सुनकाण्डका थप गोप्य सुराक

सुनकाण्डका थप गोप्य सुराक
सुन्नुहोस्

‘कालु’ ले काम गरेर ‘भालु’ ले मकै खाँदा गृह मन्त्रालयमा हंगामा छ । शुरुमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अनुसन्धान गरेको बहुचर्चित सुनकाण्डको छानवीन गर्न पछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग बन्यो ।

हङकङबाट काठमाडौं आएको जहाजमा विद्युतीय सिगरेट (भेप), ब्रेक सुजजस्ता सामानभित्र लुकाएर ल्याइएका सुनबारे प्रहरीले गत वर्षको साउन २ गते नै भन्सारमार्फत सूचना पाएको थियो । प्रहरीकै टोलीले उक्त प्रकरणमा ३३ नेपाली र  ९ विदेशी नागरिकलाई पक्राउ पनि ग¥यो । तर, अहिले गृह मन्त्रालयले अनुसन्धानमा संलग्न प्रहरीलाई जिम्मेवारीबाट हटाउँदै जाँचबुझ आयोगका कम्प्युटर अपरेटरदेखि गृहमन्त्रीको सचिवालयमा काम गरेका उपसचिवसम्मलाई उत्कृष्ट अनुसन्धानकर्मीका नाममा पुरस्कृत गरेपछि गृहकै कर्मचारी अचम्म मानिरहेका छन् ।

छानबिन आयोगले राजश्व अनुसन्धान विभागका तत्कालीन उपनिर्देशक तथा हाल गृहमन्त्री रवि लामिछानेको सचिवालयमा रहेका उपसचिव सन्तोष पौडेल र उक्त आयोगका कम्प्युटर अपरेटर धनराज बूढालाई पुरस्कृत गर्न सिफारिस गरेको छ । उक्त सिफारिस सुन्दै उक्त अनुसन्धानमा संलग्न प्रहरीहरु मुसुमुसु हाँस्ने गरेका छन् । छानबिनको १८ दिनमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको मोबाइल डिएफएल र लोकेसन ट्रयाकिङ गरेको नाममा उपसचिव सन्तोषलाई पुरस्कृत गर्न लागिएको हो ।

तर, उनले गरेको भनिएका सबै काम प्रहरीले खटाएका कर्मचारीले गरेका थिए । सन्तोषले दावाको विच्याट विवरण रविलाई उतिबेलै उपलब्ध गराउनुका अलावा डिएफएलको विश्लेषणचाहिँ गर्न नसकेपछि प्रहरी हेडक्वार्टरले एसपी कृष्ण पंगेनीसहितको टोलीलाई खटाएको थियो । पंगेनीकै विश्लेषणका आधारमा रुपन्देही घर भई काठमाडौंको टोखा बस्ने सुमन खरेल, दावा छिरिङका विश्वासपात्र किशोर बस्नेत र सर्राफहरूलाई प्रहरीले नै पक्राउ गरेको हो । तर, ती काम उपसचिव सन्तोष एक्लैले गरेको भन्दै पुरस्कृत गरिएको छ । 

बरु, प्रहरी अनुसन्धानमाथि हस्तक्षेप गर्दै राजश्व अनुसन्धानका उपसचिव सन्तोषसहितका व्यक्तिले मुख्य आरोपी दावा छिरिङकी पत्नी अमला रोकालाई भगाएको आरोप पनि छ । उनीहरुले साउनको १३ गते अमलालाई सम्पर्क गरे । भोलिपल्ट, १४ गते दावा ठमेलस्थित उनकै भियना होटलबाट समातिए । त्यसबेला अमला नयाँबजारस्थित घरमै थिइन् । त्यसपछि बेपत्ता भइन् ।

त्यसबीच राजश्व अनुसन्धानको तर्फबाट अनुसन्धानमा संलग्न व्यक्तिको अमलासँग सम्पर्क भएको थियो । त्यसबेलासम्म चिनियाँ कारोबारीसँग सय केजी सुन थियो । उक्त सुन अमलासँग मिलेर ‘व्यवस्थापन’ गरियो । शुरुमै, अर्थात् २ गते सुन लिन विमानस्थल भन्सारमा पुगेका हर्कराज राईलाई समातेर पनि छाडियो । त्यसपछि उनै राईमार्फत सूचना पाएर ६ जना चिनियाँ भएका सुन बेचबाच गरी भागे । राजश्व अनुसन्धानले २१ दिनपछि मात्रै पक्राउ परेका प्रतिवादी र प्रमाण प्रहरीकहाँ पेश गर्‍यो । अर्थात्, सुन बेच्ने, मान्छे भगाउने सबै काम भएपछि प्रहरीलाई बुझाइयो ।

त्यस्तै, ठमेलको छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोसँग पनि अमला, दावाहरु जोडिएका छन् । चिनियाँहरु त्यहाँ जुवा खेल्न जान्थे । त्यस्तै होटल मेरियटमा पनि उनीहरु गएको देखिन्छ । ती चिनियाँ लाजिम्पाटमा अपार्टमेन्ट लिएरै बसेका थिए । 
 

टिप्पणीहरू