मलामी बोकेको गाडी दुर्घटनाग्रस्त, दर्जनबढी घाइते

मलामी बोकेको गाडी दुर्घटनाग्रस्त, दर्जनबढी घाइते

दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा एक दर्जनबढी घाइते भएका छन् । मेलुङ गाउँपालिका–१, पवटीमा बागमती प्रदेश ०२६ च ९८१३ नम्बरको बोलेरो आज बिहान दुर्घटनामा परेको बताइएको छ । 

दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइते सबैको नजिककै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

मेलुङ गाउँपालिका–३, ढाँडे कुनेबाट मलामी र दाउरा बोकेर तामाकोशीतर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएपछि सत्यश्वर–सिम्टे सडकखण्डको भटमासेमा दुर्घटना भएको हो । घाइते सबै मेलुङ गाउँपालिका आसपासको रहेको प्रहरीले जनाएको छ । 

ओरोलो सडकमा दाउरा र क्षमताभन्दा बढी मानिस बोकेपछि ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू