चुच्चे नक्साको विरोधमा बोल्नेहरुलाई बौध्दिकता जाँच्न सुझाव

चुच्चे नक्साको विरोधमा बोल्नेहरुलाई बौध्दिकता जाँच्न सुझाव
सुन्नुहोस्

एक सय रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राख्ने विषय चर्चामा छ । सरकारले लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सासहित एक सय रुपैयाँको नोट छाप्ने निर्णय गरेपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ । 

नोटमा बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने निर्णयको विरोधमा बोल्दा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकारले पद नै छोड्नुपरेको छ । पूर्व गभर्नरसमेत रहेका चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भइसकेको छ । नोटमा नेपालको नक्सा राख्ने सरकारको निर्णयविरुद्ध बोल्नेको राजीनामा स्वीकृत नभई बर्खास्त गर्नुपर्ने भन्दै यतिबेला सामाजिक सञ्जाल तातिएको छ । 

त्यस्तै,बाँकी सल्लाहकारको वजन र क्षमता जाँच्नुपर्ने माग पनि उठेको छ । आफ्नो मुलुकको नक्सा पैसामा राख्दा ‘भारतलाई चिढ्याउने काम गलत भयो’ भन्ने विश्लेषकलाई आफ्नो सोच नियाल्न पनि सुझाव दिइएको छ । 

पत्रकार कनकमणि दीक्षितले लेखेका छन्,‘एक सय रुपैयाँ नोट प्रकरणमा राष्ट्रपति रामचन्द्र पौडेलले सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्नुपर्थ्यो,राजीनामा स्वीकृत गर्ने होइन । बाँकी सल्लाहकारको वजन र क्षमता जाँच्नुपर्यो । थप,“भारतलाई चिढ्याउने काम गलत भयो” भन्ने एक–एक विश्लेषक–बौध्दिकले आफूलाई नियालुन् ।’

एक जनाले प्रतिक्रिया दिएका छन्,‘राष्ट्रपतिज्यूलाई यस्ता विज्ञ भनिने सल्लाहकार नै आवश्यक थिएन,बरु यस्ता अनावश्यक सल्लाहकारहरु हटाउन पहल गरे पनि हुन्थ्यो । राष्ट्रपतिको सल्लाहकार भएर नेपाल सरकारको नीतिविपरीत बोल्नुअघि नै राजीनामा दिनुपर्नेमा लाजशरम पचाएर बस्नु अशोभनीय देखिएको थियो ।’

गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले २०७७ जेठ ७ गते सरकारले सार्वजनिक गरेको नयाँ चुच्चे नक्सा एक सयको नोटमा छाप्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति छिमेकी मुलुक भारतले असन्तुष्टि जनाइसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका थिए । 

यता,मुलुकभित्रै पनि दुईथरी धारणा सार्वजनिक भइरहेका छन् । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले केही दिनअघि सरकारको उक्त निर्णय अनावश्यक ढङ्गको बहस र विवाद चर्काउने कुरा मात्र भएको उल्लेख गर्दै आलोचना गरेका थिए । 

सत्तारुढ दलहरुले भने नेपाली भूमि समेटिएको नयाँ नक्सा नेपालको नोटमा राख्ने विषयमा भारत सरकारले आपत्ति जनाउन आवश्यक नभएको टिप्पणी गरेका छन् । पूर्वगभर्नर नेपालले बीबीसी नेपाली सेवासँगको कुराकानीमा बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए । 

उनको सो प्रतिक्रियाको व्यापक विरोध भएको थियो । नागरिक अगुवाहरुले संयुक्त वक्तव्य निकालेर सल्लाहकार नेपाललाई पदमुक्त गर्न माग गरेका थिए ।

टिप्पणीहरू