पार्टीको झण्डा र ब्याच नदीमा सेलाउने बताउँदै रविका दुई नेताद्वारा पार्टी परित्याग

पार्टीको झण्डा र ब्याच नदीमा सेलाउने बताउँदै रविका दुई नेताद्वारा पार्टी परित्याग
सुन्नुहोस्

‘जान्नेलाई छान्ने’ मुख्य नारा बनाएर छोटो समयमा नेपाली राजनीतिमा उदाएको रास्वपाका दुई नेताले सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ९ र १० का दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेर पार्टी छोडेको घोषणा गरेका हुन् । 

कलंकीस्थित शिखर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर उनीहरुले रास्वपा जान्नेलाई नभई आफ्नालाई छान्ने पार्टी भएको आरोपसमेत लगाए । सभापति लामिछानेका कारण रास्वपा अस्तव्यस्त बनेको उनीहरुको दाबी छ । 

लामिछानेका कारण पार्टी समस्यै समस्यामा जकडिएको उल्लेख गर्दै उनीहरुले आफ्नालाई पार्टीमा महत्वपूर्ण जिम्मा दिन अब्बलहरुलाई पाखा लगाइएको गुनासोसमेत गरेका छन् । भोट माग्नका लागि लामिछानेले स्वर्णिम वाग्लेजस्तो अनुहारलाई पार्टी प्रवेश गराएको बताउँदै उनीहरुले रास्वपामा एक जना पनि जान्ने नेता नभएको दाबी गरेका छन् । 

हिजो आयोजित पत्रकार सम्मेलनमा उनीहरुले भने, ‘भोलि आफ्नालाई छान्नका लागि अब्बल व्यक्तिहरुलाई पाखा लगाउने प्रवृत्ति यस पार्टीमा छ । एकदमै आफ्नालाई छान्ने पार्टी हो । केन्द्रीय कमिटीको बेवसाइट खोलेर औंला गनेर हेर्नुहोला फोर के टेलिभिजनबाट आउनुभएका कति हुनुहुन्छ ? त्यसपछि अलिअलि फेस बिकाउनका लागि र भोटको भिख माग्नका लागि स्वर्णिम वाग्लेजस्तालाई भित्र्याउनुभएको छ । नत्र त्यहाँ जान्ने व्यक्तिचाँहि छैनन् ।’

त्यस्तै, पार्टी छोड्नुको अर्को कारण सहकारी ठगी भएको उनीहरुले बताएका छन् । सहकारी ठगेको ‘ट्याग’ लिएर हिँड्न नसक्ने भएकाले पार्टी छोड्ने निष्कर्षमा पुगेको उनीहरुको जिकिर छ । बाटोघाटो हिँड्दा, टोल–टोलमा जाँदा आफूहरुलाई सहकारी ठग पार्टी भन्न थालिएको उनीहरुको गुनासो छ । 

सहकारीको एक रुपैयाँ नखाएको व्यक्तिलाई सहकारी ठग भनिएकोमा चित्त दुखाउँदै तीमध्ये एकले भने, ‘हामी स्वच्छ व्यक्तित्व भएको व्यक्ति । उहाँ पनि एउटा राम्रो अभियानमा लाग्नुभयो है भनेर पार्टीमा आयौं । उहाँको काँधमा जुन लाञ्छना लाग्यो नि उहाँले ममाथि लागेको दाग छिटो मेटाउनुपर्छ भन्नुपर्थ्यो । तर, उहाँले त्यसो गर्नुभएन । हामीलाई टोल–टोलमा जाँदा सहकारी ठग पार्टी भन्न थालियो । हामी एक रुपैयाँ नखाएको व्यक्ति त्यो धब्बा लिएर हिँड्न चाहेनौं ।’

सो क्रममा उनीहरुले गत शनिबार इलाममा भएको उपनिर्वाचनको कुरा पनि निकाले । पार्टीका पदाधिकारीहरुको ‘ओभरकण्फिडेण्ट्स’ ले गर्दा हार व्यहोर्नुपरेको र जमानत जफत हुने अवस्था बनेको उनीहरुको प्रतिक्रिया छ । साथै, उनीहरुले रास्वपाको झण्डा र ब्याचहरु बागमती र विष्णुमतीमा लगेर सेलाइदिने घोषणा पनि गरेका छन् ।

टिप्पणीहरू