहकारी डुबाउनेमा कुन कुन कमरेड संलग्न
सुन्नुहोस्

सर्वसाधारणको रगत, पसिना र आँशु जोडिएको छ सहकारीसँग । देशभर ३१ हजार ३ सय ७३ सहकारी र ७३ लाख ८१ हजार सदस्य छन् । जसमा पौने ६ अर्ब बचत, सवा ५ अर्ब लगानी रहेको छ । सहकारीले लगभग ९ अर्बको कारोवार गर्दै आएको छ ।

३ सय ३७ वटा सहकारी व्यवस्थापन संघ छन् । तर,  जबदेखि सहकारीमा सांसद, पूर्वमन्त्री, मन्त्रीदेखि राजनीतिक नेतृत्व, व्यापारिक, ठूला घराना भित्रिए र, मर्मविपरीत शहरकेन्द्रित संस्थाहरू खुल्न थाले । त्यही ‘राजनीतिक प्रदूषण’का कारण आज आमनागरिकको झण्डै ५० अर्ब रकम डुबेको हिसाब किताब निस्कँदै छ । 

पाँचौँ प्रकारको सामाजिक अभियान मानिएको सहकारी क्षेत्रलाई सुधार्न ‘ठूलै सर्जिकल अप्रेसन’को खाँचो छ तर शीर्ष नेताहरू त्यसो गर्न चाहँदैनन् ।  कारण हो ठूलै पार्टीका शीर्ष नेताहरू, पूर्वमन्त्री, सांसद, केन्द्रीय सदस्य, बुद्धिजीवी परिषद् सदस्य नै यसमामा जोडिनु,  विवादमा मुछिएपछि केही फरार हुनु्, कोही जेलतिर पुग्नु । जस्तोः एमालेबाटै बागलुङ ढोरपाटनको मेयर बनेका देवकुमार नेपाली सहकारीको २ अर्बभन्दा बढी अपचलनमा मुछिएर फरार छन् ।

गण्डकी प्रदेश कमिटी सदस्य रहेका उनी पोखरा तथा बागलुङमा इमेज बचत ऋण सहकारी संस्था चलाउँथे । एमालेकै सहकारी विभागमा रहेका केबी उप्रेती ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ अपचलन गरेर बेपत्ता भएको भन्दै सहकारी विभागमै पुगे केही दिनअघि पीडितहरू । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको हो । यसको कूल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य  ३० हजारभन्दा बढी पुगेकोमा लामो समयदेखि सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेती बेपत्ता छन् । एमालेकै पूर्वसांसद इच्छाराज तामाङ सिभिल सहकारीको एक हजार पाँच सय बढी निक्षेपकर्ताको झण्डै ६ अर्ब ठगी प्रकरणमा मुछिएर अहिले जेलजीवन बिताइरहेका छन् । लामो समय केशव बडालले नेतृत्व गरेको सहकारी क्षेत्रमा अहिले ओमदेवी मल्ललाई राष्ट्रिय सहकारी महासंघ अध्यक्षको जिम्मेवारी दिइएको छ । 

नेपाल बचत तथा  ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कुन)का अध्यक्ष चन्द्र ढकालबाहेक अधिकांश सदस्य एमाले निकट छन् । यस्तै मित्रराज दवाडी प्रमुख रहेको सहकारी विकास बोर्डमा पनि प्रायः पदाधिकारी एमालेकै छन् । सहकारी क्षेत्रमा काम गर्दै आएका एक विज्ञका अनुसार, जसरी हिजो एनजिओ÷आइएनजिओमा एमालेको ठूलो पकड थियो सहकारीमा पनि झण्डै ७५ प्रतिशत उसकै होल्ड छ ।

कांग्रेस, माओवादी पनि यो मामलामा अछुतो छैनन् । पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र कान्तिपुर सेभिङ एण्ड क्रेडिटको ठगी प्रकरणमा कांग्रेसका प्रदेश सभा सदस्य सीबी (चन्द्रबहादुर) लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ पुर्जी जारी गरेपछि फरार छन् । कांग्रेसकै कार्यकर्ता सञ्चालक रहेको लालीगुराँस सहकारी (सुरेन्द्र भण्डारी) लाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सर्वसाधारणको अर्बाैं निक्षेप खाएर माओवादी निकट भरत महर्जन विदेशतिर दम्पच भएका छन् ।

०७४ कात्तिक २० गते सरकारले ओरेन्टल सहकारीलाई पहिलो पटक समस्याग्रस्त घोषणा गरेपछि पछिल्लो ६ वर्षमा २० वटा सहकारी समस्याग्रस्त बनिसकेको अवस्था छ । यी सहकारीमा मात्र बचतकर्ताको ५० अर्ब बचत फसेको बताइन्छ । देशभरि अस्तित्वमा रहेका सहकारीको संख्या ३१ हजारमध्ये सरकारले ५७ वटालाई समस्याग्रस्त रहेको बताए पनि सहकारी क्षेत्रमै अध्ययन÷अनुसन्धान गरिरहेका विज्ञहरू २ हजारभन्दा बढी धराप अवस्थामा पुगेको बताउँछन् ।  १८ हजार सहकारी अहिले पनि चुपचाप समुदाय र आफ्ना सदस्यको सेवामा काम गरिरहेका छन् । 

त्यसो त गाउँ गाउँमा खुलेका सहकारीमा समस्या छैन भनिन्छ । सहकारीमा राजनीति घुसाइएको चाहिँ २०६१ सालदेखि हो । त्यतिखेर ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी’ को नारा लागेपछि सहकारीले राजनीतिक छाता ओढ्न थाल्यो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रत्येक गाउँमा सुलभ मूल्यको पसल खोल्ने र त्यसका लागि सरकारले एक लाख दिने घोषणा गरेसँगै सहकारी खोल्ने फेसन नै आयो । यो क्षेत्रमा लागेपछि  पैसा मनग्य कमाइने, राजनीति गर्न पनि पाइने रहेछ भन्ने भयो ।

त्यहीपछि सहकारीले सामाजिक अभियानको भावना टुटाएको विज्ञहरू बताउँछन् । सरकारी निकायको उदासीनता,  बचतकर्ताबाट उठाएको रकम हाउजिङ,  मार्ट,  हाइड्रोपावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी हुन थालेपछि झन् कुरा बिग्रिएको हो । आफन्तलाई ऋण दिने, आफैं ऋण लिने, धितो नै नराख्ने वा कमसल धितो राख्ने कारणले पनि सहकारी डुबेका छन् । यद्यपि, सबै सहकारी खराब छैनन्,  केहीले खराबी गर्दा सोको बाछिटा अन्यत्र पुग्दै छ । अहिले शहरकेन्द्रित,  अन्धाधुन्द खोलिएका,  कार्यक्षेत्र विस्तार भएका,  नियमन र सुपरिवेक्षण हुन नसकेका,  नियतवश खराब उद्देश्यले आएर अनुत्पादक क्षेत्रमा लगानी गरेका करिब पाँच सय सहकारी कुनै न कुनै रूपमा समस्यामा रहेको पूर्वप्रशासक काशिराज दाहालको टिप्पणी छ । 

– हरि गजुरेल

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू