सर्लाहीका तीन स्थानमा सवारी दुर्घटना, एकको मृत्यु

सर्लाहीका तीन स्थानमा सवारी दुर्घटना, एकको मृत्यु

सर्लाहीमा गएराति तीन स्थानमा सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा एक जनाको मृत्यु र आधा दर्जन घाइते भएका छन् । 

चन्द्रनगर गाउँपालिका–२, पर्ती बजार नजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको बताइएको छ । ज.१ त ५१९० नम्बरको ट्याक्टरमा प्रदेश–२–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका २९ वर्षीय सन्जितकुमार साहको मृत्यु भएको हो । 

बरहथवा नगरपालिका–१४, लालदियरमा बा. ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । साइकल चालक बरहथवा–१४, का ५५ वर्षीय हरिनारायण महतो, उनका नाति दुई वर्षीय आकाश महतो, मोटरसाइकल चालक बरहथवा नगरपालिका–१२ का २१ वर्षीय रुपचन राम र मोटरसाइकल पछाडि सवार २४ वर्षीय शिवेक कुमार महतो घाइते भएका छन् । उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

सोही नगरपालिकाको बाँके जङ्गलमा बर्दिवासबाट फूलजोरतर्फ आइरहेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको पिकअप सडकमा पल्टिँदा चालक र सहचालक घाइते भएका छन् । चालक सिन्धुलीको दुधौली नगरपालिका–४, डकहाका २३ वर्षीय शान्तिप्रसाद तिमल्सिना र सहचालक १९ वर्षीय रोहन लामिछानेको लालबन्दीस्थित अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू