मध्यराति खुशी बनाउनुको अर्थ के हो महोदय ?

मध्यराति खुशी बनाउनुको अर्थ के हो महोदय ?
सुन्नुहोस्

गैरसरकारी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा समाजका आधारभूत तहसम्म सहयोग प्रवाह गर्ने अगुवाहरू नै तीनपाने चढाएर महिला कमर्चारीमाथि यौन दुर्व्यवहार गर्न खोज्दाको परिणाम कस्तो होला ? अहिले समाजकल्याण परिषद् यही लफडामा छ । ‘हामीलाई खुशी बनाइनौ भने तिम्रो संस्थाको अनुगमन रिपोर्ट नेगेटिभ लेखिदिन्छौं’, भन्ने त्रास देखाएर महिला कर्मचारीसँग बार्गेनिङ गर्ने परिषद्का हाकिमसहित केही कर्मचारीको जागिर जाने देखिएको छ । 

ढिलो गरी प्राप्त कागजातअनुसार चैत १६ गते दलित महिला केन्द्र नेपाल, काठमाडौंको सुदूरपश्चिम प्रदेश कैलालीको टिकापुर र कर्णाली प्रदेशको वीरेन्द्रनगरमा परियोजना स्थल अनुगमनका लागि गएका सदस्य–सचिव मनोज भट्टका आफन्त टिम लिडर लक्ष्मीराज पाठक र कर्मचारी प्रकाशविक्रम चौधरीले त्यस्तो हर्कत गरेका हुन् । 

राति साढे १० बजेतिर मस्त नशामा झुमेको, जिब्रो लरबरिएको अवस्थामा थर्कावटसँगै मादकपूर्ण पारामा फकाउँदै टिकापुरको एउटा थारू कटेजबाट आवाज आएको थियो, ‘हामीलाई खुशी बनाइनौ भने तिम्रो संस्थाको अनुगमन रिपोर्ट नेगेटिभ लेखिदिन्छौं, बुझ्यौ ? त्यसपछि केमा जागिर खान्छौ ?’ उनले भनेको कुरामा हो मा हो मिलाउँदै अर्कोले थपे, ‘हामीले भनेको नमानेमा डोनरको पैसा रोकिदिन पनि सक्छौं ।’ एउटी फिल्ड स्तरको महिला कर्मचारीमाथि मोलमोलाइ गर्ने ती दुई जनालाई त्यो रात जिन्दगीकै महँगो र अकल्पनीय सावित भएको छ ।

महिला कर्मचारीलाई यौनजन्य आशयले दुव्र्यवहार गरेको, अनुगमन मूल्यांकन प्रतिवेदन बिगारिदिनेलगायत धम्की दिएको, नशाको तालमा अनावश्यक माग राखी मानसिक यातना दिएको भन्दै गैरसरकारी संस्था महासंघ, नेपालले छानबिनका लागि चैत २३ गते परिषद्लाई पत्राचार गरेपछि परिषद्ले चैत २७ गते छानबिन समिति गठन गरेको छ । बोर्ड सदस्य गोमा भुसालको संयोजकत्वमा गठित समितिमा कायममुकायम निर्देशक सञ्जयकुमार मल्लिक, दुर्गाप्रसाद भट्टराई, महिला विकास अधिकृत गीराकुमारी बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि छन् । परिषद्ले १५ दिनभित्र छानबिन सकाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । 

नेपालको एउटा मात्र यस्तो सरकारी संस्था हो समाजकल्याण परिषद्, जहाँको अनुमतिबिना कुनै संस्थाले कारोबार गर्न पाउँदैन । तत्कालीन महिलामन्त्री उमा रेग्मीले परियोजना ल्याउने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनुगमनको लागि भन्दै अग्रिम उठेको रकममा प्रतिशत तोकेर नै अनुगमन संयोजक र सदस्यलाई पैसा बाँड्ने अनुगमन निर्देशिका बनाएकी थिइन् ।

त्यसपछि अनुगमनको नाममा लाखौं रूपैयाँ बुझ्ने काम संस्थागत भएको छ । जसकारण छानबिन समितिमा बस्न तँछाडमछाड हुने गरेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रवि भिन्न मन्त्री र सचिवका मान्छे हौं भन्दै अनुगमन समितिमा नाम हाल्न परिषद्मा दौडधुप चल्ने गरेको गुनासो पनि उत्तिकै छ । त्यो सबै कामको जिम्मेवारी भट्टले नै चलाउँदै आएका थिए । कांग्रेसले नियुक्त गरेका उनीसँग लेनदेनमा कुरा बिग्रिएपछि कांग्रेसकै मन्त्री सुरेन्द्र आचार्यले बर्खास्त गर्न खोजेका थिए । तर, सर्वोच्च अदालतले थमौती गराइदियो । 

चाहे क्लोजरमा गएका संस्थाको सामान घर लैजान होस्, चाहे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालिका गन्यापधुराका निम्ति गाडी मागेर होस् । उनीमाथि विभिन्न परियोजनाको नाममा आएको सहयोग आफ्नो एनजिओमा हालेको आरोप पनि लाग्दै आएको छ । कुनै पनि अनुगमन टोलीले वर्षमा पाँच लाखभन्दा बढी रकम पारिश्रमिक कटाउने गरी काम गर्न नपाउने आर्थिक निर्देशिकामा स्पष्ट उल्लेख छ । तर, भट्टले निर्देशिकालाई लत्याएर मनोमानी खर्च गर्दै आएका छन् ।

हाल उनको यो कार्यमा महिलामन्त्री भगवती चौधरीबाट रुकावट हुने देखिएको छ । मन्त्रीले महिलामाथि दुव्र्यवहार गर्न खोज्ने टिम लिडर र कर्मचारीलाई मात्रै हैन, सिफारिस गर्ने भट्टलाई समेत कारबाही प्रक्रिया अघि बढाएपछि परिषद्मा हंगामा भएको छ । पूर्वदलित महिला सांसदहरूले चलाएको उक्त संस्थाका निम्ति ‘द एशिया फाउण्डेशन’ र ‘युरोपियन युनियन’ को सहयोगमा सञ्चालित परियोजनाको अन्तिम अनुगमन मूल्यांकनमा ठूलो राशि छुट्याएको देखेपछि भट्टले रोजेर नै टोली गठन गरेका थिए । 

मूल्यांकनको क्रममा संस्थाले छुट्टै यातायात, बास खर्च व्यहोर्नुपर्ने बाध्यकारी नियम छ, जसकारण टोलीलाई ज्वाइँसरहको सुविधा दिनुपर्ने हुन्छ । सोहीअनुसार सो संस्थाले चैत १६ गते धनगढीको होटल सिद्धार्थमा कोठा बुक गरेको थियो । अनुगमन टोलीका लिडर पाठकसहित आउने टोलीलाई सुर्खेतसम्म अनुगमनको जिम्मा दिइएको थियो । तर, एअरपोर्टमा महिला कर्मचारी देखेपछि उनले निहुँ खोज्न थाले । हामी किन होटलमा बस्ने ? भीडभाड नहुने क्षेत्रमा बस्ने अडान कसेपछि सिद्धार्थको बुकिङ रद्द गरियो । उनले नै सबैलाई कटेजमा बस्न बाध्य बनाए ।

कटेज पुग्नुअगावै उनले बाटोमा विभिन्न अनैतिक हर्कत देखाएपछि फिल्ड भिजिट कर्मचारीको मनमा चिसो पसिसकेको बताइन्छ । विभिन्न बहानामा राति अबेरसम्म रक्सी खाँदै जथाभावी बोल्न थालेपछि कर्मचारीले काठमाडौंको हाकिमलाई खबर गरिसकेकी थिइन् । रात छिप्पिँदै गएपछि उनले ‘कहिले ढोका खुलै राखौं तर सुत्न एकै ठाउँमा सुतौँ, कुनै केटी मिलाइदेऊ’, भन्न थालेपछि श्रेष्ठ थरकी महिला भागेर अर्कै ठाउँमा गएकी थिइन् । 

सुर्खेत पुगेपछि वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालसँग पनि पाठकले ठूला कुरा गरेको र उनले नराम्रोसँग थर्काएको बुझिएको छ । झोलामा दुई बोतल विदेशी रक्सी बोकेर हिँडेका उनी काठमाडौं आइपुग्दा तरंगित भए । किनकि यहाँको माहौल तातिसकेको थियो । उजुरी मन्त्रीसम्म पुगेर परिषद् सदस्य भुसालको संयोजकत्वमा समिति बनेपछि हाल सबैको निद्रा खल्बलिएको छ । संलग्नहरूको जागिरसम्म जाने र टिम लिडरले जिन्दगीमा फर्केर परिषद्मा हेर्न नमिल्नेगरी ‘ब्ल्याकलिष्ट’ मा नाम चढ्ने निश्चित भएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू