सुनियोजित हल्लाप्रति झलनाथ खनालको दुःखेसो

सुनियोजित हल्लाप्रति झलनाथ खनालको दुःखेसो

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजन गर्न खोजेको भनेर सुनियोजित रुपमा आफूविरुद्ध फैलाइएको हल्लाप्रति दुःखेसो व्यक्त गर्नुभएको छ । उहाँले केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रुपले यस्तो प्रचार गरेको बताउनुभएको छ । 

‘केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रुपले फैलाइएको छ,’ उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रुपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

खनालले पार्टी दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा पुगिरहेको उल्लेख गर्दै पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार रहन पनि आग्रह गर्नुभएको छ । भन्नुभएको छ, ‘हाम्रो पार्टी देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधहरु पहिचान गर्दैछ, क्रान्ति र अग्रगतिको प्रमुख बाधा के हो त्यसको पहिचान गर्दैछ, देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तलाई परिस्कृत  र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरुको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरु आतंकित भएका छन् । उनीहरु प्रतिक्रियावादीहरुका मक्किसकेका र थोधिसकेका झुटा प्रचारका हतियारहरु लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गर्दैछन् ।’

उहाँले पनि वर्तमान सत्ता समीकरणप्रति समर्थन रहेको उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू