सरकारी संस्थानहरु नाफामा गएको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सरकारी संस्थानहरु नाफामा गएको बताउनुभएको छ । उहाँले नेपाल आयल निगम, विद्युत प्राधिकरण, वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा रहेको जानकारी दिनुभएको हो ।
नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालमा पर्यटक आगमन वृद्धि भएको पनि उल्लेख गर्नुभयो । हालै सम्पन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले नेपाललाई फेरि विकासको गति दिने आधार तय भएको प्रधानमन्त्रीको भनाई छ ।
'सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदैछ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन् । नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ', उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको पनि बताउनुभयो । उहाँले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको उल्लेख गर्नुभयो ।
‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ', प्रधानमन्त्रीले भन्नुभयो, 'तर, अहिले क्रमशः सुधार आइसकेको छ । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि छन् ।'
टिप्पणीहरू